Tuesday 18th of February 2020

दुई वर्ष : प्रधानमन्त्री ओलीको कार्यशैलीगत समस्या

काठमाडौँ । दुई वर्षअघि प्रचण्ड बहुमतसहित दोस्रो कार्यकाल सम्हाल्न सिंहदरबार पस्दा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति उनकै पार्टी नेकपा, तत्कालीन वामगठबन्धनलाई मत दिएका मतदाता र आमजनतामा आशा जागेको थियो ।

पाँच वर्षका लागि गरिएको भरोसाको दियो अझै निभेको त छैन तर यसको उज्यालो कम हुँदै गएको तिनै मतदाताको गुनासो छ। धेरैले यसका लागि सरकारको समग्र कार्यसम्पादन र प्रधानमन्त्री ओलीको कार्यशैलीगत समस्यालाई जिम्मेवार ठानेका छन्।

प्रतिकुल स्वास्थ्यका बाबजुद प्रधानमन्त्री ओलीको खटाइ धेरैले चिताउनेभन्दा चर्को छ। मृगौलाको डाइलासिस गरिरहेका भए पनि उनी बिरामीजस्ता देखिँदैनन्। न त उनको आवाज नै कमजोर भएको छ। पार्टी केन्द्रीय समितिमा उनले निरन्तर दुई घन्टा भाषण दिए। यस्तो लाग्छ, उनलाई आफूप्रति पूर्ण विश्वास छ। र, कमजोर प्रधानमन्त्रीका रूपमा देखिएर जनताको आत्मबल घट्न दिनुहुन्न भन्ने मनोविज्ञानले उनले काम गरिरहेको जानकारहरू बताउँछन्। यसैले अस्पतालको बेडमा हुँदा पनि आफू तन्दुरुस्त रहेको सन्देश दिइरहेका हुन्छन्।

सुशासन, आर्थिक विकास, राजनीतिक स्थायित्व, दिगो शान्ति, राष्ट्रिय एकता, अखण्डता, स्वाधीनता, स्वाभिमान यो सरकारका नारा हुन्। यिनै आफ्नो सरकारको रोडम्याप भएको ओलीका अभिव्यक्तिमा झल्किन्छ।

भ्रष्टाचार नियन्त्रण, शान्ति सुव्यवस्था र जनताको दैनिक जीवनलाई सहज तुल्याउने ‘समृद्ध नेपाल, सुखी नेपाली’ ओलीको बोलीमा छ। तर, यतिसमूहसँगको सम्बन्ध होस् वा बालुवाटार जग्गा प्रकरणमा आफ्ना पार्टीका नेतालाई जोगाउन चालिएका कदम किन नहोस्, प्रधानमन्त्री ओलीको बोली र व्यवहारमा तालमेल देखिन्न।

विपक्षीले सरकारका नारा उल्टाएर ‘समृद्ध नेता, दुखी जनता’ बनाएको छ।

सरकारको कार्यशैलीबारे कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको टिप्पणी छ, ‘व्यक्तिगत शैलीमा भन्दा उहाँमा एकखालको अंहकार देखियो। शासनको शैलीमा भन्दा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित भएर आउनु नै सम्पूर्ण लोकतन्त्रवादी हुनु हो भन्ने मनोविज्ञान उहाँमा देखिन्छ। तर, लोकतान्त्रिक प्रक्रियाबाट आउनु र लोकतान्त्रिक चरित्र हुनु फरक कुरा हो। लोकतान्त्रिक चरित्र, लोकतान्त्रिक संस्कृति बमोजिमको उहाँ हुन सक्नु भएन।’

सरकारका प्रवक्ता एवं नेकपा नेता गोकुल बाँस्कोटा भने प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर उत्साही छन्। ‘भिजन छ। मिसनमा कुनै समस्या छैन। एक्सन उहाँ एक्लैले गर्न सक्ने होइन। उहाँले निर्देशन दिनु हुन्छ। तर निर्देशन पालना गर्ने तीन निकाय हुन्छन्। एउटा सम्बन्धित मन्त्री हुन्छन्। दोस्रो, सम्बन्धित उच्चपदस्थ अधिकारी हुन्छन्। तेस्रो, कानुनी व्यवस्थापन मिलाउनु पर्छ। विधिको शासन भएपछि कानुनमा चल्नु पर्‍यो। उहाँमा धेरै कामको हुटहुटी छ। र, गर्न सकिन्छ भन्ने छ,’ बाँस्कोटा भन्छन्।

देश र जनताको हित, आशा, आकांक्षा र आवश्यकताअनुरुप सरकार सञ्चालन गरेर देशलाई नयाँ दिशा दिन चाहेको बताउँछन् प्रधानमन्त्री ओली। तर, उनलाई आफ्नै पार्टीको पूरा सहयोग छैन। काम गरेनन् भनेर बेलाबेला आफैं मन्त्री हेरफेर गर्छन् तर यसमा पनि कामको भन्दाको गुटको गन्ध धेरै देखिन्छ।

सत्तारुढ दलकै नेतालाई ओलीको कार्यशैलीमाथि प्रश्न छ। ‘पहिल्यैदेखि उहाँ गुटमा रमाउने। आलोचना सुन्नै नचाहने। आलोचना गर्नेलाई भित्तैमा पुर्याउने उहाँको शैली हो,’ नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य भन्छिन्, ‘तर, अब सच्चिनु पर्छ।’

आफ्नै सचिवालका कर्मचारीमाथि विश्वास नगरेर उनले हेरफेर पनि गरे। हेर्दा लाग्छ– राष्ट्रिय विकास र समृद्धिको अभियानमा प्रधानमन्त्री ओली एक्लै दौडिरहेका छन्। यतिसम्म कि अन्तरमन्त्रालय समन्वयको समेत अभाव छ। विपक्षीसँग त प्रधानमन्त्रीको राम्रो सम्बन्ध बन्नै सकेको छैन, दुवैमा एक–अर्काप्रतिको विश्वास छैन। नतिजा विपक्षीले सरकार अधिनायकवादी दिशामा गयो भनेर भरपूर प्रचार गरिरहेको छ। केही विवादित विधेयकले विपक्षीको आरोपमा बल पुगेको छ।

लाखौंको संख्यामा पलायन भइरहेको जनशक्तिलाई स्वदेशमै रोजगारी उपलब्ध गराई उपयोग र परिचालन गर्ने सरकारको नीति छ। तर, प्रधानमन्त्री ओलीसँग यसको कार्यान्वयको ठोस नीति छैन।

सरकारले अगाडि सारेका कैयौं रोजगारमूलक महत्वकांक्षी कार्यक्रमको कार्यन्वयन धेरै फितलो छ। कार्यक्रम र बजेट नभएको भन्दै सरकारले स्थानीय तहमा खटाएका दुई सय भन्दा बढी रोजगार संयोजकले राजीनामा दिएका छन्। हरेक विषयमा सरकारका आँकडा हेर्दा–सुन्दा रामै लाग्छन्। तर, वामपन्थी सरकारले दिएका सेवा–सुविधाले जनताको जीवनशैलीमा देखिने गरी परिवर्तन भएको छैन।

पार्टीभित्रै र विपक्षीबाट घेराबन्दी भइरहँदा पनि प्रधानमन्त्री ओली बहुमत प्राप्त वामपन्थीहरूको सरकार सञ्चालन गर्ने ऐतिहासिक अवसरको पूर्ण रूपमा सदुपयोग गर्न चाहन्छन्। तर, केही विवादित निर्णयले सरकारको छविलाई एकैपटकमा ध्वस्त बनाउँछ भन्नेमा चाहिँ ध्यान दिएका हुन्नन्। आफूलाई लागेको विषय प्रधानमन्त्री ओली अन्तिम सत्य मान्छन्। त्यसैले आलोचकका कुरा सुन्नभन्दा थप कठोर जवाफ दिनुमा उनको रुचि छ।

‘उहाँको कार्यशैली धेरै संर्किण छ। कसैको सहयोग लिन चाहनु हुन्न। सत्तामा बसेपछि पार्टीभित्र सबैलाई समेट्न पर्ने हो,’ स्थायी कमिटी सदस्य शाक्य भन्छिन्, ‘सबैको सहयोग लिन जान्नु पर्ने हो। त्यसको कमि उहाँमा छ।’

प्रधानमन्त्रीको निशानामा विपक्षीमात्रै होइन, आफ्नै पार्टीका नेता पर्छन्। मीडियामात्रै होइन, बुद्धिजिबी पनि जोडिन्छन्। यद्यपि पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकमा आउन्जेल प्रधानमन्त्री ओलीले आफू आलोचना सुन्न तयार रहेको बताएका छन्।

‘स्वास्थ्य अवस्था कमजोर हुँदा पनि उहाँमा आत्मविश्वास छ। केही गरौं भन्ने भावना पनि छ। इच्छाशक्ति पनि छ। यो राम्रो पक्ष हो,’ नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य भन्छिन्, ‘तर, सोच धेरै नै संकिर्ण। आलोचना गर्नेलाई सिधै निषेध गर्ने। त्यसरी हुँदैन। सबैको भावना आत्मसाथ गर्नसक्नु पर्छ। कम्युनिष्ट आचरण, सोच, शैली देखिनु पर्छ।’

तर, सरकारका प्रवक्ता बाँस्कोटा प्रधानमन्त्रीको आत्मबलका अगाडि दुनियाँले हारेको ठान्छन्। भन्छन्, ‘उहाँको आत्मबलका अगाडि दुनिया हार्‍यो। उहाँ १८ घण्टा खट्नु हुन्छ। उहाँको इच्छाशक्तिका सामु कसैले डेलिभरी गर्न सकेको छैन। उहाँको जुन भिजन, मिसन र ईच्छाशक्ति छ, त्यो आधारमा कसैले डेलीभरी गर्न सकेको छैन। तर, उहाँ आत्तिनु हुन्न। अरुले गर्न सकेनन् भने आफैं सम्हाल्नुहुन्छ।’

प्रतिक्रिया दिनुहोस्