Thursday 2nd of April 2020

इतिहास फर्केर हेर्दा : कोरोनाभन्दा ठूला महामारी

कोरोना भाइरस (कोभिड–१९) पत्ता लागेको करिब तीन महिनाकै अवधिमा संसारभरि करिब पाँच लाख मानिस संक्रमित भएका छन् । हालसम्म २२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अहिले संसारभरि नै कोरोना महामारीको त्रास छ । तर, संसारले यस्तो महामारी सामना गरेको यो पहिलोपटक भने होइन । मानव सभ्यताले यसभन्दा अत्यन्तै ठूला र दर्दनाक महामारीको सामना गरिसकेको छ । विश्वमा कैयौँ त्यस्ता महामारी भए होलान्, तर केही महामारी इतिहासमा अभिलिखित छन् । इतिहासका पानामा पढ्दासमेत आतंकित बनिने त्यस्ता महामारी त्यसवेलाका मान्छेले कसरी सामना गरे होलान्, कल्पना पनि गर्न सक्दैनौँ । तीमध्ये सबैभन्दा विनाशकारी महामारी कसरी सुरु भए, तिनले कस्तो विनाशलीला मच्चाए र ती कसरी सकिए ? यहाँ प्रस्तुत छ :

१. ब्ल्याक डेथ (कालो मृत्यु)– १३४७
मानव सभ्यताकै सबैभन्दा विनाशकारी महामारी सन् १३४७ मा सुरु भएर १३५१ मा सकिएको ‘दि ग्रेट प्लेग’ हो । यो ब्युबोनिक प्लेगलाई ब्ल्याक डेथ (कालो मृत्यु) नाम दिइएको छ । यसले चार वर्षको बीचमा संसारका २० करोड मानिसको ज्यान लिएको थियो । यो महामारी युरोपबाट एसियासम्म फैलिएको थियो । सन् १३४७ को अक्टोबरमा इटालीको सिसिलीस्थित मेसिना बन्दरगाहमा ब्ल्याक सी हुँदै १२ वटा जहाज आएर रोकिए । रोकिएका जहाज हेर्न जम्मा भएका मानिसले यस्तो डरलाग्दो दृश्य देखे– जहाजका अधिकांश यात्रु मरिसकेका थिए । जति जिउँदै थिए, उनीहरू अन्तिम अवस्थामा पुगेका बिरामी थिए, रगत र पीपले बनेको कालो फिँजले पुरिएका थिए ।

सिसिलीका अधिकारीले त्यो मृत जहाजलाई बन्दरगाहबाट तत्काल निकाल्न आदेश दिए, तर त्यो ढिला भइसकेको थियो । त्यो घटनाबाट सिर्जित ब्ल्याक डेथले त्यसपछिका चार वर्ष संसारभरि २० करोड मानिसको ज्यान लियो । युरोपमा मात्रै दुुई करोड मानिसको मृत्यु भयो, जुन त्यो महादेशको कुल जनसंख्याको एकतिहाइ थियो । संसारमा यो महामारीपछि युरोपको जनसंख्या पहिलेको अवस्थामा पुग्न दुई सय वर्ष लाग्यो ।

यो प्लेग पहिलोपटक मुसामा उत्पत्ति भएको थियो, जुन झिँगाको माध्यमबाट मानिसमा सरेको थियो । ‘यो महामारी कसरी रोक्ने भन्ने विषयमा मानिसलाई ज्ञान नै थिएन,’ डिपल विश्वविद्यालयका इतिहासका प्राध्यापक थोमस मोकाइटिस भन्छन्, ‘तर, उनीहरूलाई के थाहा भयो भने रोगी मानिसको नजिक नजाँदा यो रोग सर्दैन । त्यसो हुँदा भेनेसियनहरूको नियन्त्रण रहेको रसुगा सहरले पानीजहाजबाट आउने नयाँ यात्रुहरू बिरामी नभएको प्रमाणित नहुन्जेल एकान्तमा राख्ने नियम बनायो ।’ सुरुमा पानीजहाजका यात्रुलाई ३० दिन त्यही जहाजमै राखियो, पछि त्यसलाई ४० दिन बनाइयो । यसलाई ‘क्वारान्टिनो’ भन्ने गरिन्छ । अहिले प्रचलनमा रहेको क्वारेन्टाइनको पहिलो रूप यही नै हो । ‘रोग नियन्त्रणमा क्वारान्टिनोको निश्चय पनि राम्रो प्रभाव प¥यो,’ मोकाइटिस भन्छन् ।

२. स्पेनिस फ्लु– १९१८

सन् १९१८ को सुरुमै एउटा यस्तो महामारी संसारमा फैलियो, त्यसले पाँच करोड मानिसको ज्यान लियो– त्यो स्पेनिस फ्लुको महामारी थियो । ५० करोड मानिसलाई यो भाइरस लागेको थियो, जुन त्यसवेलाको विश्वको जनसंख्याको एकचौथाइ थियो । दुई वर्षसम्म विश्वलाई तबाह बनाएको यो महामारीलाई सन् १३४७ को ‘दि ग्रेट प्लेग’ पछिको मानव इतिहासको दोस्रो सबैभन्दा घातक महामारीका रूपमा लिइन्छ ।

वास्तवमा यो महामारी कहाँबाट सुरु भयो भन्ने किटान अहिलेसम्म पनि गर्न सकिएको छैन । कतिपयले यसलाई प्रथम विश्वयुद्धका कारण फैलिएको रोग भनेका छन् । चीनको सान्सी प्रान्तमा सन् १९१७ मा फैलिएको श्वासप्रश्वाससम्बन्धी समस्या यही फ्लु भाइरसका कारण भएको थियो भन्ने पनि छन् । अमेरिकाको क्याम्प फन्सटन भन्ने सैनिक क्याम्पबाट पनि यो फैलिएको हुन सक्छ, जहाँ फ्लुजस्तै लक्षण भएको रोगबाट ४८ जना सैनिकको मृत्यु भएको थियो । त्यहाँ एक हजार सैनिक फ्लुबाट प्रभावित भएका थिए, जसबाट अमेरिकाभरिका १० लाख सैनिकलाई यो रोग सर्‍यो । ती सैनिक सन् १९१८ को वसन्त ऋतुमा विश्वका विभिन्न देशमा पुगे, जसबाट यो रोग संसारभरि फैलिने मौका पायो ।

स्पेनिस फ्लु स्पेनबाट उत्पत्ति भने भएको थिएन । यसलाई किन स्पेनिस फ्लु भनियो त ? त्यसवेला पहिलो विश्वयुद्ध चलिरहेको थियो । विश्वयुद्धमा दुई पक्षको नेतृत्व गरेका र उनीहरूका सहयोगी यो महामारीको समाचार बाहिर ल्याउन चाहँदैनथे । तर, स्पेन युद्धमा सहभागी थिएन, त्यसैले उसलाई कुनै पनि सूचना लुकाउनुपर्ने थिएन । जब स्पेनमा फ्लुका कारण धेरै मानिस प्रभावित भए, यसबाट भएको मृत्युबारे उसले संसारलाई बतायो । स्पेनका राजा अल्फान्सो तेस्रो पनि यो रोगबाट संक्रमित भएका थिए, तर उनी बाँच्न सफल भए । स्पेनले यसबारे पहिले सूचना दिएकाले युरोपेली र अमेरिकी सञ्चारसंस्थाले यसलाई स्पेनिस फ्लु भन्ने उपनाम थिए ।

अहिले देखिने फ्लुमा नाक, घाँटी र कहिलेकाहीँ फोक्सोसम्म भाइरलको संक्रमण हुन्छ । तर, स्पेनिस फ्लु फरक थियो । यो रोग लागेका बिरामीका शरीरमा नीला धब्बाहरू आउँथे, फोक्सो तरल पदार्थले भरिन्थ्यो । बिरामीको नाकबाट रक्तस्राव हुन्थ्यो । रोगको लक्षण देखिएको केही घन्टामै बिरामीको मृत्यु हुन्थ्यो । यो फ्लुका कारण सन् १९१८ को एक वर्षमै अमेरिकाको औसत आयु १२ वर्षले घटेको थियो । सन् १९१८ को वसन्तसम्म नै ठूलो क्षति गरिसकेको स्पेनिस फ्लु सोही वर्षको शरद ऋतुमा पुनः देखियो । यो पहिलेभन्दा पनि विनाशकारी भएर आयो ।

यो भाइरसको उपचारका विषयमा डाक्टरलाई कुनै जानकारी थिएन, माइक्रोस्कोपबाट समेत भाइरस देखिन्नथ्यो । यसको कुनै पनि औषधि नभएकाले बच्नका लागि क्वारेन्टाइन र स्वास्थ्य तथा सरसफाइलाई जोड दिइएको थियो । मास्क लगाएर मात्रै हिँड्नुपर्ने नियम बनाइएको थियो, नलगाउनेलाई कारबाही हुन्थ्यो । विद्यालय, चर्च तथा अन्य सार्वजनिक स्थल बन्द गरिएका थिए ।

संक्रमण फैलिएको एक वर्षमै मानिसको मृत्यु प्रलयकारी भएर आयो । सन् १९१४ मा सुरु पहिलो विश्वयुद्धका कारण चार वर्षमा एक करोड ६० लाख मानिसको मृत्यु भएको थियो । स्पेनिस फ्लुका कारण एक वर्षमै पाँच करोडभन्दा धेरै मानिसको मृत्यु भयो । कतिपय मानिस करिब १० करोड मानिसको मृत्यु स्पेनिस फ्लुका कारण भएको विश्वास गर्छन् । यो रोगका कारण सबैभन्दा धेरै मानिस भारतमा मरेको अनुमान गरिन्छ । भारतमा मात्रै एक करोड ७० लाखदेखि एक करोड ८० लाखसम्म मानिसको मृत्यु भएको अनुमान छ । भारतले कुल जनसंख्याको ६ प्रतिशत स्पेनिस फ्लुका कारण गुमाएको थियो । खासगरी गरिब महिलाको मृत्यु धेरै भएको थियो । चीनमा ४० लाखदेखि ९४ लाखसम्म मानिसको मृत्यु भएको अनुमान गरिएको छ । इन्डोनेसियामा १५ लाख, इरानमा नौ लाखदेखि २४ लाखसम्म तथा जापानमा करिब चार लाख मानिसको मृत्यु भएको अनुमान गरिन्छ ।

ब्ल्याक डेथले १३४७ पछिका चार वर्षमा २० करोड मानिसको ज्यान लियो । युरोपमा मात्रै दुुई करोडको मृत्यु भयो, जुन त्यो महादेशको कुल जनसंख्याको एकतिहाइ थियो ।

अमेरिकामा मात्रै यसबाट ६ लाख ७५ हजार मानिसको मृत्यु भयो, जब कि पहिलो विश्वयुद्धमा एक लाख १६ हजार अमेरिकी सैनिकको मृत्यु भएको थियो । अमेरिकी राष्ट्रपति विड्रो विल्सनलाई नै स्पेनिस फ्लु भएको थियो । सन् १९३८ मा मात्रै यो फ्लु रोक्ने खोप विकास गरियो, जुन दोस्रो विश्वयुद्धमा जाने अमेरिकी सैनिकलाई सुरुमा दिइएको थियो ।

३. बिफर (स्मलपक्स)– १५२०

स्मलपक्स युरोप, एसिया र अरेबिया क्षेत्रमा १६औँ शताब्दीमा फैलिएको महामारी हो । सन् १५२० देखि फैलिएको यो महामारीबाट पाँच करोड ६० लाख मानिसको मृत्यु भएको थियो । स्मलपक्स रोगले भेटेका १० जनामध्ये तीनको ज्यान जान्थ्यो भने बाँकीको शरीरमा यसले दाग छोड्थ्यो । अमेरिका र मेक्सिकोका आदिवासी जनतालाई भने यसले सखापजस्तै बनाएको थियो । एक शताब्दीको बीचमा अमेरिका र मेक्सिकोका ९० देखि ९५ प्रतिशत आदिवासी जनसंख्या यो महामारीले सिध्याएको थियो । र, स्मलपक्स नै इतिहासको पहिलो महामारी बन्यो, यो भ्याक्सिनबाट नियन्त्रणमा आयो । यसले महामारीको रूप लिएको शताब्दीयौँपछि १८औँ शताब्दीको अन्त्यतिर एडवार्ड जेनरले स्मलपक्सको भ्याक्सिन बनाए, जसले यो महामारीको अन्त्य भयो ।

४. प्लेग अफ जस्टिनियन (सन् ५४१)

संसारको इतिहासका सबैभन्दा विनाशकारीमध्येका तीन महामारी एउटै ब्याक्टेरियाबाट भएका थिए– त्यो हो यर्सिनिया पेस्टिस । यो घातक संक्रमण अरू केही नभएर प्लेग हो । सन् ५४१ मा बाइजान्टाइन साम्राज्यमा, सन् १३४७ मा इटालीबाट सुरु भएको ब्ल्याक डेथ र सन् १६६५ मा लन्डनमा देखिएको प्लेग अफ लन्डन यही ब्याक्टेरियाका कारण भएको थियो ।

पहिलोपटक यो प्लेग सन् ५४१ मा रोमको बाइजान्टाइन साम्राज्यको राजधानी कन्स्टान्टिनोपलमा आइपुगेको थियो । एक वर्षसम्म विश्वभरि तबाही मच्चाएको यो प्लेग सन् ७५० सम्म पनि वेलावेलामा देखिइरहेको थियो । यो बाइजान्टाइनले भर्खरै जितेको इजिप्टबाट अन्नको माध्यमबाट भूमध्यसागर हुँदै कन्स्टान्टिनोपल पुगेको विश्वास गरिन्छ । किनभने रोम साम्राज्यको अन्नको स्रोत उत्तरी अफ्रिका थियो । प्लेग लागेको झिँगाले कालो मुसालाई सारेको र मुसाले अन्न खाँदा अन्नमा ब्याक्टेरिया फैलिएको विश्वास गरिन्छ । महामारी फैलँदा बाइजान्टाइनका सम्राट् जस्टिनियन प्रथम रहेकाले इतिहासकारहरूले यो महामारीको नाम प्लेग अफ जस्टिनियन राखेका हुन् ।

सो प्लेगले कन्स्टान्टिनोपलका सबै मानिसलाई सखाप बनायो र डढेलोजस्तै युरोप, एसिया, उत्तरी अफ्रिका र अरेबिया क्षेत्रमा फैलियो । प्लेगले संसारभरिमा तीनदेखि पाँच करोड मानिसको ज्यान लिएको थियो, जुन सम्भवतः त्यसवेलाको विश्व जनसंख्याको आधा थियो । कतिपय इतिहासकारले भने यसका कारण १० करोड मानिसको मृत्यु भएको अनुमान गरेका छन् । यो प्लेग कसरी अन्त्य भयो भन्ने विषयमा कसैलाई पनि जानकारी छैन । डिपल विश्वविद्यालयका प्राध्यापक मकटाइटिस भन्छन्, ‘जो बाँचे ती भाग्यले बाँचे, जसको रोग प्रतिरोधात्मक क्षमता बलियो थियो, तिनै मात्रै बाँचे भन्नु सबैभन्दा राम्रो अनुमान हुन्छ ।’

५. एचआइभी/एड्स १९८१–हालसम्म

अहिलेसम्म जारी अर्को महामारी एचाइभी÷एड्स हो । सन् १९८१ बाट सुुरु भएको यो महामारीका कारण हालसम्म संसारभरि दुई करोड ५० लाखदेखि तीन करोड ५० लाख मानिसको मृत्यु भइसकेको छ । सन् २००४ एकै सालमा एचआइभीका कारण विश्वभर १७ लाख मानिसको मृत्यु भएको थियो । अहिले तीन करोड ८० लाख मानिस यो रोगबाट संक्रमित छन् भन्ने अनुमान छ । तीमध्ये तीन करोड ६३ लाख वयस्क र १७ लाख बालबालिका रहेको अनुमान छ । सन् २०१८ मा मात्रै १७ लाख मानिस एचआइभी संक्रमित बनेका थिए । संक्रमितमध्ये करिब ७९ प्रतिशतलाई आफूलाई रोग लागेको थाहा थियो भने बाँकी रोगबारे अनभिज्ञ रहेको अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले जनाएको छ ।

एचआइभी एड्स संसारको सबैभन्दा गम्भीर स्वास्थ्य चुनौतीका रूपमा लिइएको छ । यो संक्रमण पहिलोपटक चिम्पान्जीबाट मानिसमा सरेको अनुमान गरिन्छ । मानिसबाट मानिसमा सर्न थालेकाले यसले महामारीको रूप लियो । यो असुरक्षित यौनसम्पर्क तथा रगतका माध्यमबाट सर्ने गर्छ । संक्रमित आमाबाट बच्चालाई समेत यो रोग सर्ने गरेको छ । यो रोगको उपचार अहिलेसम्म पत्ता लागेको छैन । तर, केही समयको रोकथाममा काम गर्ने एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) मार्फत यसको उपचार हुने गरेको छ । एचआइभी संक्रमितमध्ये करिब ६२ प्रतिशतले मात्रै एआरटीको सुविधा पाएका छन् । एचआइभी संक्रमितमध्ये अधिकांश न्यून तथा मध्यम आय भएका मुलुकमा छन् । कुल संक्रमितमध्ये ७० प्रतिशत अफ्रिका महादेशमा मात्रै छन् ।

६. तेस्रो प्लेग–१८५५

चीन र भारतमा विनाशलीला मच्चाएको तेस्रो प्लेग पनि मानव सभ्यताको ठूलामध्येको महामारी हो । दि ब्ल्याक डेथ र जस्टिनियनपछि यो प्लेग तेस्रो ठूलो महामारी हो । सन् १८५५ मा चीनको युनानबाट सुरु भएको प्लेगले एक करोड २० लाख मानिसको ज्यान लिएको थियो । यो चीनको ग्वान्जाउ र हङकङसम्म पैmलिएको थियो । यो बुल्बोनिक प्लेग भारतमा भने हङकङ हुँदै भित्रिएको थियो । भारतमा मात्रै एक करोड मानिसको ज्यान लिएको थियो । त्यसपछिका तीन दशकसम्म पनि यसले भारतमा विनाशलीला मच्चाइरह्यो र थप एक करोड २५ लाख मानिसको ज्यान लियो ।

भारतमा उपनिवेश कायम गरेको ब्रिटिस इन्डियाले यो रोग नियन्त्रण गर्न क्वारेन्टाइन, आइसोलेसन क्याम्प, यात्रा प्रतिबन्धजस्ता उपाय अपनाएको थियो । तर, ती प्रभावकारी भएनन् । खासमा प्लेगका कारण ब्रिटिस सरकारविरुद्ध ठाउँठाउँमा विरोध भएपछि रोग नियन्त्रणभन्दा पनि विरोध दबाउन उसले बढी पहल गर्दा भारतमा ठूलो क्षति भएको देखिन्छ । यो रोग दक्षिण अफ्रिका, अमेरिका, इक्वेडरलगायत मुलुकमा पनि पुगेको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार सन् १९६० सम्म यो प्लेग अस्तित्वमा रहे पनि मृत्युदर भने नगण्य मात्रै थियो ।

अन्य केही महामारी

यसबाहेक प्लेग अफ लन्डन पनि संसारको सबैभन्दा खतरनाकमध्येको महामारी हो । सन् १३४७ को ब्ल्याक डेथपछि तीन सय वर्षसम्म औसत २० वर्षको फरकमा प्लेगले विनाश मच्चाइरहेको थियो, जसले बेलायतमा संक्रमितमध्ये २० प्रतिशतको ज्यान लिन्थ्यो । तर, सन् १६६५ मा लन्डनमा देखिएको प्लेग अत्यन्तै विनाशकारी भएर आयो, जसले सात महिनाको बीचमा एक लाख मानिसको ज्यान लियो । संक्रमितको कुनै उपचार थिएन, त्यसो हुँदा उनीहरूलाई घरमै बन्द गरियो, मृत्यु हुनेहरूलाई सामूहिक रूपमा गाडिएको थियो । संसारका प्लेगको आतंक शताब्दीयौँसम्म कायम रहेको देखिन्छ । १७औँ शताब्दीको प्लेगले ३० लाख र १८औँ शताब्दीको प्लेगले ६ लाख मानिसको ज्यान लिएको थियो ।नयाँ पत्रिकाबाट साभार ।

प्रतिक्रिया दिनुहोस्