एसईई वैकल्पिक विधिबाट गराउन परीक्षा बोर्डले माग्यो शिक्षा मन्त्रालयसँ अनुमति

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले नयाँ भेरियन्टसहितको कोरोना महामारीले आइपरेको संकटका कारण रोकिएको एसईई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने व्यवस्थाका लागि शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ ।

कोभिडको महामारी लम्बिँदै गएकाले एसईई परीक्षा वैकल्पिक विधिबाट लिन आवश्यक व्यवस्था मिलाउनका लागि यस्तो आग्रह गरिएको बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणी पौडेलले नेपाल प्रेसलाई जानकारी दिए ।

यस वर्षको एसईई परीक्षा जेठ १३ गतेदेखि हुने कार्यतालिका थियो । कोरोना महामारीले गर्दा सबै परीक्षा स्थगित भएपछि एसइई परीक्षा पनि स्थगित भएको थियो ।

जेठ १३ गतेबाट सञ्चालन हुने एसईईका लागि प्रश्नपत्र छपाइको काम यसअघि नै सकिसकेको थियो । ५ लाख १७ हजार विद्यार्थी एसईई परिक्षा दिने तयारीमा छन् । भौतिक उपस्थितिमा देशभरका २ हजार १९ केन्द्रमा परीक्षा सञ्चालन हुन नसक्ने बोर्डले यसअघि निष्कर्ष निकालेपछि रोकिएको थियो ।

१६,जेष्ठ.२०७८,आईतवार १७:२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्