घर बनाउने जिम्मा सेनालाई

नेपाली जनता

काठमाडौं । सरकारले बारा र पर्साका हवाहुरी प्रभावितहरुको घर निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ । वर्षायाम अगावै सो भवन निर्माण गरी पीडितलाई हस्तान्तरण गर्ने गरी सेनालाई जिम्मा दिइएको हो ।

मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले वर्षायाम सुरु हुनुअघि नै प्रभावितहरुको घर निर्माण सक्नका लागि सेनालाई दिने निर्णय गरेको सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । घर निर्माणका लागि प्रदेश–२ का प्रमुख सचिवको संयोजकत्वमा बारा र पर्साका प्रमुख जिल्ला अधिकारी, सहरी विकास र रक्षा मन्त्रालयका प्रतिनिधि रहेको समिति गठन गरिएको छ ।

प्रभावितहरुको घर निर्माणको सम्पूर्ण खर्च सरकारले बेहोर्ने छ । तत्कालै बर्खा लाग्ने भएकाले छिटो निर्माण सक्नका लागि सरकारले सेनालाई जिम्मा दिएको हो । बिहीबार बिहान सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीले यो विषयमा कुरा गरेका थिए । प्रधानमन्त्रीसहितको छलफलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसमेत थिए । राउतले समेत छिटो घर निर्माणको आवश्यक औल्याउँदै विशेष व्यवस्था गर्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिएका थिए ।

बिहीबार बिहानको बैठकमै सेनालाई जिम्मेवारी दिनेबारे छलफल भएको थियो । त्यही छलफलको आधारमा साँझको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेका हो । प्रभावितहरुलाई घर निर्माणसहित उपचार खर्च पनि सरकारले नै बेहोर्ने निर्णय यसअघि नै भइसकेको छ । प्रदेश र केन्द्र सरकारले समन्वयात्मक रुपमा प्रभावित क्षेत्रमा पुनर्स्थापना कार्यक्रम समेत सञ्चालन गर्नेछन् ।

यो पनि पढ्नुहोस  माघे संक्रान्तिलाई लक्षित गरी नारायणगढ–मुग्लिन सडक चार दिन खुला
२३,चैत्र.२०७५,शनिबार १०:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: