रौतहटको राजपुरमा मात्रै २१८ संक्रमित, भएन निषेधाज्ञा पालना

नेपाली जनता

रौतहट । शुक्रवार रौतहटमा कोरोना भाइरस (कोभिड १९) का ८६ संक्रमित थपिए । थपिएका ८६ मध्ये ८५ जना राजपुर र १ जना परोहा नगरपालिकाका थिए । संक्रमण पुष्टि भएका ८६ जनासँगै रौतहटमा कोरोना संक्रमितको सँख्या ६१७ पुगेको छ ।

रौतहटको राजपुरमामात्रै संक्रमितको संख्या २१८ पुगेको छ । राजपुर रौतहटको सबैभन्दा बढी संक्रमित भेटिएको पालिका बनेको छ ।

एक साता अगाडिसम्म संकलन गरिएको ११ सय जनाको स्वाबमध्ये ६०० जनाको परीक्षणको गर्दा ८५ जनामा संक्रमण पुष्टि भएको राजपुर नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले बताए ।

हालसम्म राजपुरका २ हजार १ सय जनाको स्वाब परीक्षण गर्दा २१८ संक्रमित भेटिएका हुन् । ‘राजपुर वडा नं. ६ र ३ मा रहेको मदरसाको क्वारेन्टिनमा रहेकामध्ये ८५ जनामा शुक्रबार संक्रमण पुष्टि भएको हो,’ राजपुर नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत ठाकुरले भने, ‘पालिकाका २२ क्वारेन्टिनमा अझै पनि २ हजार ५ सय जना छन् । पालिकाले स्वाब परीक्षणको लागि आफैंले ३ हजार थान भिटिएम खरिद गरेको छ ।’ संक्रमण पुष्टि भएका सबै भारतबाट फर्किएर क्वारेन्टिनमा बसेकाहरु छन् ।

भारतका विभिन्न सहरहरुबाट राजपुर फर्किने क्रम अझै रोकिएको छैन । शुक्रवार साँझसम्म भारतीय सहरबाट आएका ५० जना राजपुरको क्वारेन्टिनमा आएका छन् । ‘क्वारेन्टिनमा रहेका सबैको स्वाब परीक्षणका लागि नगरपालिकाले काम गरिरहेको छ,’ अधिकृत ठाकुरले भने, ‘परीक्षणको नतिजा ढिलो आउँदा क्वारेन्टिनमा समेत समस्या बढेको छ । क्वारेन्टिनमा लामो समयसम्म बस्दा पनि नतिजा नआएपछि पटक–पटक विरोध र स्वास्थ्यकर्मीमाथि समेत आक्रमण भएको छ ।’

भएन निषेधाज्ञा पालना

रौतहटको राजपुर र इशनाथलाई जिल्ला प्रशासन कार्यालयले सिल गरेर निषेधाज्ञा जारी गरे पनि त्यसको कुनै प्रभाव परेको छैन । जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञाको पालना हुन नसक्दा सो क्षेत्रका समुदायमा संक्रमण फैलने खतरा छ ।

यो पनि पढ्नुहोस  रोकियो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम

राजपुरलाई पूर्णरुपमा सिल गरेर परीक्षणको कार्यलाई तीव्र बनाउन आफूहरुले अनुरोध गर्दा पनि प्रशासनबाट सुनुवाइ हुन नसकेको भन्दै ठाकुरले असन्तुष्टि व्यक्त गरेका छन् । ‘प्रशासनले सिल गरेको भन्ने कुरा कागजमा मात्रै सीमित छ,’ उनले भने, ‘सरकार गम्भीर भएर यस क्षेत्रमा कडाइ नगर्ने हो भने संक्रमण अझै तीव्र रुपमा बढ्न सक्छ ।’

३१,जेष्ठ.२०७७,शनिबार १३:१२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: