Sunday 23rd of February 2020

अन्नपूर्ण आधार शिविरमा ५ विदेशी सम्पर्कविहीन

पोखरा । अन्नपूर्ण आधार शिविर हिँडेका ५ विदेशी पर्यटक सम्पर्कविहीन भएका छन् । चार कोरियाली र एक चिनियाँ पर्यटक सम्पर्कमा नरहेको प्रहरीले बताएको छ । गण्डकी प्रदेश प्रहरी प्रमुख डीआइजी विनोद शर्मा घिमिरेका अनुसार ९ कोरियाली मध्ये ४ जना सम्पर्कमा नरहेको जानकारी प्राप्त भएको छ ।

यसैगरी नेपाली भरियासहित गएका एक चिनियाँ पर्यटक पनि सम्पर्कमा नरहेको घिमिरेले बताए। कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हिमालय र देउराली भन्ने स्थानको बिचमा हिमपहिरो आएपछि उनीहरु सम्पर्कमा नरहेको जानकारी प्राप्त भएको छ।

सोही वडाको दोभानस्थित होटल डेस्टीनेसन एबीसी होटलका सञ्चालक सुक गुरुङका अनुसार ती पर्यटक सम्पर्कमा आएका छैनन्। अत्यधिक हिमपातले ओहोरदोहोर गर्ने अवस्था नरहेको भन्दै उनले खोजीमा पनि समस्या भएको बताए। ‘दुईजना नेपाली पनि हराएको भन्ने थियो। पछि भेटिए,’ गुरुङले टेलिफोनमा भने, ‘केही पर्यटक सम्पर्कमा छैनन भन्ने छ। यकिन विवरण थाहा हुन सकेको छैन।’

डीआइजी घिमिरेले स्थानीय र प्रहरी घटनास्थलतर्फ परिचालन गरिएको बताए। अहिले त्यस स्थानमा हेलिकोप्टर पठाउन सकिने अवस्था नरहेकोले स्थलगत जानुको विकल्प नरहेको उनको भनाइ छ। घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्