नेकपा संसदीय दलको बैठकमा गएनन् मुख्यमन्त्री , ६१ मध्ये २० सांसद मात्रै उपस्थित

नेपाली जनता

बुटवल । रुपन्देहीलाई औद्योगिक एवं पर्यटकीय हब बनाउने प्रतिबद्धता जनाएर प्रदेश ५ सरकार दाङको देउखुरी क्षेत्रलाई स्थायी राजधानी तोक्न गरेको प्रस्ताव पारित गराउने कसरतमा लागेको छ ।

उक्त प्रस्तावसहित बैठकमा नोट अफ डिसेन्ट लेखेका प्रदेशसभा सदस्यहरुसँग बिहानैदेखि गुट गुटमा बैठक बसिरहेका छन् । नेकपा प्रदेशसभा सदस्य विष्णुप्रसाद पन्थीले रुपन्देहीलाई औद्योगिक एवं पर्यटकीय हबसहित केही विकासका नयाँ मोडल सार्वजनिक गरेर राजधानी दाङ लैजाने प्रस्तावबारे छलफल भइरहेको बताए । ‘सानो–सानो समूहबीच छलफल चलेको छ,’ उनले भने, ‘निष्कर्ष भने निस्केको छैन ।’ पन्थीले यसअघि दाङमा राजधानी लैजाने प्रस्तावविरुद्ध लिखित असहमति जनाएका थिए ।

राजधानी सार्ने तर रुपन्देहीको विकासका लागि ठोस काम गर्ने सहमति जुटाउन सोमबार बिहान ७ बजे नेकपा संसदीय दलको बैठक बोलाइएको थियो । लुम्बिनी क्षेत्रका प्रदेशसभा सदस्यले असहमति जनाएपछि बैठक अझै सुरु हुन नसकेको हो । नेकपा प्रमुख सचेतक भूमिश्वर ढकालले भने प्रदेशसभा सदस्य नआएका कारण बैठक सुरु गर्न नसकेको बताए । ‘यद्यपि असहमतिमा सहमति जुटाउन गरी हामी छलफलमै छौं,’ उनले भने ।

सर्वदलीय बैठक पनि सुरु भएन

नेकपाले सर्वदलीय सहमतिका लागि भन्दै बिहान ८ बजे सर्वदलीय बैठक बोलाएको थियो । सबै दल उपस्थित नभएपछि उक्त बैठक पनि अहिलेसम्म सुरु भएको छैन । नेपाली कांग्रेसले आइतबारको बैठकमा राजधानी सार्ने विषयमा केन्द्रीय नेताहरुसँगै छलफल गरेर निष्कर्ष निकाल्न आग्रह गरेको थियो । केन्द्रमा त्यसबारेमा छलफल नभएपछि कांग्रेस नेता बैठकमा आउन ढिलाइ गरेका हुन् । नेपाली कांग्रेसका सचेतक निर्मला क्षेत्रीले संसदीय दलका नेता आउँदै गरेको र केही बेरमा बैठक बस्ने बताइन् ।

कांग्रेसले समेत बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको थियो । सहमति नजुटेपछि उक्त बैठक समेत अझै सुरु भएको छैन । प्रदेशसभाले भने दिउँसो १२ बजे प्रदेशसभा बोलाएको छ । जसमा सरकारले लगेको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची छ ।

१९,आश्विन.२०७७,सोमबार १०:२१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: