
काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको ४४ वर्षको उमेरमा मंगलबार निधन निधन भएको थियो ।
अल्पायुमै भएको उनको निधनमा राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न पार्टीका नेताहरू र सर्वसाधारणले दु:ख व्यक्त गरेका छन्।
थापाले सु-संस्कृत राजनीतिमा गरेका योगदानबारे सामाजिक सञ्जालहरूमा चर्चासमेत भइरहेका छन्।
नेताहरूले विज्ञप्ति र सर्वसाधारणले फेसबुक, ट्वीटरलगायतबाट थापालाई श्रद्धाञ्जली र परिवारजनमा समवेदना दिइरहेका छन्।
कोरोना र निमोनियाबाट पीडित रहेका थापामा सोमबार गरिएको परीक्षणमा भने कोरोना देखिएको थिएन। उनी कोरोनामुक्त भए पनि स्वास्थ्य अवस्था सुध्रन सकेको थिएन।
उनको काठमाडौंका ह्याम्स, ग्राण्डी र मेडिसिटी अस्पतालमा उपचार गरिएको थियो। उपचारकै क्रममा मेडिसिटी अस्पतालमा मंगलबार थापाको निधन भएको थियो।
पशुपति आर्यघाटमा मंगलबार साँझ थापाको अन्त्येष्टी भइसकेको छ।
थापाको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारीले दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली दिएकी छन् भने परिवारजनमा समवेदना भनेकी छन्।
राष्ट्रपति भण्डारीले गरेको ट्वीटमा युवा राजनीतिकर्मी थापाको निधनमा दु:ख व्यक्त गरिएको उल्लेख छ।
युवा राजनीतिकर्मी‚ विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको निधनको खबरले मलाई दु:खी बनाएको छ । दिवंगत थापाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु।
— Bidya Devi Bhandari (@PresidentofNP) June 1, 2021
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले थापाको निधनमा दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् भने परिवारजनमा समवेदना भनेका छन्। साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थापाको निधनले नेपाली राजनीतिमा ठूलो क्षति पुगेको बताएका छन्।
विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको निधनको खवरबाट स्तब्ध भएको छु। दिवंगत थापाप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
— K P Sharma Oli (@kpsharmaoli) June 1, 2021
थापाको निधनमा दु:ख व्यक्त गर्दै देउवाले उदीयमान युवा नेताका रूपमा थापाले आफूलाई स्थापित गर्न सफल भएको र उनको निधनले राजनीतिमा ठूलो क्षति पुगेको विज्ञप्तिमार्फत् उल्लेख गरेका छन्।
थापाप्रति श्रद्धाञ्जली दिँदै देउवाले परिवारजनमा समवेदना भनेका छन्।
प्रतिक्रिया दिनुहोस्