ओ ढोँगी मान्छे

दूर्गा किरण तिवारी

ओ ढोँगी मान्छे ! धरामा उभिएर
सृष्टिमा अंकुरित प्रेमभित्र वासना नघोल
प्रेमलाई चुनौती नदेऊ
स्वार्थका लागी चुडिने गुलाफसंग
दाज्दै नदाज प्रेमलाई
धराको शीतल स्पर्शबाट न अलग्याउनू
न लगाऊ आँखा कुकुनाहरूमा
र न कुल्च आँकुराहरूलाई
टुसाउन देऊ बेफिक्री खिलखिलाउन
रमाउँन देऊ हरेक ॠतुहरूमा।

ओ ढोँगी मान्छे !
आँखामा बसेका तृष्णामा
कपटी आसक्ति मिलाएर कसै नपठाऊ
तिम्रो आसक्तिको र्यालमा
म विषालु वासनाको ताप देख्छु
मेरा हृदयमा ठोक्किएर झिल्का निक्लन सक्छन्
दन्किन सक्छ ज्वालामुखी
जहाँ तिमीलाई निल्न सक्छन् लाभाहरूले ।

ओ ढोँगी मान्छे !
धकेल्न खाल्डोमा प्रेमको चिहान खन्दै
कपट र आसक्तिमा अन्तर्घातका बीऊ नरोप
अस्मितालाई खरानी बनाउन कतै प्रयास नगर
किनकि म आगो हुँ, नदी हुँ
अझै भनुँ- म धर्ती हुँ, आँधी हुँ
र म अनन्त आकाश हुँ
बेलैमा चिनिराख मलाई ।

ओ ढोँगी मान्छे !
पिल्सिएपछि लाभाहरूमा
हुत्याइएपछि आँधी र सुनामीहरूमा
तिमी खरानी हुनेछौ
मेरो अस्तित्व बिना
तिमी उभिन टेक्न सक्नेछैनौ आफैँ
मेरा उदरका सागरमा तिमीलाई हुर्काएर
म स्वयंले तिम्रो सृजना गरेकी हुँ
त्यसैले त धर्मराउदै सम्झिनेछौ आफैं
तिमी हुनुको तिम्रो अस्तित्व, तिम्रो पहिचान
म बिना स्थापित गरेर देखाऊ
ओ ढोंगी मान्छे !
यत्ति बुझ्नू कि म सिङ्गो ब्रह्माण्ड हुँ ।

यो पनि पढ्नुहोस  बेलायतको अल्डरसटमा चर्च किनेर शिव मन्दिर,रविजंग लामिछानेले २१ लाख रुपैयाँ चन्दा दिए
५,फाल्गुन.२०७७,बुधबार १०:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: