यसरी अस्ताए समाजसेवाका एउटा नक्षेत्र मित्रसेन

नेपाली जनता

काठमाडौँ । बिहान ९ बजे घरमा गाडी तयार थियो । कोट लगाएर आउँछु भनेर उनी भित्र पसे । तल झर्दा सवा ९ भएको थियो । एकाएक रिंगटा लाग्यो भने । गाडीमा चढ्न नभ्याउँदै उनी भुइँमा ढले । कपनस्थित घरबाट तीन जनाले हतार–हतार उनलाई ओम अस्पताल पुर्‍याए तर उनी फेरि उठेनन्  ।

ओखलढुंगामा जन्मेका ५८ वर्षीय मित्रसेन दाहाल तिनै व्यक्ति हुन्, जसले काठमाडौंदेखि २३ किमिपूर्व शंखरापुर नगरपालिका–४ स्थित लप्सीफेदीमा भव्य मैत्री सेवा आश्रम बनाइरहेका थिए ।

राजनीतिलाई समाज सेवासँग जोड्ने बिरलै नेतामा उनी पर्छन् । राजनीतिमा उनी बाल्यकालदेखि नै लागे । खासगरी कांग्रेसले घोषणा गरेको २०४२ सालको सत्याग्रह आन्दोलनताका पञ्चायती शासकले उनलाई जिल्लामा टिकिबस्न दिएनन् । उनी आफ्नो थातथलो छाडेर काठमाडौं आए । सत्याग्रहका बेला तीन महिना जेलसमेत बसे । राजनीतिमा उनी धेरै सफल हुन सकेनन् । ओखलढुंगा कांग्रेसको जिल्ला सचिव र २०७४ को निर्वाचनमा कांग्रेसबाट प्रदेश ‘क’ को उम्मेदवार भए । सांसद बन्न नसकेकामा उनलाई कुनै पछुतो थिएन, बरु मानव सेवा आश्रमलाई देशकै नमुना बनाउने उनको चिन्ता भने सदावहार थियो ।

उनले बिहीबार मात्रै जेपी प्रतिष्ठानकी आजीवन सदस्य धनदेवी भण्डारीले आश्रम निर्माणका लागि दुई लाख सहयोग गरेकामा लामो पृष्ठभूमिसहित बधाई दिएको स्टाटस फेसबुकमा राखेका थिए । शनिबारै उनले आश्रममा बैठकसमेत राखेका थिए । भाइ नाताका लेखनाथ दाहालका अनुसार उनले गंगालालमा मुटुको परीक्षण गरेर शुक्रबारै आश्रम जाने बताएका थिए । ‘तिमीहरू भोलि बिहान खाना उहीं खाने गरी आओ, म आजै जान्छु भन्नुभएको थियो,’ उनले भने, ‘थप ४६ वटा कोठा बनाउनेबारे छलफल गर्न बैठक बोलाउनुभएको थियो ।’

४२ रोपनी क्षेत्रफलमा फैलिएको आश्रममा अहिलेसम्म साना–ठूला गरी ३५ वटा भवन बनिसकेका छन्, जसमा ६० जना बढी वृद्धवृद्धा बस्छन् । पूर्ण क्षमतामा चल्दा आश्रममा डेढ सय ज्येष्ठ सदस्य राख्न सकिन्छ । काठमाडौंको धूलोमैलोबाट अलि टाढा रमणीय वातावरणमा बनेको आश्रम सुविधासम्पन्न छ । त्यहाँ बस्ने वृद्धवृद्धाले आश्रममै उत्पादन गरेको अर्गानिक तरकारी खान पाउँछन् ।

यो पनि पढ्नुहोस  टिचिङमा कलेजो प्रत्यारोपण सुरु

गाईको दूध खुवाउन गाई फार्म छ । शुल्क तिरेर आश्रममा बस्न सकिन्छ । बाँचुन्जेल बस्छु भन्ने कतिले एक बेड रुमको ‘ब्लक’ किनेर बस्ने गरेका छन् । एक बेड रुम, किचन, बैठक हल र भित्रै शौचालय भएको ब्लक छ । थोरै शुल्कमा मासिक भाडा तिरेर बस्छु भन्नेले पनि बस्न पाउँछन् । आश्रमको कोषमा एकमुष्ट रकम राखेर त्यसैको ब्याजमा बाँचुन्जेल बस्न पाउने सुविधा पनि छ । ‘पछिल्लोपटक उहाँले असहाय र दीनदुःखीहरूलाई सित्तैमा राख्नका लागि सरकारसँग हारगुहारसमेत गरिराख्नुभएको थियो, आश्रममा चिकित्सकीय सुविधा दिन अस्पताल बनाउने उहाँको सपना थियो,’ भाइ लेखनाथले भने, ‘त्यसका लागि दाता खोज्ने र सरकारसँग आग्रह गर्ने काम भइरहेको थियो ।’

जीवनमा उनी नजोडिएका क्षेत्र कमै छन् । जिल्लाबाट काठमाडौं हान्निएपछि उनले विज्ञापन एजेन्सी चलाउन सुरु गरे । २०४७ सालमा आयाम विज्ञापन सेवा दर्ता गरेर उनले एजेन्सी चलाएका थिए । त्यतिबेला धेरै एजेन्सी थिएनन् । उनी सबैभन्दा बढी विज्ञापन प्रिन्टमा दिन्थे । गोरखापत्रले उनलाई सम्मानसमेत गरेको थियो । २०५७ सालमा उनले आयाम विज्ञापन सेवालाई नेपाल प्रिन्टर्स एन्ड ट्रेडर्स सहकारी लिमिटेडमा बदले । एजेन्सीबाट निजी लाभ प्राप्त गर्दै आएका उनले त्यसपछि भने अरू सदस्यलाई पनि जोडे । मुलुकभर कार्यक्षेत्र रहने गरी स्थापना भएको सहकारीका माध्यमबाट एजेन्सी चलाए । एजेन्सीबाट प्राप्त लाभ सहकारीमा जोडिएका सबैलाई मिल्न थाल्यो । अहिले पनि सहकारी चलिरहेको छ । २०५१ सालमा राष्ट्रियस्तरको प्रतिष्ठान बनाउने अठोट लिए । सुरुमा स्कुल नजाने बालबालिकालाई पढाउने अभियान प्रतिष्ठानबाट थाले ।

२०५१ देखि २०६७ सालसम्म दूरदराजमा पुगेर दलित, उत्पीडित र विपन्नका छोराछोरीलाई वार्षिक १ हजार ५ सय छात्रवृत्ति दिएर पढाउने अभियान थाले । १० जनालाई आफैंले छात्रवृत्ति दिएर पढाए । एक हजार जनाभन्दा बढीलाई अन्य दाताको सहयोगमा स्कुलमा पढाउन थाले । २०६४ सालमा किड्नी प्रत्यारोपण गरेपछि उनी आफ्नो जीवनलाई ‘बोनस लाइफ’ भन्थे ।

त्यसपछि मैत्री सेवा आश्रमका माध्यमबाट समाज सेवामा आफूलाई समर्पण गर्ने अठोट गरेका थिए । समाज सेवाका लागि २०६८ साल वैशाखमा उनले पशुपतिमा संकल्प महायज्ञ लगाए । त्यसैमा ५५ लाख ५५ हजार रुपैयाँ बराबरको जग्गा दान गरे । त्यसबाहेक करिब २ करोड रुपैयाँ महायज्ञमा संकलन भयो । राज्यबाट १३ करोड रुपैयाँ प्राप्त भयो । आश्रमका ४९ सदस्यमध्ये २८ जनाले एक/एक लाख सहयोग हाले । त्यसबाट जग्गा किन्ने, भवन बनाउने काम भयो ।

यो पनि पढ्नुहोस  खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिकलाई घरमै गएर कोरोना खोप लगाउन सरकारको आदेश

उनको सपना अस्पतालसहितको संरचना विस्तार गर्ने थियो । आश्रम चलाउन राज्यबाट हारगुहार गरी गरिब र दीनदुःखीहरूका लागि निःशुल्क राख्ने सपनासमेत थियो । तीन वर्षअघि उनी मुटु रोगले पनि थलिएका थिए । त्यसैले ६/६ महिनामा नियमित मुटु परीक्षण गर्थे । नियमित परीक्षणका लागि बिहान सहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारी जाने तयारीमा थिए । ड्राइभरलाई गाडी रेडी बनाउनु भनेर तल झरेका उनी हृदयाघातकै कारण कहिल्यै नउठ्ने गरी अस्ताए । उनका श्रीमती, जुम्ल्याहा छोराछोरी छन् । कातिपुरबाट साभार

८,फाल्गुन.२०७७,शनिबार १०:१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: