काठमाडौं । नेकपा एमालेका दुबै पक्षका दोस्रो तहका नेताहरूबीच फेरि छलफल सुरू भएको छ। प्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी शर्मा ओलीले राखेको प्रस्ताव र त्यसबारे वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले जवाफ दिएको भोलिपल्ट दुबै पक्षबीच छलफल भएको हो।
ललितपुरस्थित एक होटलमा भएको दुई पक्षको बैठकमा विवादको समाधान कसरी गर्ने भन्नेबारे छलफल भएको थियो। प्रधानमन्त्री ओलीले आइतबार खनाल-नेपाल पक्षलाई ६ बुँदे प्रस्ताव राखेका थिए। प्रस्तावमा उनले पार्टीलाई २०७५ जेठ ३ को अवस्थामा फर्काउन तयार रहेको उल्लेख गरेका थिए। त्योसँगै ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा भएको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखेका थिए। सोमबार खनाल-नेपाल पक्षले ओलीको प्रस्ताव एकताका लागि भन्दा पनि अलमल्याउने गरी आएको निष्कर्ष निकालेको थियो।
मंगलबारको बैठकमा दुबै पक्षका वक्तव्यका बारेमा छलफल भएको खनाल-नेपाल पक्षीय नेता घनश्याम भुसालले बताए। उनले छलफल भएको र छलफल जारी रहने भन्दै सम्बन्ध पुनःआरम्भ भएको बताए।
प्रधानमन्त्री ओली निकट नेता सुवास नेम्वाङले पार्टी एकताको पक्षमा आफूहरू निरन्तर छलफलमा रहेको र छलफल जारी रहने बताए।
मंगलबारको छलफलमा ओलीका तर्फबाट नेम्वाङका साथै अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र पार्टी प्रवक्ता प्रदीप ज्ञवाली सहभागी थिए।
खनाल-नेपाल पक्षका तर्फबाट भुसालका साथै नेताहरू गोकर्ण बिष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे सहभागी थिए।
पार्टीलाई कसरी एकतावद्ध गर्न सकिन्छ भन्ने सन्दर्भमा हार्दिकतापूर्वक कुराकानी भएको खनाल-नेपालनिकट नेता बिष्टले बताए।
उनले कुनै पनि हिसाबले पार्टीलाई जोगाएर एकतावद्ध गर्नु पर्नेमा सबै प्रतिवद्ध रहेको बताए। उनले छलफललाई निरन्तरता दिएर परिणाममा पुर्याउनु पर्ने बताए।
प्रतिक्रिया दिनुहोस्