Tuesday 18th of February 2020

डलर फेयरले ‘बाँचेका’ एयरलाइन्स

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मन्त्रालयको जिम्मेवारी लिएको एक महिना नबित्दै एउटा विषय जोडतोडका साथ आगडि सारे। विषय थियो, आन्तरिक उडानमा रहेका नेपाली र विदेशी नागरिकबीचको विभेदपूर्ण हवाई भाडा अर्थात् आन्तरिक वायुसेवा कम्पनीले लिँदै आएको ‘डलर फेयर’।

मन्त्री भट्टराईले भनेको थिए, ‘आन्तरिक उडानको हवाई भाडामा नेपाली र विदेशीलाई फरक-फरक रेट रहेछ, यो मान्य हुँदैन।’ हरेक जस्तो पर्यटन मन्त्रालयको कार्यक्रममा मन्त्री भट्टराईको तर्क हुन्थ्यो, आन्तरिक उडानको विभेदपूर्ण हवाई भाडा हटाइन्छ। नेपाली नागरिक सरह नै विदेशीले पनि यात्रा गर्न पाउँनुपर्छ र पाउने वातावरण म बनाउँछु।

मन्त्री भट्टराईले डलर फेयर कटौती गर्ने भन्दै अभिव्यक्ति दिन थालेसँगै वायुसेवा अपरेटहरु विरोधमा उत्रेका थिए। मन्त्रीले डलर फेयर सरकारका लागि कुनै पनि हालतमा सह्यै नहुने भन्दै अभिव्यक्ति दिने क्रम बढ्दै जाँदा नेपालको आन्तरिक उडानको सबैभन्दा ठूलो बजार हिस्सा ओग्ट्न सफल बुद्ध एयरलाइन्सका मालिक विरेन्द्रबहादुर बस्नेतले सरकारले डलर फेयरमा हात हालेको दिन सेवा नै बन्द गरेर सरकारका लागि साँचो बुझाउने चेतावनी दिएका थिए। तर, व्यवसायीको चेतावनीपछि पनि मन्त्री भट्टराईले उक्त विषयमा बोल्न छाडेनन्। उनले भन्दै हिंडे व्यावसयीकै सहमतिमा डलर फेयर हटाइन्छ।

आन्तरिक उडानमा वायुसेवा सञ्चालकहरुले हवाई भाडामा प्रतिस्पर्धा गर्नुको एउटै मात्रै आधार हो ‘डलर फेयर’। आन्तरिक उडानमा रहेको डलर फेयरकै कारण अहिले नेपाली नागरिकले सस्तोमा हवाई यात्रा गर्न पाइरहेको छन्। उदाहरणका लागि नेपाल सरकारबाट पोखराको लागि स्वीकृतभाडा ५ हजार भन्दा बढी छ। वायुसेवा सञ्चालकहरुले काठमाडौं-पोखरा उडानमा २ हजारदेखि २ हजार २ रुपैयाँमै यात्रा गराइरहेको छन्।

तर, विदेशीका लागि भने १ सय २३ डलर भाडा तोकिएको पोखरामा वायुसेवा सञ्चालकहरुले छुटसमेत गरी १ सय ३ डलरमा काठमाडौं-पोखरा र पोखरा-काठमाडौंको टिकट बेचिरहेका छन्। यसको अर्थ एउटा विदेशीले पोखरा जान चाहेको अवस्थमा १२ हजार रुपैयाँ खर्च गर्नु पर्छ। जसका कारण नै एयरलाइन्सले आन्तरिक उडानको हवाई भाडामा प्रतिस्पर्धा गरिरहेको छन्।
सिम्रिक एयरका बजार व्यवस्थापक प्रज्जल थापा पनि आन्तरिक उडानमा प्राइसवार सुरु भइसकेको स्वीकार गर्छन्। ठूलो एयरलाइन्सबीचको प्रतिस्पर्धाले साना एयरलाइन्स चेपुवापर्ने अवस्था आइसकेको उनको भनाइ छ। सरकारले डलर फेयर हटाएको अवस्थामा साना एयरलाइन्समा संकट आउने सक्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्