बिमस्टेक दिवसमा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीको सन्देश, महामारीविरुद्ध एकजुट हुन आह्वान

काठमाडौं । बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९बिमस्टेक०ले आइतबार २४ औं स्थापना दिवस मनाउँदै छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि बिमस्टेकका अन्य सदस्य मुलुकका सरकार प्रमुखले शुभकामना सन्देशहरु व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले (कोभिड–१९) महामारीविरुद्ध सबै सदस्य मुलुक एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् ।

खोप नै अहिलेको महामारी समाधानको प्रमुख प्राथमिकता रहेको बताउँदै प्रधानमन्त्री ओलीले समयमै खोप लगाउन र सुनिश्चित गर्नका लागि बिमस्टेक क्षेत्रले थप प्रयत्न गर्नु जरुरी रहेको बताएका छन् ।

महामारीले लाखौं विद्यार्थीको भविष्य जोखिममा परेको बताउँदै प्रधानमन्त्रीले ओलीले नेपालले विद्यार्थीको भविष्यलाई लिएर कुनै सम्झौता नगर्ने समेत बताएका छन् ।

स्वास्थ्य प्रणालीको आदानप्रदान, व्यापार तथा प्रविधि, विज्ञान तथा अन्वेषणको साझेदारिताले मात्र अहिलेको समस्या समाधान हुने ओलीको जोड छ । विश्व जनसंख्यामध्ये २२ प्रतिशतको घर समेत रहेको बिमस्टेक क्षेत्र अथाह सम्भावनाको थलो भएकाले यसतर्फ मिलेर अघि बढ्न पनि प्रधानमन्त्रीले आग्रह गरेका छन् ।

अगस्ट २०१८ मा काठमाडौंमा जारी गरिएको बिमस्टेक घोषणापत्रले आत्मसात गरेको शान्ति, समृद्ध र दिगो बिमस्टेक क्षेत्रलाई लिएर नेपाल प्रतिबद्ध रहेको समेत प्रधानमन्त्रीले बताएका छन् ।

प्रधानमन्त्री ओलीले आगामी बिमस्टेक सम्मेलन संस्थागत सृद्धढीकरण, सदस्य राष्ट्रबीच बहुपक्षीय साझेदारितामा केन्द्रित हुने विश्वास पनि ओलीले लिएका छन् ।
यसैबीच, भारतीय प्रधानमन्त्री मोदीले पनि बिमस्टेक दिवसको अवसरमा सन्देश जारी गर्दै महामारीविरुद्ध एकजुट हुने बेला आएको बताएका छन् । एकजुट भएर नै महामारलाई जित्न सकिने मोदीको भनाई छ ।

बिमस्टेक अध्यक्षको हैसियतमा श्रीलंकाले नेतृत्वदायी भूमिका खेल्न सक्नेमा मोदीले आशा समेत व्यक्त गरेका छन् । भारतीय विदेशमन्त्री एस जयशंकरले बंगालको खाडीको साझेदारितामा जोड दिएका छन् । दक्षिण र दक्षिण पूर्वी एसियाबीच बिमस्टेक पुल बन्ने सक्ने उनले बताएका छन् ।

बिमस्टेक अध्यक्ष श्रीलंकाले पनि विज्ञप्ती जारी गर्दै कोभिड महामारी सामान्य रहे यसैवर्षको अन्त्यमा पाँचौ सम्मेलन गर्न सकिने जनाएको छ ।

२३,जेष्ठ.२०७८,आईतवार १३:३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्