अन्ना हजारेले फेरि अनसन शुरु गर्ने

नेपाली जनता

काठमाडौं । भारतमा भ्रष्टाचार विरोधी आन्दोलनका कारण चर्चित नागरिक अगुवा अन्ना हजारेले फेरि अनसन शुरु गर्ने भएका छन् । जन लोकपाल विधेयक कार्यान्वयनको माग गर्दै बुधबार आफ्नै गाउँमा अनसन बस्न लागेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

महाराष्ट्रको अहमदनगर, रालेगन सिद्धीमा अनसन बस्न लागेका हजारेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पटक-पटक आग्रह गर्दा पनि विधेयक कार्यान्वयन नगरेको भन्दै आन्दोलन गर्न लागेका हुन् । केही दिनअघि उनले लोकपाल र लोकायुक्त नियुक्तको माग गरेर मोदीलाई पत्रसमेत लेखेका थिए ।

केन्द्र सरकारले जनतालाई पटक-पटक धोका दिएकाले आफू अनसन बस्न परेको तर आफ्नो अनसन कुनै पार्टी वा व्यक्तिविरुद्ध नरहेको हजारेको भनाइ छ ।

भारतीय सरकारबाट पेन्सन थाप्ने गरेका पूर्वसैनिक हजारेले १६ अगस्त २०११ मा लोकपाल विधेयक पारित गराउन माग गर्दै आमरण अनसन गरेका थिए ।

लोकपाल विधेयकमा के छ ?

विधेयकमा केन्द्रमा लोकपाल र हरेक राज्यमा लोकयुक्त गठन गर्नुपर्ने व्यवस्था छ । दुबै संस्था उच्च न्यायलय वा निर्वाचन आयोगसरह स्वतन्त्र हुनेछन् ।

कुनै पनि मुद्दा तीन महिनाभित्र पूरा हुनुपर्ने र सुनुवाइ छ महिनाभित्र भइसक्नुपर्ने उल्लेख छ । यस्तै भ्रष्ट ठहर भएका नेता, उच्च अधिकारी वा न्यायाधीशलाई वर्षदिनभित्र जेल पठाइसक्नु पर्नेछ ।

कुनै पनि नागरिकको काम तोकिएको समयमा भएन भने दोषी अधिकारीले जरिवाना तिर्नुपर्नेछ । जरिवाना रकम पीडित नागरिकलाई क्षतिपूर्ति दिइने छ ।

लोकपालका कुनै पनि कर्मचारी विरुद्ध उजुरी परेको अवस्थामा दुई महिना भित्र छानविन गरेर बर्खास्त गरिने भारतीय लोकपाल विधेयकमा उल्लेख छ ।

यो पनि पढ्नुहोस  प्रहरी र अदालतकाे सेटिङमा अवैध कल बाइपास
१६,माघ.२०७५,बुधबार १२:४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: