२५ गाउँका सर्वसाधारणलाई उठिबास लगाउने श्याम परदेशी पुर्पक्षका लागि जेल चलान

नेपाली जनता

काठमाडौं । सर्लाहीका २५ गाउँका सर्वसाधारणलाई ऋण दिएर उठिबास गराउने श्यामकृष्ण साह भनिने श्याम परदेशी पुर्पक्षका लागि जेल चलान भएका छन् । ठगी अभियोगमा पक्राउ परेका परदेशीको बयान र थनुछेक बहसपछि अदालतले कारागार चलान गर्ने आदेश दिएको हो ।

शुक्रबार सर्लाही जिल्ला अदालतका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले ठगी मुद्दामा श्याम परदेशीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । उनीविरुद्ध विपन्नलाई एकपटक ऋण दिएर पटक–पटक ऋण दिएको कागज गराउँदै ठगेको आरोप छ ।

परदेशीको जाली तमसुकको शिकार बनेकी पीडित रुक्मिणी चौधरीको जाहेरीका आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएकाे थियाे । रुक्मिणीले यही भदौ ५ गते परदेशीविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।

परदेशीले ऋणको ब्याज बुझाउन जाँदा उल्टै अर्कोपटक ऋण दिएको नक्कली कागज बनाएर ठग्दै आएकाे भन्दै पीडितले प्रहरीमा उजुरी गरेका थिए । उनीविरुद्ध एक दर्जनभन्दा बढीको उजुरी परेको थियो ।

परदेशीले सर्लाहीको हरिवन, नवलपुर लगायतका सात गाँउ स्थानीयलाई सैतानी व्याजको पासोमा फसाएका छन् । उनीसँग २ सय ९९ जना व्यक्तिले परदेशीबाट १५० जना भन्दा बढीले १ करोड ९ लाख ५१ हजार रुपैयाँ ऋण लिएका थिए । उनीहरुले अहिलेसम्म १ करोड ४७ लाख ४ हजार तिरिसकेका छन् ।

एउटै मान्छेको नाममा ऋण दिएको कानुनी कागज गर्न नमिल्ने भएकाले परदेशीले आफ्ना परिवारका सदस्यका नाममा समेत कागज गराउँदै आएका थिए ।

पीडितहरूले वास्तविक ऋण तिर्न तयार भएको तर श्याम परदेशीको सैतानी व्याजको छानबिनको माग गर्दै नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, गृहमन्त्री राम बहादुर थापा बादल लगायतलाई भेटेर समस्या राखेका थिए ।

यो पनि पढ्नुहोस  ‘गणतन्त्रात्मक शासन व्यवस्था जीवनपद्धतिका रूपमा संस्थागत हुनु गौरवको विषय हो’
११,आश्विन.२०७६,शनिबार १०:०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: