कोरोना कहरमा प्रकृतिको सन्देश

डा. दिनेशराज भुजु

सौर्यमण्डलभित्र घुमिरहेको यस सुन्दर नीलो ग्रहको कुनै जन्मदर्ता प्रमाणपत्र (बर्थ सर्टिफिकेट) छैन । वैज्ञानिकहरूले सयौँ वर्ष लगाएर यसको हिसाबकिताब भने निकालेका छन् । गहन अध्ययन गरेर विज्ञानले पृथ्वीको उमेर ४.५४ अर्ब वर्ष भनी निक्र्योल गरेको छ । यसमा ५ करोड वर्ष तलमाथि पर्न सक्ने पनि वैज्ञानिकहरू बताउँछन् ।

अप्रिल २२ तारिख भर्खरै गयो । हरेक वर्ष झैँ यो वर्ष पनि यो दिन पृथ्वी दिवस मनाइयो । पृथ्वीलाई सम्झिने विशेष दिन हो यो । यो दिवस मनाउन थालिएको ५० वर्ष भएछ । पचास वर्षअघि अर्थात् १९७० गजबको वर्ष रह्यो । नील आर्मस्ट्रङले चन्द्रमाको धरातल स्पर्श गरेको भर्खर ६ महिना पुगेको थियो । यसको चर्चा सोनी ट्रान्जिस्टरले फैलाउँदै थियो । मानिसहरू श्यामश्वेत टेलिभिजनमा यो कुरो हेर्न रमाइरहेका थिए । वैज्ञानिक जगत्को यो उपलब्धिबाट संसार अचम्मित भइरहेको थियो । अमेरिकामा रे टम्लिनसन पहिलो इमेल पठाउने तरखरमा थिए । उता हङ्गेरीमा एकजना युवा वास्तुकलाविद् एर्नो रुबिक जादुगरी घनबट्टाको आविष्कार गर्नमा लीन थिए । जुन बट्टाको नाम नै रुबिक क्युब रहन गयो र लाखौँ केटाकेटीमा त्यसको लत बस्यो । ब्रेल प्रयोगशाला र मोटोरोला दुई कम्पनी कसले छिटो सेलफोन (मोबाइल) बनाउने भन्ने तीव्र प्रतिस्पर्धामा जुटिरहेका थिए । यो त्यही अपशोचको वर्ष पनि थियो, जुनबेला नामुद गायन समूह बिटल्स टुक्रियो । सन् १९७० को दशकमा अरू पनि थुप्रै घटना भए । एउटा बिर्सन नमिल्ने चाहिँ तेल सङ्कट थियो । जसका कारण तेल अत्यधिक महँगो भइदिँदा तेल कम खाने हल्का र सस्ता जापानी कारको विकास भयो ।

सन् १९७० अप्रिल २२ लाई स्मरणीय बनाउने श्रेय गेलार्ड नेल्सनलाई जान्छ । स्वास्थ्यकर्मी मातापिताका छोरा नेल्सनले कानुन पढे । विस्कन्सिन राज्य (अमेरिका) का गभर्नर भए । पछि लगातार तीन कार्यकाल (१९६३–१९८१) सिनेटमा निर्वाचित भए । यति धेरै लोकप्रिय उनी किन भए त भन्दा भियतनाममाथि अमेरिकी हमलाको उनी खुलेर विरोध गर्थे । नागरिक अधिकार र स्वतन्त्रताका ठूला हिमायती थिए । अनि वातावरण संरक्षणका अग्रपङ्क्तिका अभियन्ता । सन् १९६० को दशकतिर अमेरिका वातावरणीय प्रदूषणबाट ग्रस्त थियो । नेल्सनको आह्वानमा विश्वविद्यालयहरूमा अध्ययनरत दशौँ हजार विद्यार्थी सडकमा आए । त्यसमा लाखौँ जनता थपिए । अमेरिकाभरि फैलिएको त्यो महाअभियानमा दुई करोड मानिसले भाग लिएका थिए । संयोग, त्यस दिन रुसी क्रान्तिका नायक भ्लादिमिर लेनिन (जन्म अप्रिल २२, १८७०) को शतवार्षिकी पनि परेको थियो ।

यो पनि पढ्नुहोस  गौचन हत्यामा संलग्न थप ३ जना पक्राउ, ३० वर्ष कैद सजाय माग !

पृथ्वी दिवसका संयोजक भने डेनिस हेज थिए । उनी स्ट्यानफोर्ड विश्वविद्यालयमा विद्यार्थी युनियनका अध्यक्ष थिए । सिनेटर गेलार्ड नेल्सनको प्रस्तावमा उनी त्यस महाअभियानको संयोजकमा चुनिएका थिए । स्वच्छ पृथ्वी बनाउने जिम्मा युवापुस्तालाई सुम्पनु थियो । इतिहास विषयका छात्र डेनिस त्यतिखेर २६ वर्षका थिए ।

पृथ्वी दिवस मनाउन थालिएको ५० वर्षमा पृथ्वीले आफ्नै सन्तति मानिसका अनेक रूप देखिसकेको छ । वैध–अवैध क्रियाकलाप, गर्भभित्रका प्राकृतिक स्रोतहरू निचोरेर निकाल्नु, आफ्नो समृद्धिका निम्ति बाँकी सबै प्राणीको वासस्थान मास्ने विकास योजना आदि मानिसका पृथ्वी मास्ने अनेक रूप हुन् । मानिस न इतिहास सम्झिन्छ न भविष्यको आँकलन गर्छ । यी सबै यत्न देखेर पक्कै पनि पृथ्वी हायलकायल छ । तैपनि हामीले पृथ्वी दिवस मनाउन छाडेका छैनौँ । अहिले यो दिवस विश्वका १९२ देशले मनाउँछन् । विश्वभरिका एक अर्बभन्दा बढी मानिस यस कार्यमा सरिक हुन्छन् । जलवायु परिवर्तनसम्बन्धी सन् २०१६ को ऐतिहासिक पेरिस सम्झौता यही दिवसका दिन सम्पन्न भएको थियो । सन् १९९७ देखिको क्योटो प्रोटोकलमा आनाकानी गर्दै आएको अमेरिकाका प्रतिनिधि जोन
केरीले त्यस दिन आफ्नै नातिनी बोकेर सम्झौतामा हस्ताक्षर गरेका थिए ।

यस वर्ष पृथ्वी दिवसको नारा ‘क्लाइमेट चेन्ज एक्सन’ राखिएको थियो । वर्षको प्रारम्भबाटै कोभिड–१९ को महामारीले पृथ्वीभरिका मानिसलाई गाँजेपछि जलवायु परिवर्तनको कार्यबाट मोडिएर आफैँतर्फ सोझिएको छ । विश्व स्वास्थ्य सङ्गठनले मार्च ११ मा यस महामारीलाई वैश्विक महाव्याधि भनेर घोषणा गरेपछि विश्वका अधिकांश राष्ट्र बन्दाबन्दीको अवस्थामा गएका छन् । यस्तो अनुमान गरिन्छ कि अहिले विश्वका एकतिहाइ अर्थात् साढे दुई अर्बभन्दा बढी मानिस घरभित्र आफैँ थुनिएर बसिरहेका छन् । सडकहरु खाली छन् । एकतिहाइ सडक मात्र खाली रहे त्यसको लम्बाइ १५ लाख किलोमिटर हुन आउँछ । त्यसमा गुड्ने ४० करोड गाडी ग्यारेजमा थन्किएका छन् । रेल सेवाहरु पनि बन्द गरिएका छन् । भारतमा मात्रै प्रत्येक दिन १९ हजार रेल तेज गतिमा कुद्ने गर्थे । बन्दाबन्दीले ती सबैबाट हुने जमिनको कम्पनलाई रोकेको छ । उद्योग कलकारखाना पनि ठप्प छन् । तिनबाट पैदा हुने कम्पन पनि ऋणात्मक भएको छ । सडक खन्ने सबैखाले डोजर, खेत सम्याउने ट्रयाक्टर, धावनमार्गहरूमा अवतरण गर्ने ३९ हजार हवाईजहाज पनि अधिकांश एप्रोनमा उँघिरहेका छन् । करोडौँ मानिसको आवतजावत, तिनको उफ्राइ, दौडाइ सबै घटेका छन् । बेल्जियमस्थित वेधशालाका वैज्ञानिक के भन्दछन् भने यो बन्दाबन्दीको अवस्थामा मानिसका कारण हुने धरतीको कम्पन कम्तीमा एकतिहाइले घटेको छ । वैज्ञानिककै भाषामा भन्नुपर्दा जमिनको विस्थापन गत फेब्रुअरीमा ६० नानोमिटरभन्दा माथि थियो, बन्दाबन्दीको घोषणा भएपछि मार्चमा २० नानोमिटर आसपास झर्यो । फाइदा के त भन्दा भूकम्पका मसिना कम्पनहरू पनि अब नाप्न सकिने भएको छ । नत्र मानवीय कम्पनका कारण ती छुट्याउन मुस्किल पर्दथ्यो ।

यो पनि पढ्नुहोस  यस्तो बन्दैछ नयाँ पाठ्याक्रम

आकाश पनि अहिले सफा भएको छ । धुलो धुवाँमा उल्लेखनीय ह्रास आएको छ । स्वीस प्राविधिक कम्पनी आईक्यू एअरका अनुसार विश्वका प्रमुख सहरहरूको वायु प्रदूषण ६० प्रतिशतले घटेको छ । मानिसको फोक्सोको भित्री तहसम्म पुग्नसक्ने र रक्तनलीहरूमा पनि पस्न सक्ने पीएम २.५ का सूक्ष्म कणहरूमा ह्रास आएको छ । हालै अध्ययन गरिएका सहरहरू नयाँ दिल्ली, सोल, वुहान र मुम्बईमा यी कणहरू उल्लेखनीय रूपमा ह्रास आई त्यहाँको वायुमा उल्लेखनीय सुधार आएको जनाइएको छ । विश्व स्वास्थ्य सङ्गठनको अनुमान छ कि वायु प्रदूषणका कारण विश्वमा बर्सेनि ७० लाख मानिसको ज्यान जाने गर्छ अर्थात् महिनामा झण्डै ६ लाख । जुन कोरोना भाइरसको कारण भइरहेको हताहतीभन्दा कैयौँ गुणाले बढी हो । कोरोना भाइरस सङ्क्रमण फैलिएपछि चार महिनामा विश्वभरि करिब दुई लाख मानिसको ज्यान गएको छ । बन्दाबन्दीका कारण वायु प्रदूषणमा कमी आएको छ । यसले कोरोना भाइरसबाट हुने सङ्क्रमणलाई पनि कमजोर बनाएको अनुमान गर्न सकिन्छ ।

यातायातका साधन ठप्प हुँदा हरितगृह ग्यास उत्सर्जनमा उल्लेख्य कमी आएको छ । गत फेब्रुअरी र मार्चतिर चीनमा बन्दाबन्दी हुँदा कार्बोन डाइअक्साइडको उत्सर्जन १८ प्रतिशतले घट्यो । जसको कुल मात्रा भनेको २५ करोड मेट्रिक टन हुन्छ । त्यस्तै, युरोपेली सङ्घ (ईयू) मा यस एक महिनामा झन्डै ४० करोड मेट्रिक टन कार्बोन डाइअक्साइडको उत्सर्जन घटेको छ । जुन उसको सन् २०१९ को लक्ष्यको ९ प्रतिशत हो । अमेरिकामा बन्दाबन्दीको आफ्नै पद्धति देखियो । कोरोना भाइरसको त्रासले सडकमा गुड्ने सवारी साधनहरूको सङ्ख्यामा उल्लेख्य कमी आएकाले त्यहाँ पनि कार्बोन डाइअक्साइडको उत्सर्जन घटेको सहज अनुमान गर्न सकिन्छ । अनुमान यस्तो छ कि अमेरिकामा यातायातका साधनबाट बर्सेनि १.९ अर्ब टन कार्बोन डाइअक्साइड निस्कन्छ र त्यहाँ यात्रुवाहक सवारी ६० प्रतिशत छ । हरितगृह ग्यास उत्सर्जनमा चासो नदेखाइरहेको ट्रम्प प्रशासनमा कार्बोन डाइअक्साइड घटाउन कोरोना भाइरसको त्रास उपयुक्त भएको छ । त्यसैले होला अमेरिकामा हालै त्यहाँको सामाजिक सञ्जालमा एउटा सन्देश भाइरल बन्यो, ‘तु. भाडामा चाहियो ः जलवायु परिवर्तन रोक्न कोरोना भाइरस प्रचारक ।’

यो पनि पढ्नुहोस  अख्तियारको दुरुपयोग गर्दै डोलिडारका महानिर्देशकको मनपरी

त्यसो भए कोभिड–१९ को कहरबीच पृथ्वी दिवसको सन्देश के हुनसक्छ ? सन्देश धेरै होलान् तर अहिले तीनवटा बँुदामा यसलाई अथ्र्याउन सकिन्छ । पहिलो सन्देश हो, मानिसलाई प्रकृति चाहिने हो, प्रकृतिलाई मानिस चाहिएको होइन । पृथ्वीसित मानिसले सम्झौता होइन, स्वीकार गर्नुपर्छ कि प्रकृतिमा मानिसको हैसियत एउटा सामान्य प्राणी हो, सर्वश्रेष्ठ भन्ने सिकाइ गलत रहेछ । आफ्नो उदयको दुई लाख वर्षमा मानिसले हासिल गरेको विवेकलाई प्रकृतिको रहस्य र प्राकृतिक नियमहरू बुझ्नमा केन्द्रित गर्नुपर्छ (स्मरण होस् मानिसले आगोको आविष्कार गरेको करिब दुई लाख वर्ष भएको छ) । प्रकृतिको रहस्य र प्राकृतिक नियमहरू बुझ्ने विधि भनेको वैज्ञानिक विधि हो । अर्थात् आफ्नो निष्कर्षमाथि प्रश्न, सन्देह र लगातारको अनुसन्धान क्रियाशीलता । यसकारण, राज्यहरूको प्राथमिकता वैज्ञानिक अनुसन्धान, प्रविधि विकास र नवप्रवर्तनमा हुनुपर्दछ ।

दोस्रो सन्देश हो, हाम्रो शिक्षा र तालिममा अब आमूल परिवर्तनको खाँचो छ । विपत्हरू सामना गर्न मौजुदा शिक्षण पद्धति र तालिम असफल भए । केही अपवादलाई छाडेर हाम्रा अधिकांश विश्वविद्यालय, अनुसन्धानशाला र प्राज्ञिक निकाय कोभिड–१९ जस्तो वैश्विक महामारीका बखत पनि मौन साँधेर बसिरहे । माथिको आदेश पर्खिरहे । विपत्को बेला स्वतःस्फूर्त निस्कनुपर्ने तदारुकताको भावना र नवप्रवर्तन तिनमा मौलाउन सकेन । प्रशासनिक निर्णय र व्यवस्थापकीय पक्षमा देखिएको सुस्तता पनि यही घोकन्ते शिक्षण पद्धति र त्यसैलाई प्रश्रय दिने खालको परीक्षा प्रणालीको प्रतिविम्ब मात्र हो ।

तेस्रो सन्देश हो, विश्वमा कोही पनि मानिस अलग छैन । प्रत्येकको भूमिका छ । कोरोना भाइरसको सङ्क्रमणबाट मानिस बस्ने कुनै भूगोल, उसले निर्माण गरेका कुनै पनि सामाजिक वा आर्थिक वर्ग र धार्मिक सम्प्रदायहरू बचेका छैनन् । बरु यी मानवनिर्मित प्रणालीहरू र तिनबाट परिपोषित धार्मिक अन्धविश्वास, कुरीति र कुसंस्कारहरू कोभिड–१९ को शीघ्र समाधानमा बाधक भएका छन् । हामीहरू कोरोना भाइरसबाट होइन आफ्नै अवैज्ञानिक परम्पराबाट अभिशप्त छौँ । तैपनि मानिसहरू कोरोना भाइरसलाई आफ्नो वैरी देखिरहेका छन् । विज्ञान र दर्शनको आँखामा मानिस र कोरोना भाइरस दुवै प्रकृतिका सन्तति हुन् । एकै जननीका सन्तानहरू कसरी वैरी हुन सक्दछन् ? बरु यसो भन्न सकिन्छ, यस महाव्याधिको युद्धमा मानिसको शत्रु उसले त्याग्न नसकिरहेको अन्धविश्वास हो, वैज्ञानिक अनुसन्धानप्रतिको बेवास्ता हो र प्राज्ञिक क्षेत्रकै पनि सुस्तता हो ।

२०,बैशाख.२०७७,शनिबार ०८:३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: