उपदान लिने प्राथमिक शिक्षक मुस्किलले एसएलसी पास

नेपाली जनता

काठमाडौँ । उपदानका लागि आवेदन दिएका प्राथमिक तहका अधिकांश अस्थायी शिक्षकले दुई वा तीन पटकमा साविकको एसएलसी परीक्षा उत्तीर्ण गरेको पाइएको छ । एकै पटकमा एसएलसी परीक्षा उत्तीर्ण गरेकाहरूमध्ये अधिकांशले तेस्रो श्रेणीमा सो परीक्षा उत्तीर्ण गरेको पनि पाइएको छ ।

शिक्षक पदको आन्तरिक स्थायी परीक्षामा अनुत्तीर्ण भई उपदानका लागि आवेदन दिएका शिक्षकहरूको विवरण रुजु गर्ने कार्य भइरहेको छ । ती शिक्षकले बुझाएको शैक्षिक प्रमाणपत्र देखेपछि विद्यालय शिक्षक किताबखानाका पदाधिकारीहरू चकित परेका छन् । एसएलसी परीक्षा हम्मेहम्मे गरी उत्तीर्ण भएकालाई विगतमा भनसुनका आधारमा शिक्षक बनाइएको रहेछ भन्ने विषय किताबखानामा यतिबेला निकै चर्चामा छ ।

किताबखानाका उपसचिव रवीन्द्रकुमार बुढापिर्थीले भने, “अधिकांश शिक्षक पटक पटक परीक्षा दिएर एसएलसी परीक्षा उत्तीर्ण गरेका रहेछन् वा बल्लतल्ल तेस्रो श्रेणीमा उत्तीर्ण गरेका छन् । ” किताबखानाका कर्मचारीहरूका अनुसार निम्न माध्यमिक र माध्यमिक तहमा विगतमा अध्यापन गरेका अस्थायी शिक्षकले तेस्रो वा दोस्रो श्रेणीमा प्रमाणपत्र तह अथवा स्नातक तह उत्तीर्ण गरेका थिए । बुझाइएका प्रमाणपत्र हेर्दा विज्ञान र गणित विषय अध्यापन गरेका अधिकांश दोस्रो श्रेणीमा उत्तीर्ण गरेका अस्थायी शिक्षक थिए ।

मुस्किलले तेस्रो श्रेणीमा वा पटक पटक गरी एसएलसी परीक्षा उत्तीर्ण गरेका शिक्षकलाई प्राथमिक तहमा अध्यापनको जिम्मेवारी दिँदा विद्यार्थीको जगमै असर पु¥याउने शिक्षाविद्हरूको भनाइ छ । काठमाडौँ विश्वविद्यालयका शिक्षाविद् डा। वासुदेव सुवेदीले शिक्षकको कमजोर शैक्षिक योग्यताले विद्यार्थीको सिकाइमा प्रत्यक्ष प्रभाव पार्ने बताउँदै भने, “प्रथम वा विशिष्ट श्रेणीमा उत्तीर्ण गरेकाले अध्यापन गर्नुपर्छ । त्यसैले यो पेसा विशिष्ट हुन्छ । ”

शिक्षक सेवा आयोगले अध्यापन अनुमतिका लागि न्यूनतम ५० अङ्क ल्याउनुपर्ने नियम बनाएको छ तर शिक्षक पदका लागि लिइने लिखित परीक्षामा न्यूनतम ४० अङ्क ल्याए पुग्छ । छुट्टयाइएको २५ अङ्कमध्ये अन्तर्वार्ताका लागि १० अङ्क, अनुभवका लागि १२ अङ्क र उत्तीर्ण श्रेणीका लागि तीन अङ्क दिने व्यवस्था छ । २०६५ साल यता प्राथमिक र निम्न माध्यमिक तहमा न्यूनतम शैक्षिक योग्यता कक्षा १२ तथा माध्यमिक तहमा स्नातक उत्तीर्ण भएको हुनुपर्ने नियम लागू गरिएको छ । उत्तीर्ण श्रेणीका लागि छुट्याइएको तीन अङ्कमध्ये प्रथम श्रेणीका लागि तीन अङ्क, दोस्रो श्रेणीका लागि दुई अङ्क र तेस्रो श्रेणीका लागि एक अङ्क दिने नियम छ ।

यो पनि पढ्नुहोस  स्वास्थ्यकर्मीको सरुवामा व्यापक चलखेल, एकै व्यक्तिलाई तीन ठाउँसम्म सरुवा

आयोगले अनुभवको अङ्क बढी राख्दा लिखित परीक्षामा कम अङ्क ल्याएकालाई छनोट हुन सहज बनेको छ । यद्यपि आयोग अनुभवको अङ्कलाई घटाएर पाँचमा सीमित राख्ने गरी नियमावली संशोधन गर्न लागिरहेको छ । माथिल्लो योग्यता हासिल गरेकालाई दुई अङ्क दिने र उत्तीर्ण श्रेणीको तीन अङ्कलाई घटाएर दुईमा झार्न प्रस्ताव गरेको थाहा भएको छ ।

काठमाडौँ विश्वविद्यालयका शिक्षाविद् डा। सुवेदीले शिक्षक पदको लिखित परीक्षामा न्यूनतम आधार ५० प्रतिशत पु¥याउँदा प्रतिस्पर्धा बढ्ने र त्यसबाट योग्य व्यक्ति शिक्षकका रूपमा छनोट हुनसक्ने बताउनुभयो । ईआरओका महानिर्देशक टेकनारायण पाण्डेले शिक्षकको योग्यताले विद्यार्थीको सिकाइमा प्रभाव पर्ने गरेको बताउँदै भन्नुभयो, “कति प्रभाव पार्छ भन्ने बारेमा थप अनुसन्धान हुन बाँकी छ ।

३,असार.२०७६,मंगलवार ०८:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: