पशु चिकित्सा अध्यापन गर्ने क्याम्पसहरु मापदण्डविपरीत

नेपाली जनता

काठमाडौं । पशु चिकित्सा तथा पशुपालन शास्त्र (भेटेरिनरी) अध्यापनका लागि कैयन क्याम्पस देशमा सञ्चालित छन् । तिनका लागि सरकारले निश्चित मापदण्ड तोकेको छ । तर, यस्ता अधिकांश क्याम्पसले लामो समयसम्म मापदण्डको बेवास्ता गर्दै विभिन्न कोर्षहरु सञ्चालन गरेको पाइएको छ ।

यी हुन् मापदण्ड पूरा नगरेका क्याम्पस

नेपाल पशु चिकित्सा परिषद्को अनुमतिमा विभिन्न क्याम्पसहरुले भेटेरिनरी कक्षा सञ्चालन अनुमति गर्दै आएका छन् । तर, परिषद्ले गरेको एक अध्ययनका क्रममा विभिन्न विश्वविद्यालय मातहतका क्याम्पसहरुले मापदण्ड पूरा नगरेको भेटिएको छ ।

परिषद्का अनुसार, त्रिभुवन विश्वविद्यालयको आफ्नै आङ्गिक क्याम्पस पक्लिहवाले मापदण्ड पालनामा आनाकानी गर्दै आइरहेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको रामपुर क्याम्पसले समेत मापदण्ड पूरा गर्न अर्घेल्याइ गर्दै आएको निष्कर्ष परिषद्ले निकालेको छ । यति मात्रै होइन, पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन पाएको नेपाल पोलिटेक्निक इन्स्टिच्यूट भरतपुर र हिमालयन कलेज अफ एग्रिकल्चर साइन्सेज एण्ड टेक्नोलोजी (हिकास्ट) काठमाडौंले पनि मापदण्ड पूरा गरेका छैनन् ।

परिषद्का अनुसार, भौतिक संरचना, जनशक्ति, विषयगत विशेषज्ञ, प्रयोगशाला मापदण्ड यस्ता क्याम्पसले पूरा गर्नुपर्छ । तर यी कुनै पनि क्याम्पसले मापदण्ड पूरा गरेका छैनन् ।

भर्नामा रोक

मापदण्डविपरीत सञ्चालनमा रहँदै आएका यस्ता क्याम्पसहरुले अघिल्ला वर्षहरुमा निर्वाध विद्यार्थी भर्ना गरेर कक्षा सञ्चालन गर्दै आएका थिए । तर, यस वर्ष भने परिषद् तातेको छ । उसले मापदण्ड पूरा नगरेका क्याम्पसहरुमा विद्यार्थी भर्ना गर्न रोक लगाएको छ । परिषद्ले मापदण्ड नपुगेको भन्दै भर्नामा रोक लगाएपछि भर्ना लिन पाएका छैनन् ।

वर्षौंदेखि अर्घेल्याइ

सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न जुन सीप सिक्ने हो त्यसको व्यावहारिक कक्षालाई प्रयोगशाला चाहिने भए पनि क्याम्पसहरूले त्यो पूरा गर्न सकेका छैनन् । परिषद्ले निर्धारण गरेको पाठ्यक्रमअनुसारको प्रयोगशाला कस्तो हुने भन्नेबारेमा सम्बन्धित क्याम्पसहरुलाई परिषद्ले पटकपटक सचेत गराएको थियो ।

यो पनि पढ्नुहोस  यसरी प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डले एकताको टुंगो लगाए

परिषद्ले ०६२ सालमा जारी गरेको निर्देशिका जारी गरेको थियो, जसमा मापदण्ड पूरा गरेर मात्रै भर्ना प्रक्रिया अगाडि बढाउन भनिएको थियो । सरकारले मापदण्ड पूरा गर्न गरेको आग्रहमा मुन्टो हल्लाउने गरेका क्याम्पसहरुले व्यवहारिक रुपमा पालना गर्न भने अटेरी गर्दै आइरहेको परिषद्को भनाइ छ ।

शिक्षा मन्त्रालयले पनि सो विषयमा परिपत्र गरेको भन्दै उनले गुणस्तरीय जनशक्ति उत्पादनका लागि आवश्यक भौतिक पूर्वाधार, जनशक्ति र प्रयोगशाला हुनै पर्ने बताए ।

परिषद् पदाधिकारी आबद्ध क्याम्पसकै बदमासी

परिषद्ले गरेको आग्रह नमान्ने क्याम्पसहरुको अध्ययन गर्दै जाँदा केही उदेकलाग्दा विषय समेत भेटिएका छन् । जसमा परिषद्का पदाधिकारीकै संलग्नता भेटिएको छ ।

परिषद्का पदाधिकारीहरु आफूले बनाएका नियमको पालना गराउन इमान्दार पूर्वक लाग्नु पर्ने हो । तर, यसका केही पदाधिकारी कतिसम्म गतिछाडा देखिएका छन् भने उनीहरु आबद्ध क्याम्पसले समेत मापदण्ड पालना नगरेको भेटिएको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपकुलपति र भेटेरिनरी संकायका डीन दुवै जना परिषद्का पूर्व पदाधिकारी एवं सदस्य छन् । तर उनीहरु आबद्ध क्याम्पसलाई नै मापदण्ड पूरा नगरेको भन्दै भर्नामा रोक लगाइएको छ । परिषद्का एक अधिकारीले पदाधिकारीहरुको निकम्मापनका कारण यस्तो लज्जास्पद अवस्था आएको बताए ।

बजेट तथा विषयविज्ञको अभाव

सञ्चालित क्याम्पसहरुको पनि आफ्नै गुनासो छ । सरकारी क्याम्पसको गुनासो छ– बजेट अभाव भयो । यसकै कारण आवश्यक प्रयोगशालालगायतका पूर्वाधार व्यवस्थित गर्न नसकिएको गुनासो सरकारी क्याम्पसहरुको छ ।

त्यस्तै विषयविज्ञको अभावले पनि मापदण्ड पूरा गर्न नसकिएको क्याम्पसहरुको भनाइ छ । भेटेरिनरी क्याम्पसहरुका अनुसार एनाटोमी जस्ता विषयको प्राध्यापक पाउन नेपालमा कठिन छ । ‘परिषद्ले मापदण्ड पूरा गरेन मात्रै भन्छ तर हाम्रा कठिनाइहरु बारे कहिल्यै सोच्दैन’, एक क्याम्पस सञ्चालकले भने, ‘विभिन्न विषयका विषयविज्ञहरुले पनि मापदण्ड पालना गर्न असुविधा हुँदै आएको छ । तर सरकारले यो कुरा नबुझेर हामीलाई एकोहोरो मापदण्डको मात्र कुरा गरिरहन्छ ।’ यस्ता असुविधाबारे परिषद्ले बुझ्नु पर्ने उनको भनाइ छ ।

यो पनि पढ्नुहोस  धमाधम चोख्खिँदै गुन्डा नाइकेहरु, पर्शुराम बस्नेतले पनि चार वर्षपछि सफाई पाए

परिषदमा हालसम्म एक हजार १०८ पशु चिकित्सक दर्ता भएका छन् । तिनीहरू नेपालका चार क्याम्पस र विदेशी क्याम्पसहरूबाट उत्तीर्ण भएका हुन् । परिषद्ले एउटा क्याम्पसलाई ४० जना विद्यार्थी पढाउने स्वीकृत दिए पनि अन्य विभिन्न नामको कोटाबाट प्रत्येक क्याम्पसले त्योभन्दा बढी विद्यार्थी पढाउँदै आएका छन् ।

परिषद्ले मापदण्डमा कडाइ गरेपछि निजी तथा सरकारी क्याम्पसहरु गम्भीर बनेका छन् । उनीहरुले मापदण्ड पालना गर्न गम्भीरतापूर्वक लागेको बताएका छन् । तर, कतिपयले यसमा चलखेल बढेको भन्दै आशंका व्यक्त गरेका छन् । परिषद्ले मापदण्ड पालनाका लागि ढिलै गरी चालेको कदमलाई निष्कर्षमा पु¥याउन जरुरी छ ।

२३,पुष.२०७५,सोमबार ०९:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: