के हो, फेरी भियतनाममा कोरोनाभाइरसको नयाँ ‘हाइब्रिड’ भेटिएको खबर, खतराको अर्को घण्टी ?

एजेन्सी । भियतनाममा कोरोनाभाइरसको नयाँ ‘हाइब्रिड’ प्रकार भेटिएको खबर छ ! भियतनाममैं यसअघि भेटिएका सात वटा प्रकारभन्दा यो शक्तिशाली र छिटो फैलिने प्रकृतिको रहेको समाचारमा उल्लेख छ ।

भियतनाममा पहिलोपल्ट भेटिएको यो प्रकार इण्डियन भेरिएन्टको नयाँ म्युटेशन भएको र यसमा युके भेरिएन्टका चरित्र देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो नयाँ ‘भेरिएन्ट’ यसअघिका अन्य भेरिएन्ट भन्दा धेरै आक्रामक रहेको उसको दाबी छ । यो भेरिएन्टको जेनोम डेटा छिटै सार्वजनिक गर्ने तैयारी रहेकाले यस बारे थप तथ्य बाहिर आउने नै छ ।

पहिलो लहर ताका देखिएको भाइरसको प्रकारभन्दा युके भेरिएन्ट (B.1.1.7) र इण्डियन भेरिएन्ट (B.1.617.2) धेरै शक्तिशाली रहेको यसअघि नै प्रमाणित भइसकेको छ । अब धेरै प्रकारमध्ये सबैभन्दा खतरनाक मानिने यी दुईको हाइब्रिड प्रकार साँच्चिकै जन्मिएको हो भने, विश्व यो समस्याबाट छिटै बाहिर नआउने देखिन्छ ।

हाल उपलब्ध भ्याक्सिनहरूको पछिल्ला भेरिएन्टहरूमा प्रभावकारितामाथि प्रश्नहरू कायम रहेको बेला थप शक्तिशाली नयाँ भेरिएन्ट भेटिएको खबरले धेरैलाई चिन्तित बनाएको छ । भ्याक्सिन लगाएका व्यक्तिहरूमा भाइरसको सङ्क्रमण भए नै पनि मृत्यु दर उल्लेख्य रूपमा कम हुनेचाहिँ धेरै तथ्याङ्कले पुष्टि गरेकोले अहिलेका लागि छिटोभन्दा छिटो भ्याक्सिन लिनु नै उत्तम विकल्प देखिन्छ । @ नरायण

१६,जेष्ठ.२०७८,आईतवार ०६:५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्