‘थाप्लोमा टिनको बाकस र काखमा बच्चा बोकेर बोर्डरको लाइनमा उभिएका महिलाको अनुहारमा कति पीड़ा होला’

हामी तिनलाई व्यक्ति होइन, एउटा जीवनको कारुणिक कथा होइन, हूल देख्छौं

नारायण गाउँले, बेलायत

यो प्रचण्ड गर्मीमा सयौं किलोमिटर हिँड्दा हिँड्दै गलेर हाम्रा मजदुरहरू बोर्डरमैं ढल्न थाले । बोर्डर पार गर्न सफल हुनेहरू क्वारेन्टीन भन्ने ठाउँसम्म आइपुग्दा नपुग्दै अस्ताउन थाले । आज पनि भारतबाट डडेल्धुराको क्वारेन्टीनसम्म आइपुगेकी ३० वर्षीय महिला घरको आँगन टेक्न नपाई बिदा भइन् भन्ने खबर आयो ।

कति कष्ट, कति जोखिम र कस्तो कठोर परिस्थितिमा होलान् भारतमा श्रम गर्न बाध्य हाम्रा लाखौं मजदुरहरू !
थाप्लोमा टिनको बाकस र काखमा बच्चा बोकेर बोर्डरको लाइनमा उभिएका महिलाको अनुहारमा कति पीड़ा होला ? न तिनलाई माटोले खुलेर स्वागत गरेको छ, न कसैले दुई शब्द सम्मानपूर्वक सोध्छ । न काखको बच्चामाथि करुणा राखेर कसैले एक मुठी दूध दिन्छ । हामी तिनलाई व्यक्ति होइन, एउटा जीवनको कारुणिक कथा होइन, हूल देख्छौं । हूलको एउटा हिस्सा देख्छौं । हूललाई कसले सम्मान गरोस् ?

आत्मसम्मान र माटोको माया त तिनले पाएनन्, आधिकारिक सूचना पनि तिनले पाउँदैनन् । कहिले कसरी र कहाँबाट सुरक्षित नेपाल प्रवेश गर्ने भन्ने सूचनासम्म पाएको भए तिनले हजारौंको भीड़को हिस्सा बन्नु पर्दैनथ्यो । हामी पनि बोर्डरबाट पस्ने अव्यवस्थित हूल देखेरे तर्सिनु पर्दैनथ्यो । धेरै मजदुरलाई बोर्डरको लाइनमा बस्दा बस्दै सङ्क्रमण भएको होला ।

हाम्रो प्रमले त तिनलाई बोर्डरमा होटेल नै बुक गरेको तर ती त्यसमा नबसेर बोर्डरमा उपद्रव मच्चाउन आएको जस्तो बयान दिनुभो । होटेल नै बुक भएको सुनेपछि अरू पनि बोर्डरसम्म आउने नै भए । तर हजारौं नागरिकलाई कुन होटल कतिमा कसलाई बुक गरिएको थियो भन्ने कसैलाई थाहा भएन । अपमान, भोक र तिरस्कार सहेर ती बोर्डरमा धेरै दिन खुला आकाशमुनि बस्न बाध्य भए । अहिले पनि कसैसँग सही सूचना छैन । छ त अन्योल, अव्यवस्था र सन्त्रासमात्रै । पस्नेहरू पसेकै छन्, रोकिनेहरू रोकिएकै छन् ।

यो पनि पढ्नुहोस  गरिब पिछडीएको अपहेलितः मधेस कि पहाड ?

५०-६० हजार ऋण खोजेर विदेश जान सक्नेहरू प्रायः भारतमा मजदुरी गर्न जाँदैनन् । त्यही ५० हजार पनि कसैले ऋण नपत्याउनेहरू त्यहाँ पुग्छन् । दिनहुँ बहादुर, डोट्याल, दरबानजस्ता अपमानका शब्दहरू घुटुघुटु पिउँछन् । न पेन्सन छ, न सामाजिक सुरक्षा छ, न न्यूनतम तलबको ग्यारेन्टी छ, न काम सधैँ पाइन्छ भन्ने छ, न बिरामी हुँदा उपचारको सुनिश्चितता छ । एकपल्ट बिरामी भए पाँच वर्षको कमाइ स्वाहा हुन सक्छ ।

कम्तिमा सङ्कटको बेला देश र सरकार छ भन्ने विश्वास सबैलाई हुन्छ । अहिले त तिनको त्यो विश्वास पनि साह्रै पातलो होला । काम गर्ने ठाउँमा अभाव, अपमान र भोक थियो । बाटोभरि भोक र थकान थियो । बोर्डरमा तिरस्कार र त्रास थियो । केही गरी छिर्न सफल हुनेहरू पनि तिनीहरू आफैमा कोरोनाभाइरस हुन् कि झैँ पत्रिकामा पोतिएका छन् । गाउँमा झन् ठूलो अस्वीकार र तिरस्कार कुरेर बसेको छ । गौंडाहरू थुनिएका छन् । शरीर रोग र भोकले थकित छ, गलित छ । केही गरी घरको आँगन टेक्न सकियो भने पनि भोलि के खाने भन्ने अर्को चिन्ता त बाँकी नै छ ।
धन्न तिनको घरमा टेलिभिजन छैन र पत्रिका त्यहाँसम्म पुग्दैन । नत्र विश्व नै चकित पर्ने समृद्धिका खबर सुनेर ती पनि चकित पर्दा हुन् ।

२१,जेष्ठ.२०७७,बुधबार २१:४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: