नारी–अस्मिता खोजिरहेछु

दुर्गाकिरण तिवारी

नारी–अस्मिता खोजिरहेछु
नारी–अस्मिताको रक्षा गर्न
जीवनभर संघर्षमै होमिँदा पनि
आफू नारी हुनुको
औचित्य नबुझेकी म
नारी हुनुको अर्थ खोज्न
मेरै आफ्नाहरुका माझमा
अझै भौतारिइरहेकी छु ।
नैतिकता बेचेर
आत्मसम्मान गुमाएकाहरूको जमातमा
कहाँ पाउन सकुँला
कहिले पाउन सकुँला र
वास्तविक परिभाषा नारीको ।
आमाको वक्षस्थल नछोडेका
मेरा अबोध छोरीहरूका ओठमा
गिद्दे दृष्टि राखेर
यौवनको उन्मादसँगै
होस गुमाएर
तिनको अस्मितामाथि धावा बोल्ने
र तिनकै रगतको होलीमा रमाउने
मैले नजन्माएका नरपशुहरूका बीचमा
म नारी दिवस मनाउन विवश छु ।
आज फेरि
तिनै विवशतामा पिल्सिएका
नारीचरित्रको सम्झनाले
रुवाएको छ मलाई
सदियांैदेखि पौराणिक कथा सुनेकै हो
नारीलाई वस्तु बनाएर भोगिएका
नचाएर कथा रोचक बनाइएकै हो।
जीवनभर संस्कार र मर्यादाका नाममा
पिल्सिन बाध्य बनाइएका पात्रहरू
सीता, गोमा, सती वृन्दा, द्रौपदी
नमिता, सुनिता, निर्मला
राधादेखि कयांै छोरीहरू हुँदै
सिलसिला आज म सम्म आइपुगेको छ
कथाभित्रको दन्त्यकथा जस्तै भएका छौं
आजको नारीचिन्तनमा हामी अझै पनि ।
म भने अझै
दाह्रानङ्ग्रा देखाउने
यिनै हत्याराहरूका माझमा
नारी हुनुको अस्तित्वलाई
तराजुमा जोखिरहेकी छु
सच्चा नारी खोजिरहेकी छु ।
नारी भएर नारीलाई नै बेवास्ता गर्ने
अनि नारीकै खेदो गर्ने नारीहरू मिलेर
बिकाउ नारामा रमाउँदै
नारीदिवस मनाउने
हे मुट्ठीभर ठेकेदार्निहरू हो !
डुक्रन छोड सडकमा अब
तिम्रो कमाइखाने पात्र नबनाओ नारीलाई
आफ्नो मोजको खेलमा
सज्जनलाई नपिस, न नचाओ
खेती गर्न छाडिदेओ घिनको
पवित्र उद्देश्यले मनाइने नारीदिवसलाई
बिटुलो नपार यसरी ।
मेरा छोरीहरूको अस्मिता लुट्नेहरूलाई जोगाएर
बलात्कारी र हत्यारालाई लुकाउदै
सरकार आज मलाई
नारीदिवसको शुभकामना दिइरहेछ
उपहास गरिरहेछ
मेरो अस्तित्वको, मेरो उपस्थितिको।
लाग्छ नारीदिवस भन्ने शब्दले नै
नारीलाई गिज्याइरहेछ, तिरस्कार गरिरहेछ
किन उपहास गर्छन् यी मूर्खहरू
नारीशक्तिको आमा अनि दिदी बहिनीको
र बिर्सन्छन् चण्डी, काली,
चामुण्डा र दुर्गाको इतिहास ।
खबर्दार कुनै दिन फेरि
यिनै रूपमा नारी उत्रिनेछन् मैदानमा
यो कालरात्रीलाई चिरेर
यौनपिपासु रक्तबीजहरूको सर्वनाश गर्न
आह्वान गर्दै छु म
दुर्गा, काली र चण्डीलाई
म त्यही दिन पर्खिरहेछु
र त हरेक नारीमा
सच्चा अस्मिता खोजिरहेछु
सच्चा अस्मिता खोजिरहेछु ।।

२४,फाल्गुन.२०७७,सोमबार ०७:०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: