बोहोरा बलात्कार गर्ने दुबैलाई सर्वोच्चले सुनायो साढे ११ वर्ष जेल सजाय

नेपाली जनता

काठमाडौं । सर्वोच्च अदालतले पुनरावेदनको फैसला उल्टाउँदै बैतडीकी पूजा बोहोरालाई बलात्कार गर्ने दुई जनालाई साढे ११ वर्ष जेल सजाय सुनाएको छ । साथै पीडित बोहोरालाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ ।

न्यायाधीश सपना मल्ल र हरि फुयाँलको संयुक्त इजलासले तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको फैसला उल्टाएको हो । आइतबार सजाय निर्धारणका लागि बसेको इजलासले सागर भट्ट र अमरराज अवस्थीलाई साढे ११ वर्ष कैद सजाय सुनाएको हो ।

सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार बलात्कार कसूरमा साढे ६ वर्ष र सामूहिक बलात्कार कसूरमा ५ वर्ष गरी साढे ११ वर्ष कैद सजाय सुनाइएको छ ।

सर्वोच्चले कसूरदार दुई जनाबाट जनही साढे २ लाख गरी ५ लाख र सरकारका तर्फबाट ५ लाख गरी पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने पनि आदेश दिएको ढकालले जानकारी दिए ।

बैतडीका जिल्ला न्यायाधीश हिमालयराज पाठकको इजलासले यो मुद्दामा २०६९ फागुन २२ गते भट्ट र अवस्थीलाई १३ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो । तर २०७१ वैशाख १५ गते पुनरावेदन अदालतका न्यायाधीश नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले जिल्लाको फैसला उल्ट्याउँदै दुबै अभियुक्तलाई सफाइ दिएको थियो ।

पुनरावेदनको फैसलाविरुद्ध सरकारी वकिल कार्यालयले २०७१ मंसिर २१ गते सर्वोच्चमा मुद्दा दायर गरेको थियो । सर्वोच्चमा न्यायाधीश सपना मल्ल प्रधान र हरि फुयालको इजलासले कात्तिक ७ गते पुनरावेदन अदालतको फैसला उल्ट्याएको थियो । तर सजाय तोक्न बाँकी थियो । सोमबारको इजलासले सजाय तोकेको हो ।

सर्वोच्चको आइतबारको इजलासले क्षतिपूर्ति संरक्षण ऐनअनुसार क्षतिपूर्ति निर्धारणका लागि पेरोल अधिकृत नियुक्त गर्नसरकारलाई आदेश दिएको छ ।

त्यस्तै मुद्दा अनुसन्धान र अभियोजनकै क्रममा पीडकको आर्थिक अवस्था खुल्ने प्रतिवेदन पनि साथै राख्न आदेश दिएको छ ।

यो पनि पढ्नुहोस  त्रिभुुवन विश्वविद्यालयको बजेट २१ अर्ब

घटना ?

२०६८ चैत ९ गते एसएलसी परीक्षाको तयारीका लागि गेसपेपर किन्न बैतडीमा फोटो स्टुडियोमा गएकी पूजा बोहरा त्यसै स्टुडियोको सञ्चालक सागर भट्ट र उनका साथी अमरराज अवस्थीको सामूहिक बलात्कारको शिकार भएकी थिइन् ।

उनले आफूलाई बेहोस बनाउने सुई लगाई अचेत अवस्थामा सामूहिक बलात्कार गरेको भनी प्रहरीमा जाहेरी दिएकी थिइन् ।

२,मंसिर.२०७६,सोमबार २०:१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: