विद्या भण्डारी ‘आँसु’को मनको धून

दुर्गाकिरण तिवारी

लेखिका विद्या भण्डारी ‘आँसु’को मनको धून मुक्तकसङ्ग्रह विमोचन भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा.जगतप्रसाद उपाध्याय र डा. भरतकुमार भट्टराई वशिष्ठ तथा सधैं एउटा असल मान्छे भएर बाँचेका कवि विधान आचार्यको आतिथ्यमा यो पुस्तक विमोचन सम्पन्न भएको हो ।
यस कार्यक्रमको व्यवस्थापनमा खटिनु भएको थियो कवि दुर्गाकिरण तिवारी । दुर्गाकिरणको नाम यसकारण महत्वपूर्ण छ कि उहाँ सधैं नवलेखिका, उदीयमान लेखिकाहरुलाई पढ्न, लेख्न प्रेरित गरिरहनु हुन्छ । प्रकाशक मोहनबहादुर केसीको सभापतित्वमा भएको यो भव्य कार्यक्रममा लेखिकाले सम्पादक तथा लेखक राजन कार्की र कवयित्री दुर्गाकिरण तिवारीलाई दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । यो कार्यक्रमको विशेषता के थियो भने कार्यक्रममा पितामाता तुल्य दम्पत्तिलाई निम्त्याउनु भएको थियो । मातापिताले छोरीलाई टीका लगाएर दक्षिणा दिने संस्कार पनि पूरा गरिएको थियो । पुस्तक विमोचनमा यस प्रकारको नेपाली संस्कारको विशेषता रहेको र यो नै पहिलो भएकोले सबैले हरेक कार्यमा सन्तानले यस्तो संष्कार बसाल्नुपर्नेमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा.जगतप्रसाद उपाध्यायले जोड दिनुभएको थियो । पुस्तकमा समेटिएका मुक्तकहरु बेजोड रहेको उहाँको अनुभूति थियो । लेख्दै गए, अरु राम्रा मुक्तक पढ्न पाइने बताउनुभयो ।

डा.भरतकुमार भट्टराईले मुक्तकसङ्ग्रहमा छिटफूट व्याकरणीय कमजोरी औंल्याउँदै समष्टिमा पुस्तक सारगर्भित र सवल रहेको बताउनु भयो ।
कवि विधान आचार्यको विश्लेषण गजबको थियो । मुक्तक लेखन साह्रै गाह्रो विधा भएको बताउँदै नेपालमा हिन्दी शायरयाना अन्दाजबाट प्रभावित भएर लेख्ने गरिएको छ । तर यो मनको धून मुक्तकसङ्ग्रह नेपाली लोकभाकाबाट प्रभावित भएकाले यो लेखन नितान्त नेपालीपनमा छ । यसरी लेख्दै जाने हो भने लेखिका विद्या भण्डारी वाङ्मयमा स्थापित हुन सक्नुहन्छ । वास्तवमा कवि विधान आचार्यको टिप्पणी मुक्तक लेखनमा लागेकाहरुलाई टिप्सका रुपमा लिन सकिन्छ ।

कवि दुर्गाकिरण तिवारीले लेखिका विद्यालाई हर समय घचघच्याइरहेको, चिमोटीरहेको र लेख्नका लागि अध्ययन जरुरी छ भनेर डोरयाइरहेको र त्यसैका कारण यो पुस्तक सार्वजनिक हुनसकेको अनुभव सुनाएर विद्यालाई अरु लेखनमा लाग्न प्रोत्साहित गर्नुभयो ।
लेखिका विद्या भण्डारीले उपस्थित हुनुभएर हौसला बढाइदिनु भएका सबैप्रति आभार प्रकट गर्दै सबैलाई धन्यवाद दिनुभएको थियो भने पुस्तक प्रकाशनमा ल्याउन प्रकाशक रत्न सागर प्रकाशनलाई जुटाइदिने र मुक्तकहरु संकलनदेखि प्रकाशनसम्मको सहयोग गर्नुभएका गोरखा एक्सप्रेसका सम्पादक राजन कार्कीलाई विशेष धन्यवाद भन्नु भएको थियो ।
सम्मानित भएपछि सम्पादक राजन कार्कीले भन्नुभयो–
सम्मानका लागि धन्यवाद ।

यो पनि पढ्नुहोस  कपिलवस्तुमा स्रोत नखुलेको रु १६ लाखसहित एक जना सशस्त्र प्रहरीको नियन्त्रणमा

छोरी गौरव हुन्, भार होइनन् ।
मातापिताप्रति गौरव गरौं, सन्तानको कर्तव्य नभुलौं ।
यति भनेपछि पुस्तकभित्रका दुई मुक्तक पढ्नु भयो र गम्भीर भएको माहोल तताउँदै पुस्तकभित्र रहेका ‘माया, पिरती’का सन्दर्भको जवाफ दिंदै आफूले तत्काल लेखेका दुई मुक्तक वाचन गर्नुभएको थियो–

छमछमी पाउजु बज्छ हेर्छु कुनै पाउ छैन
छातीभित्र पोलिरहन्छ हेर्छु कुनै घाउ छैन
जत्ति जरजर भए पनि तिर्खा अझ बढ्दोरैछ
तिर्सनाको खोली हेर्छु तार्ने कुनै नाउ छैन ।

आधा मटु उनले लगिन्, आधा लिएर आएको छु
आधा मनलाई बुझाउन, आधा पिएर आएको छु
कोही त होलान् सहलाउने मनकारी मन भएका
अधमरो म सग्लो–सग्लो आधा खिएर आएको छु ।

गोरखा एक्सप्रेसले सधैं वाङ्मय श्रीवृद्धिका लागि स्थापितदेखि नवलेखिकाहरुका रचना प्रकाशित गर्दै आएको छ । धेरैले सिक्दै गएका छन्, धेरै खारिदै र लेख्न पारङ्गत हुनथालेका छन् । त्यसैको अर्को प्रतिफल हो यो आँसुको धून मुक्तकसङ्ग्रह ।
कोरोनाको कहरले साहित्य लेखनमा उत्साह थपिएको छ । धेरै कृतिहरु लोकार्पण भइरहेका छन् ।

४,फाल्गुन.२०७७,मंगलवार २१:३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: