
काठमाडौं । सेभ नेपाल फ्रम (कोभिड१९) ग्लोबल एलायन्सले नेपाललाई १०० वटा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ । अभियानले प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई १०० वटा कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो ।
प्रहरीले आवश्यक दुर्गम स्थलहरुमा ढुवानी गर्न समन्वय गरिदिने जिम्मेवारी लिएको छ । कन्सन्ट्रेटर हस्तान्तरण गर्दै एलाइन्सका अभियन्ताहरुले अत्यावश्यक स्थानमा सही समयमा पुगोस् भनेर नेपाल प्रहीलाई सहयोग समन्वयको जिम्मा दिइएको बताए ।
दिनहुँ संक्रमित भएका नेपालीहरुको पीडामा मल्हम लगाउनको लागि यो एलाइन्सको गठन गरिएको र सहयोग संकलन गरी उपलब्ध गराइरहेको एलाइन्सकी अन्तर्राष्ट्रिय संयोजक प्रगती घिमिरेले बताइन् ।
हामीले देशविदेशबाट आ आफ्नो तर्फ़बाट लागि परेका छौँ। देशलाई सहयोग गर्नुपर्ने यो भन्दा कठिन घडी सायदै आउला। यसै सन्दर्भमा नेपाल, अमेरिका, न्युजिल्यान्ड , अस्ट्रेलिया, फ्रान्स बेलायत लगायतका देशहरुमा भएका संघसंस्था एलाएन्समा आबद्ध भएका छौं”( इन्स्टिट्युट फर नेपालकि सह(संस्थापक समेत रहेकी घिमिरेले भनिन् ।
एलाएन्सका तर्फबाट अर्का नेतृत्वकर्ता नेपाल संयोजक हाम्रो सानो प्रयास नेपालका राष्ट्रिय संयोजक ईन्स्टिच्युट फर नेपालका सहसंस्थापक पुकार बमले यो अभियानको उद्देश्य संसारभरीका सहयोगी नेपालीहरुको साधन श्रोत प्रयोग गरेर छिटो भन्दा छिटो नेपालका आवश्यक स्थानमा राहत पुर्याउनु रहेको बताए ।
यस अभियानमा पूर्व क्रिकेट कप्तान पारस खड्का, बिमान चालक विजय लामा, अभिनेत्री मनिषा कोइराला, फिल्मकर्मी निस्चल बस्नेत, पुर्व मिस नेपालहरुको समुह प्रिती सिटौला राजबंशी, शृंखला खतिवडा, मलिना जोशी र हाल २०२० मिस नेपाल नम्रता श्रेष्ठ लगायत छन् ।
अभियानले गो फण्डकी लगायतका क्राउड फण्डिङ सञ्जालहरुबाट स्रोत संकलन गरेको थियो । गैर आवाशीय नेपालीहरुमार्फत विभिन्न देशमा नेपाललाई खोप दिन दवाव अभियान भइरहेको अभियन्ताहरुको भनाइ छ ।
एलायन्सले आगामी दिनमा समेत नेपालभरी राहत, उद्धार र जनचेतनाको कामलाई निरन्तरता दिने छ ।
प्रतिक्रिया दिनुहोस्