एमाले स्थायी कमिटी बैठक बस्दै, एकता जोगाउन जारी प्रयास

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक आज पनि बस्दैछ । अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा पार्टी एकताको लागि अहिलेसम्म भएका पहलको बारेमा छलफल हुने बताइएको छ ।

माधव नेपाल र भीम रावल लगायतका केही नेताबाहेक दोस्रो पुस्ताका माधव पक्षीय नेताहरुसँगको निरन्तर संवाद चलिरहेको सन्दर्भमा एमालेको स्थायी कमिटी बैठकले एकताको पक्षमा थप केही लचिलो निर्णय गर्न सक्ने अनुमान समेत नेताहरुको छ ।

मंगलवारको स्थायी कमिटी बैठकले पार्टीलाई एकताबद्ध राख्न हदैसम्म लचिलो बन्ने र अर्को पक्षले अनुशासनहीन गतिबिधि जारी राखे पनि एकता जोगाउन सकेसम्म पहल गर्ने निर्णय लिएको थियो ।

एकताकै लागि वातावरण बनाउन शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ सांसदमाथिको कारवाही समेत रोकिएको छ ।

१९,जेष्ठ.२०७८,बुधबार १०:३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्