कैलालीकी कोरोना संक्रमित महिलाले बिहारबाट आएका १५ बढी नातेदारलाई खाना खुवाएकाे पुष्टि

नेपाली जनता

काठमाडाैं । सोमबार कैलालीकी ६५ वर्षीया महिलालाई कोरोना संक्रमण पुष्टि भयो। उनी श्रीमान र दुई नातिनातिनीसहित दुई वर्षयता वीरगन्जमा बस्दै आएकी थिइन्।

गत चैत ९ गते उनका ठूलो छोरासहित १५ बढी नातेदारहरू बिहारबाट वीरगन्ज आएका थिए। वीरगन्ज आइपुग्दा साँझ परेकाले त्यहीँ दिन कैलाली जान सकेनन्। छोरासहित सबैजना आमाबुवा बसैकै कोठामा गएर बसेका थिए । त्यो साँझ महिलाले सबैलाई खाना पकाएर खुवाइन्।

‘बुवाआमा बस्ने कोठा ठूलो छ। उहाँहरू त्यो रात त्यहीँ बस्नुभयो,’ संक्रमितका कान्छो छोराकाे भनाइ छ ।

भोलिपल्ट ठूलो छोरासहित पाहुना लागेका सबै कैलालीका लागि हिँडे। उनीहरू कैलाली पुगेर आ-आफ्नो घर गए।

संक्रमित महिलाको सम्पर्कमा रहेका व्यक्तिहरूको खोजी गर्दा उनले विहारबाट आएका छोरासहित पाहुनाहरूलाई खाना खुवाएको खुलेको हो।

अहिले महिलाका सम्पर्कमा आएका २४ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईंले संक्रमित महिलाले खाना खुवाएका र गाडीमा सँगै आएका २४ जनालाई क्वारेन्टाइनमा राखिएको बताए।

उनले संक्रमण देखिएपछि पूर्वलम्कीको बालकल्याण क्षेत्रलाई सिल गरिएको जानकारी दिए।

‘हामी केही दिनमा गाउँमा रहेका ४ सय बढीको परीक्षण गर्ने तयारी गर्दैछौं,’ उनले भने।

महिलालाई संक्रमण पुष्टि भएपछि उनीसँगै चैत १७ गते वीरगन्जबाट आएका परिवारका १६ सदस्यलाई फेरि क्वारेन्टाइनमा राखिएको छ।

उनीहरूको २९ गते र्‍यापिड टेस्ट गर्दा नेगेटिभ देखिएपछि सबैलाई होम क्वारेन्टाइनमा बस्न भनेर घर पठाइएको थियो। सोमबार महिलालाई संक्रमण देखिएपछि फेरि बाँकीलाई क्वारेन्टाइनमा ल्याइएको छ।

संक्रमित महिलालाई हिजै धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। महिलामा दम र रक्तचापको समस्या पहिले देखि नै भएकाे पारिवारीक स्राेतले बताएकाे छ।

यो पनि पढ्नुहोस  तलब धेरै भएको भन्दै चिकित्सक विरोधमा, कटौती गर्न माग !
२,बैशाख.२०७७,मंगलवार १२:५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: