
भक्तपुर । भक्तपुर मनोहरास्थित सुकुम्बासी बस्तीमा बस्ने एक युवकको खुकुरी प्रहार गरी हत्या गरिएको छ।
भक्तपुर सूर्यविनायक-८ सिपाडोलस्थित गाई फार्ममा बोलाएर सोलुखुम्बु घर भई सुकुम्बासी बस्तीमा बस्दै आएका २० वर्षीय ईश्वर राईको बिहीबार हत्या गरिएको हो।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार राईलाई गाई फार्मको टहराभित्र बोलाएर हत्या गरिएको बुझिएको छ। राईलाई २० वर्षीय आशिष खुलालले खुकुरी प्रहार गरेका थिए। घाँटीमा खुकुरी प्रहार गरिएका राईको घटनास्थलमै मृत्यु भएको थियो।
राईले र खुलालबीच बिहान ९ बजे मोबाइल सम्पर्क भएको थियो। राईलाई खुलालले सूर्यविनायक-८ सिपाडोलको गाई फार्ममा बोलाएका थिए। खुलालका बुवा त्यहाँ गाई फार्म गरेर बस्थे। राई त्यहाँ पुग्दा खुलालसँगै युनिश योञ्जन र सुनिल बल पनि थिए।
राई पुग्नासाथ वादविवाद सुरू भएको थियो। परिसरका अनुसार वादविवाद हुँदा टहरामा चुकुल लगाएर खुलालले खुकुरी प्रहार गरेका थिए। खुलालले राईलाई खुकुरी हान्न थालेपछि योञ्जन र बल झ्यालबाट हाम्फालेर भागेको प्रहरीको दाबी छ।
राईको हत्यापछि खुलाल झ्यालबाट निस्किएर भागेका थिए। खुलाललाई प्रहरीले घटनास्थल नजिकबाटै पक्राउ गरिसकेको छ। उनीहरूबीच के कस्तो विवाद थियो भन्ने खुलिनसकेको परिसर प्रवक्ता दीपक गिरीले बताए।
‘उनीहरूबीच के कसरी सम्पर्क स्थापित भयो भन्ने कुरा खुल्न बाँकी छ,’ गिरीले भने, ‘के कस्तो विवाद भएको भन्नेबारे पक्राउ परेका व्यक्तिले केही भनेका छैनन्।’
घटना भएपछि अपराह्न ४ बजे भक्तपुर परिसरको टोली घटनास्थल पुगेको थियो। घटनास्थल पुग्दा टहराको ढोका बन्द थियो। ‘ढोकाको चुकुल फोडेर हेर्दा युवकको शव फेला परेको थियो, रगत लतपतिएको खुकुरी पनि त्यहीँ थियो,’ गिरीले भने।
लाशजाँच मुचुल्का उठाएर प्रहरीले मृतकको शव पोष्टमार्टमका लागि पठाएको छ। घटनाबारे अनुसन्धान जारी रहेको गिरीले बताए। उनका अनुसार राई कहिलेदेखि सुकुम्बासी बस्तीमा बस्थे भन्ने यकिन भइसकेको छैन। प्रहरीले मृतकका आफन्तलाई खबर गरेर बोलाएको छ।
प्रतिक्रिया दिनुहोस्