नेपाली विद्यार्थी विचल्ली प्रकरण: शिक्षा मन्त्रालयले काट्यो ९ वटा कन्सलटेन्सीलाई पत्र

नेपाली जनता

काठमाडौं । नर्सिङ अध्ययनका लागि अष्ट्रेलियन कलेज अस्ट्रेलिन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबीटी) पुगेका एक हजार भन्दा बढि विद्यार्थीको भविश्य अन्यौलमा परेको छ । नेपालका विभिन्न कन्सलटेन्सीबाट एआईबीटी पुगेका विद्यार्थीहरुले एक साता अघि एक टेलिभिजनमार्फत प्रत्यक्ष रुपमा आफूहरु समस्यामा परेको बताएपछि यो कुरा बाहिर आएको थियो । विद्यार्थीहरु विचल्लीमा परेको जानकारी पाएलगत्तै शिक्षा मन्त्रालयले एआईबीटीमा विद्यार्थी पठाउने कन्सलटेन्सीहरुलाई पत्र काटेको छ ।

मन्त्रालयले शुक्रबार काटेको पत्रमा विद्यार्थीहरुको विवरण माग गरिएको बताइएको छ । यता, यस विषयमा शिक्षा मन्त्रालयसँगको सहकार्यमा नेपाल प्रहरीले पनि गोप्य अनुसन्धान शुरु गरिसकेको स्रोतको दावी छ ।

नर्सिङ इन डिप्लोमा विषयको सम्बन्धन नै नलिई विद्यार्थी भर्ना गरेर पढाउन सुरु गरेको भन्दै एआइबीटी कलेज खारेजीमा परेको छ । जसका कारण नेपाली विद्यार्थीको विचल्ली भएको हो । अष्ट्रेलियन क्वालिटी अथोरोटी (अस्क्वा) ले शैक्षिक कानुन उल्लघंन गरेको भन्दै एआइबिटीको दर्ता खारेज गरेको थियो ।

शिक्षा मन्त्रालयले एआईबीटीमा विद्यार्थी पठाउने मर्सी एजुकेशन, एबीसी माइग्रेसन, एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिस, कंगारु एजुकेशन फाउण्डेसन, अल्फा विटा एजुकेशन, काठमाडौं इन्फोसिसलाई पत्र काटेको छ । त्यसैगरी, मन्त्रालयले सनराईज एजुकेशन, डल्फिन एजुकेशन र वेभ प्रमिश सर्भिसलाई पत्र काटी विद्यार्थीको विवरण माग गरेको छ ।

यी कन्सलटेन्सीहरुमाथि नर्सिङ दर्ता नै नभएको कलेजमा जानाजान विद्यार्थी पठाएर ठगी धन्दा गरेको आरोप लागेको छ । अष्ट्रेलियमा कालो सूचीमा परेको मर्सीले सबैभन्दा बढि झण्डै चार सय विद्यार्थीलाई एआईबीटीमा पठाएको बुझिएको छ ।

यो बाहेक शैक्षिक परामर्श संघका नेतृत्वतहमा रहेका व्यक्तिहरुले नै एआइबिटी कलेजमा नेपाली विद्यार्थीहरुलाई पठाउँदै आएको खुलेको छ । कन्सलटेन्सीहरुका छाता संगठन नेपाल शैक्षिक परामर्श संघका (इक्यान) अध्यक्ष विष्णुहरी पाण्डेले सञ्चालन गरेको रोयल एजुकेशन फाउण्डेशन एआइबिटीको आधिकारीक प्रतिनिधी भएको देखिएको छ । त्यस्तै पूर्व अध्यक्ष राजेन्द्र बरालले सञ्चालन गरेको व्रिलियन्ट एजुकेशन पनि यो काण्डमा मुछिएको छ । त्यस्तै बिबादास्पद अप्सन एजुकेशनन कन्सल्टेन्सी पनि बिद्यार्थीलाई ठगि गरेको प्रकरणमा मुछिएको छ।

यो पनि पढ्नुहोस  ओली र मोदीको जल र रेल, के होला चाइनाको तेल ?

स्वतन्त्र शैक्षिक परामर्श संघ नेपालका अध्यक्ष युवराज कटुवालको स्वामित्वमा रहेको यासफोर्ड इन्टरनेशनल र अन्तर्राष्ट्रिय शैक्षिक परामर्श सम्बन्धि नेपाली संघ इन्टरनेश्नल एजुकेशन इनिसेटिभ अफ नेपाल (आइरिन) का अध्यक्ष कुमार कार्कीको स्वामित्व रहेको ल्यान्डमार्क एजुकेशन पनि एआइबिटीको आधिकारिक एजेन्ट रहेको पाइएको छ ।

यसैबीच नेपालस्थित अष्ट्रेलियन दूताबासले भने बिहीबार साँझ विज्ञप्ति जारी गरी विद्यार्थीहरुलाई नअत्तालिन र कम्तिमा २८ दिन धैर्य गर्न आग्रह गरेको छ । एआईबीटीको दर्ता खारेजीको निर्णयमा कलेजले २८ दिनभित्र पुनरावेदनमा जाने अवस्था हुने भएकोले अहिले सबै कुरा यथावत नै सञ्चालित हुने उसले स्पष्ट गरेको छ।

अष्ट्रेलियामा नर्सिङ पढाउने कलेजहरुले अष्ट्रेलियन नर्सिङ एण्ड मिड वाइफरी एक्रिटिडेसन काउन्सिल एनम्याकबाट सम्बन्धन लिनुपर्छ । सम्बन्धन नलिएका कलेजहरुले पढाएको नर्सिङ विषयको कुनै मान्यता हुदैन । तर, हजारौं डलर खर्चेर पनि कन्सलटेन्सीकै गतल परामर्शले पूरा पढ्न नपाएपछि विद्यार्थीहरु अलपत्र परेका हुन् ।

यता एआइबिटी कलेजमा अध्ययनरत सयौ नेपाली विद्यार्थीको गुनासो सार्वजनिक भएपछि क्यानवेरास्थित नेपाली दुतावास पनि गम्भिर बनेको जनाएको छ । दुतावासले १० गते शुक्रबार जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ–‘उच्च अध्ययन गर्ने उद्देश्यका साथ अष्ट्रेलिया आएका नेपाली विद्यार्थीहरूलाई पर्न गएको प्रस्तुत समस्यालाई गम्भीरतापूर्वक लिई समस्या समाधानका लागि यस राजदूतावास र नेपाल सरकार, परराष्ट्र मन्त्रालयबाटसमेत अष्ट्रेलियन सरकारका सम्बन्धित निकायहरूसँग निरन्तर सम्पर्क र छलफल भइरहेकोले हाललाई सम्पूर्ण विद्यार्थीहरूलाई संयमित एवम् धैर्य रहन हार्दिक अनुरोध गर्दछौँ ।’

१३,फाल्गुन.२०७५,सोमबार ०७:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: