गोली हानी श्रीमतिको हत्या, पति प्रहरीको नियन्त्रणमा

नेपाली जनता

डोटी । डोटीमा एक महिलाको गोली हानी हत्या गरिएको छ । जोरायल गाउँपालिका ४ देउथलाकी २० वर्षीया अनिता वनको भरुवा बन्दुकले हानेर हत्या भएको प्रहरीले जनाएको छ ।

आइतबार बेलुकी करिब ५ बजेतिर नङनी टोलकी अनितालाई उनका २२ वर्षीया श्रीमान खडक वनले गोली हानी हत्या गरेको आशंका गरिएको छ। यद्यपि आरोपित खडक वनले भने नस्वीकारेको इलाका प्रहरी कार्यालय जोरायलका इञ्चार्ज सइ महेन्द्र थापाले बताए। मृतक अनिता र उनका श्रीमान् मात्रै घरमा भएको बेला घटना भएको थियो। मृतक अनिताको छातीको बीच भागमा गोली लागेको प्रहरीले जनाएको छ।

घरको माथिल्लो तलामा रहेका दुई कोठामध्ये भित्रपट्टिको कोठामा घटना भएको र कोठाको कुनामा भरुवा बन्दुक ठड्याएर राखिएको अवस्थामा फेला परेको सइ थापाले बताए।

अनिताका श्रीमान् खडकले आफू घरको तल्लो तलामा रहेको बेला एक्कासी गोली पड्किएको आवाज आउँदा श्रीमती ढलेको अवस्थामा फेला पारेको उनले प्रहरीलाई बताएका छन्। घटनाको समयमा खडककी आमा विपिनगर नन्दको घर गएको, बुबा गाउँकै माथिपट्टि रहेको पसलमा गएको र भाइ बल खेल्न गएको बताइएको छ।

प्रहरीले खडक वनलाई नियन्त्रणमा राखी घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलीपसिं देउवाले जानकारी दिएका छन्।

डडेल्धुराको भागेश्वर गाउँपालिका ५ बगरकोट सिराडी माइती घर भएकी अनिता र खडकको गत फागुनमा विवाह भएको आफन्तले बताएका छन्।

यो पनि पढ्नुहोस  पार्टी खोलेर चुनाव लड्न पूर्वराजालाई भट्टराईको सुझाव
२४,चैत्र.२०७६,सोमबार १६:०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: