Tuesday 18th of February 2020

केयुकेएलको बाह्रौं वार्षिकोत्सवः मेलम्चीको पानी आउन अब धेरै समय नलाग्ने खानेपानी मन्त्री मगरको दावी ?

काठमाडौँ । खानेपानी मन्त्री बिना मगरले उपत्यकाबासीले भोगिरहेका खानेपानीको समस्या हल गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) सक्षम भएर मेहनतका साथ अघि बढ्नुपर्ने बताएकी छिन् ।

केयुकेएलको बाह्रौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले काठमाडौं उपत्यकाबासीले बर्षौंदेखि झेलिरहेका समस्यालाई अब हल गर्नुपर्ने दिन नजिकिंदै गईरहेकाले केयुकेएल सक्षम बन्नुपर्ने बताएकी हुन् ।

‘मेलम्ची आईसकेपछि तपार्ईहरुले धेरै काम गर्नुपर्ने छ ।’ मन्त्री मगरले भनिन्, ‘ तपाईहरुले सुरुका केही वर्ष धेरै मेहनत गर्नुपर्नेछ । यो समयमा सायद भोक र निद्रा नभनी काम गर्नुपर्ने हुन सक्छ । त्यसको लागि तयार भएर बस्नुहोला ।’ मेलम्ची जनताको प्रत्यक्ष जीवनसँग जोडिएको विषय भएकाले केयुकेएलले चुस्त व्यवस्थापकीय ढंगबाट काम गर्नुपर्ने मन्त्री मगरले बताइन् । हिजोको कठिनाई, समस्या र अप्ठ्यारो भोगाईबाट पाठ सिक्दै अब परिश्रमका साथ काम गर्नुपर्ने समय आएको उनले बताइन् ।

बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘मेलम्चीको पानी आउन अब धेरै समय छैन । मेलम्चीको पानीको सही व्यवस्थापन गर्न केयुकेएल प्रतिबद्ध भएर लाग्नुपर्छ । केयुकेएलको कार्य क्षमताका विषयमा आम जनताले चासोका साथ हेरिरहेका छन् ।’ केयुकेएलको भूमिका र उद्देश्य निकै महत्वपूर्ण रहेको बताउँदै मन्त्री मगरले यस संस्थाको गरिमा बचाई राख्न आग्रह गरिन् । उनले मन्त्रालयले केयुकेएललाई सक्षम र मजबुत बनाउन मन्त्रालय प्रतिबद्ध रहेको धारणा राखिन् ।

मन्त्रालयका सचिव माधव बेल्बासेले केयुकेएलको भूमिका बढ्दै गएको बताउँदै यसलाई अझै सुधार गरेर र क्षमता बढाएर अघि गरेर बढ्नुपर्ने बताए । सचिव बेल्बासेले पुरानो वितरण प्रणालीलाई नछोडीकन मेलम्चीको पानी पनि समानुपातिक ढंगले वितरण गर्ने गरी क्षमता वृद्धि गर्नुपर्ने उल्लेख गरे । कार्यक्रममा मन्त्री मगरले केयुकेएलले गुनासो सम्बोधन गर्न विकास गरेको मोबाइल एप र रिजर्भवायर पानी ट्यांकीमा पानीको क्षमता मापन गर्ने प्रविधिको सार्वजनिक गरेका थिए । धारामा पानी आए नआएको र चुहावट भएको अवस्थाबारे जानकारी दिने र गुनासो सम्बोधन गर्नेगरी एप तयार गरिएको छ ।

सो कार्यक्रममा काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन वोर्डका कार्यकारी निर्देशक डा. सञ्चिव कुमार राणाले केयुकेएलका आगामि दिनमा आउने चुनौतिका बारेमा बोल्दै शुभकामना दिएका थिए । उक्त कार्यक्रममा कम्पनीको वारेमा केयुकेएलका कार्यकारी प्रमुख मिलन शाक्यले प्रकाश पारेका थिए । वार्षिकोत्सव समारोहका संयोजक प्रकाशकुमार राईले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा कर्मचारीहरुको उत्साह जनक उपस्थिति रहेको थियो । मन्त्री मगरले केयुकेएलमा कार्यरत अवकाश पाएका कर्मचारीहरुलाई सम्मान गरिन भने उत्कृष्ट शाखाहरुलाई पुरस्कृत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्