तिमी अर्थात् मेरो बाबु !

नेपाली जनता

मेरी आमा अर्थात्
तिम्री अर्धाङ्गिनीको
रजस्वाला रोकिएदेखि नै
तिम्रा आँखामा नाँच्न थालेका हुन्
खुसीका इन्द्रेनी
पिउन सुरु गरेका हौ
खुसीको सोमरस
बाबु भएको सपना देखेरै
बिताएका हौ तिमीले
दुई सय सत्तरी रात ।

जुन दिन मेरी अमाले
फुलाएर गालामा रातो गुलाफ
तिम्रो कानमा साउती गरेकी थिइन्
हो, त्यही दिनदेखि बनेका हौ
तिमी मेरो आकाश ।

जब प्रसव पीडाले छट्पटिदै
मेरी आमाले चिच्याएर उघारिदिइन्
आफ्नो गर्भाशयको ढोका
तब मेरो आगमनलाई
खुसीले स्वागत गर्दै
दर्शन गर्ने पहिलो मान्छे
उही थियौ,
तिमी अर्थात् मेरो बाबु ।

मेरो निन्द्राकै लागि तिमी
कैँयौ रातका प्रहर जागा बस्यौ
मलाई अघाउनकै लागि
कति साँझ बिहान
खानाको साइत सारेर भोकै बस्यौ ।

कहिकाहीँ धुलोले बिझाएर
मेरो आँखाले बगाएका आँसुले
तिम्रो मन नुनिलो हुन्थ्यो
मेरा यिनै आँखामा खुसी चम्चमाउँदा
तिम्रा ओठ मुस्कानले पल्लवित हुन्थे
म सधैँ सधैँँ तिम्रो ओठमा
मुस्कान छर्ने आभा भएँ
तिम्रो आँखाको खुसी भएर बाँचेँ
तिम्रो मनको सुख भएर नाचेँ
किनकी तिमी मेरो बाबु हौ
अनि म तिम्रो सन्तान ।

तिमीले जीवनमा कैयौँ दुःखका मूढा चि¥यौ
असङ्ख्य पीडाका चट्टान फो¥यौ
लाखौँ थोपा आँसुका जँघार त¥यौ
र पनि तिमीभित्र बाँचिरह्यो
सधैँ सधैँ एउटा बाबुको अस्तित्व
एउटा मान्छेभित्रको वात्सल्यता
अझै बढी एउटा सिङ्गो मातृत्व !

फेसबुकवालबाट साभार गरेका हाैं ।

यो पनि पढ्नुहोस  ‘प्रेम छोटाका बहुआयाम’ सार्वजनिक
१८,माघ.२०७५,शुक्रबार ११:१९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: