राष्ट्रिय अरनिको प्रज्ञा–सम्मान र राष्ट्रिय ललितकला पुरस्कार घोषणा

नेपाली जनता

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले ललितकलाको साधनामार्फत् राष्ट्रिय गौरव राख्न योगदान पुर्याए वापत दुई कलाकारलाई ‘राष्ट्रिय अरनिको प्रज्ञा–सम्मान’ प्रदान गर्ने भएको छ । बरिष्ठ कलाकार वत्सगोपाल वैद्य र प्रविणकुमार श्रेष्ठलाई सो सम्मान प्रदान गरिने भएको हो । सो सम्मान एक लाख रुपियाँ राशिको छ ।

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानद्वारा ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०७८’ को तयारी सम्बन्धमा सोमबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । नक्साल सीता भवनस्थित प्रतिष्ठानको ग्यालरीमा वैशाख २ गतेदेखि एक महिनासम्म राष्ट्रिय ललितकला प्रदर्शनी हुने जनाइएको छ ।
यस्तै, ललितकला पत्रकारिता तथा लेखनमार्फत् कला क्षेत्रको विकासमा योगदान पुर्याए वापत नविन्द्र राजभण्डारीलाई ‘राष्ट्रिय ललितकला लेखन पुरस्कार–२०७८’ र गोरखापत्र दैनिकका दीपक श्रेष्ठलाई ‘राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार–२०७८’ प्रदान गरिने भएको छ । दुवै पुरस्कारको राशि जनही २५ हजार रुपियाँ रहेको छ ।

यसैगरी, राष्ट्रिय ललितकला प्रदर्शनी–२०७८ मा प्राप्त कलाकृतिमध्ये मूल्याङ्कनका आधारमा विधागत रुपमा प्रदान गरिने राष्ट्रिय ललितकला र विशेष पुरस्कारको समेत घोषणा गरिएको छ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति तथा राष्ट्रिय ललितकला प्रदर्शनी–२०७८ मूल आयोजक समितिका संयोजक कान्छाकुमार (केके) कर्माचार्यका अनुसार, प्रदर्शनीका लागि ४७३ कलाकारका ५४३ कलाकृति प्राप्त भएका थिए । जसमध्ये ४४४ कलाकारका ४९६ कलाकृति प्रदर्शनीका लागि छनौट भएका थिए । छनोट भएका कलाकृतिको मूल्याङ्कनका आधारमा छ जनालाई राष्ट्रिय ललितकला पुरस्कार प्रदान गरिने भएको छ । जसअनुसार, अनुकुमार केसी (हस्तकला÷शिल्पकला), भाजुरत्न शाक्य (परम्परागत मूर्तिकला), तमबहादुर पुन (आधुनिक मूर्तिकला), राजकुमार रानामगर (परम्परागत चित्रकला), कृष्णप्रकाश शाह (आधुनिक चित्रकला), हरेराम यादव (लोककला) र प्रकाश पुन मगर (वास्तुकला तथा अन्य सिर्जनात्मक कला) रहेका छन् । सो पुरस्कारको राशि ६० हजार रुपियाँ रहेको छ ।

त्यस्तै, विभिन्न छ विधामा राजेन्द्र देशार (हस्तकला÷शिल्पकला), मिना थारु (हस्तकला÷शिल्पकला), रामसुन्दर त्वाटी (परम्परागत मूर्तिकला), कृष्ण गोपाल गारु (परम्परागत मूर्तिकला), राजु पिठाकोटे (आधुनिक मूर्तिकला), राजेश बराल (आधुनिक मूर्तिकला), सुन्दर श्रेष्ठ (परम्परागत चित्रकला) छेवाङ तामाङ (परम्परागत चित्रकला), राजु लामा योञ्जन (आधुनिक चित्रकला), मन गुरुङ (आधुनिक चित्रकला), राजनकुमार पन्त (आधुनिक चित्रकला), नम्रता सिंह (लोक कला), रुवी कर्ण (लोक कला) सुशिला सिंह (प्रतिस्थापन कला), इरिक नकर्मी (छविकला), सुजन श्रेष्ठ (छविकला) र सौरभ कोइराला (कार्टुन कला) लाई २५ हजार रुपियाँ राशिको विशेष पुरस्कार प्रदान गरिने भएको छ । यसैगरी, कलाकार शक्तिराज राई (प्रदेश १), गीतकुमारी ठाकुर (प्रदेश २), मानबहादुर बल (बागमती), विश्वराज पराजुली (गण्डकी), विश्व थापा (लुम्बिनी), गुर्मे तेन्जिङ लामा (कर्णाली) र जीतबहादुर आउजी (सुदूरपश्चिम) लाई ‘ललितकला प्रादेशिक पुरस्कार–२०७८’ प्रदान गरिने भएको छ ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति कर्माचार्यले कोरोना भाइरसको जोखिम कामयै रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालनागरी चित्रकला प्रदर्शनी गरिने बताउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीबाट वैशाख २ गते प्रदर्शनी उद्घाटन हुने कुलपति कर्माचार्यले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा उपकुलपति गोपाल चित्रकार, सदस्यसचिव विपिन घिमिरे, प्राज्ञ रमेश खनाल, सुष्मा राजभण्डारी, लालकाजी लामा, बुद्धि गुरुङ, मिथिलादेवी यादवको सहभागिता रहेको थियो ।

२३,चैत्र.२०७७,सोमबार २०:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: