रहस्यमय हाइप्रोफाइल दुर्घटना

नेपाली जनता

काठमाण्डौ । २०७५ माघ १२ गते शनिबार साँझ पूर्व पश्चिम महेन्द्र राजमार्गको बारा जिल्ला अन्तर्गत पथलैया–निजगढ सडकखण्डको पसाहा पुल नजिकै भएको हाइप्रोफाइल दुर्घटना रहस्यमय बनेको छ । दुर्घटनामा सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको थियो भने बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई, दुई जना सुरक्षाकर्मी र सवारी चालक जगतनारायण राउत कुर्मी घाइते भएका थिए ।

प्रमुख जिल्ला अधिकारी भट्टराईको काठमाण्डौंमा उपचार भइरहेको छ । सिडिओ भट्टराई अचेत रहेका छन् । सुरक्षाकर्मीहरू सशस्त्र प्रहरीका हवल्दार सञ्जयकुमार यादव र प्रहरी जवान शम्भु गुरुङको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।जिपको अन्तिम सिटमा बसेकाले सुरक्षाकर्मीलाई सामान्य चोटपटक लागकाले अवस्था खतरामुक्त रहेको बताइएको छ । सडक किनारामा ढुङ्गा लोड गरेर रोकिराखेको ट्याक्टरको ट्रलीमा ना १ झ १६३३ नम्बरको स्कार्पियो ठोक्काएर हाम फालेका चालक जगतनारायण राउतकुर्मी भने सकुशल रहेका छन ।

चालक कर्मीलाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ । दुर्घटना बारे सुरक्षा निकायले अनुसन्धान गरिरहेको स्रँेत बताउछ ।

उच्च अधिकारीहरूको अनुसन्धानले दुर्घटना स्वभाविक हो वा जानीजानी गराइएको हो भन्ने विषयमा अनेकौ प्रश्न उब्जिएको बताइएको छ । दुर्घटनामा बाँच्न सफल भएका प्रमुख जिल्ला अधिकारीका सवारी चालक जनतनारायण राउत कुर्मीलाई मुख्यरुपमा शंकाको घेरामा राखेर अनुसन्धान थालिएपछि कुर्मीका बारेमा धेरै तथ्यहरू बाहिर आएका छन ।

कुर्मीको सम्पर्क सीमा क्षेत्रका तस्करदेखि भारत तथा नेपालका अपराधिक गिरोहसम्म रहेको चर्चा बारामा जिल्लामा चलेको छ । करीब २३ बर्षदेखि जिल्ला प्रशासन कार्यालय बाराको ड्राइभरका रुपमा कार्यरत कुर्मीको बारा जिल्लामा छायाँ सिडियोका रुपमा चर्चा हुँदै आएको थियो । जिल्ला सुरक्षा समितिको बैठकमा समेत उपस्थित रहने उनीमाथि सुरक्षासंग सम्बन्धित सूचनाहरू अपराधिक तथा भूमिगत समूहहरूलाई पु¥याउने गरेको आरोप लाग्दै आएको कलैयाका स्थानियवासी बताउछन ।

यो पनि पढ्नुहोस  पार्टीभित्र गुटको भेला बढेपछि भ्रमण छोट्याएर प्रचण्ड फिर्ता

अपराधिक तथा तराईमा सक्रिय सशस्त्र भूमिगत गिरोहसंग मिलेर काम गरेको आरोप लाग्दै आएका ड्राइभर कुर्मीमाथि ठूलो रकम लिएर सयौको संख्यामा भारतीयहरूलाई नेपाली नागरिताको प्रमाणपत्र दिलाएको आरोप पनि लाग्ने गरेको छ । उनले बारा जिल्ला प्रशासनमा गरेको २३ बर्षको ड्राइभिङ सेवा अवधिमा विभिन्न सेटिङमार्फत करोडौं रुपैयाँ बराबरको अकूत सम्पत्ति जम्मा गरेको आरोप पनि लागेको छ ।

पछिल्लो समयमा कुर्मीका शंकास्पद गतिबिधिमाथि प्रमुख जिल्ला अधिकारीलगायत बाराका अन्य सुरक्षा निकायहरूले निगरानी बढाएकोले कुर्मी तनावमा रहने गरेको जिल्ला प्रशासनका कर्मचारीहरू बताउछन । श्रोतका अनुसार दुर्घटना हँुदा घटनास्थलमै मृत्यु भएका सशस्त्रका एसपी बलराम पोखरेलसंग ड्राइभर कुर्मीको विवाद भएको भन्ने खबर पनि आइरहेका छन ।

स्थानीयका अनुसार जिल्ला प्रशासन कार्यालयको ड्राइभरमा नियुक्त हुनु अघि कुर्मी बाराको विकट गाउँमा परिवारसंग बस्थे, उनको परिवारलाई जीवनयापन गर्नै कठिन थियो । संयुक्तरुपमा बसिरहेको उनको परिवारमा मुस्किलले खान लाउन पुग्थ्यो । तर अहिले कुर्मीको करोडौको सम्पत्ति देख्दा कलैयावासी आश्चर्यचकित हुन्छन् ।

कुर्मीले उता अपराधिक र भूमिगत गिरोहसंग साँठगाँठ गरेर कमाएको हिस्सा सरकारका उच्च पदस्थ कर्मचारीहरूलाई पनि पु¥याउने गरेको अनुसन्धानले देखाएको अनुसन्धानमा संलग्न कर्मचारीको भनाई छ । विभिन्न समयमा बारा जिल्ला प्रशासनमा काम गरेका र हाल सरकारको उच्च पदमा पुगेका केही कर्मचारीले कुर्मीलाई संरक्षण गर्दै आएको विषयमा पनि अनुसन्धान हुन थालेको स्रोतले बतायो ।

त्यस्ता कर्मचारीको घर भान्छा चलाउन कुर्मीले कलैयाबाट नियमित उपहार पठाउने गरेको बताउदै एक जना अधिकारीले भने कुर्मी ड्राइभर मात्र होइन, मुद्दामा सेटिङ गर्नेदेखि लिएर हरेक कामका बिचौलिया हुन् । कुर्मीको पक्राउले संरक्षकहरूको आर्थिक स्रोत प्रभावित हुने भएकाले अहिले कुर्मीलाई छुटाउन करोडौं रकमको चलखेल भइरहेको स्रोतको दाबी छ ।

दुर्घटना रहस्यमय भएको भन्दै मृतक एसपी बलराम पोखरेलका दाजु शालिग्राम पोखरेलले कुर्मीविरुद्ध सवारी ज्यानमा कारबाहीका लागि किटानी जाहेरी समेत दिएका छन् । ड्राइभर कुर्मी प्रमुख जिल्ला अधिकारीभन्दा पनि शक्तिशालीरुपमा जिल्लामा सक्रिय हुने भएकाले अरु अस्थायी कुर्मी प्रजिअ हुन भन्ने चर्चा हुँदै आएको छ ।

यो पनि पढ्नुहोस  ओली सरकारले गर्दैछ यस्तो गम्भीर गल्ती

विगतमा बारामा प्रमुख जिल्ला अधिकारी बनेर गइसकेका बालकृष्ण पन्थी, माधवराज रेग्मी, शंकर कोइरालालगायतका अवकाशप्राप्त र बहालवाला उच्च अधिकारीहरूले कुर्मीलाई बचाउन स्थानीय प्रशासनलाई दवाव दिइरहेको स्रोतको दावी छ ।

कुर्मीको कलैया उपमहानगरपालिका १ मोतिवागमा बनेको तीन तले बंगला हेर्दा जो कोहीलाई पनि आश्चर्य हुन्छ । मुस्किलले मासिक २० हजार रुपैया कमाउने ड्राइभरले परिवारको पालनपोषण कसरी गर्छ होला, कति पैसा बचाउछ होला ? करीब चारकरोडको बंगलाको आयश्रोत के हो भनेर मानिसहरू प्रश्न गरिरहेका छन ।

कुर्मीको कलैया, वीरगञ्ज , काठमाण्डौ लगायतका सहरमा पनि करोडौ रुपैया मूल्यको घरजग्गा भएको खुलेको छ । कुर्मीले काठमाडौंको अनामनगरमा नेपाल सरकारका अवकाशप्राप्त सचिव सीताराम खनालको घर नजिक करीब ५ करोड रुपैया बराबरको आलिशान घर बनाएको, बाराको ब्रम्हपुरी गाउँमा करीब पाँच करोड मूल्यको पाँच विगाहा जग्गा रहेको अनुसन्धानबाट खुलेको छ । (साँघु साप्ताहिक)

१,फाल्गुन.२०७५,बुधबार ११:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: