स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जतिसक्दो चाँडो फिल्मकर्मीलाई खोप लगाउने प्रतिबद्धता

काठमाडौं । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले फिल्मकर्मीलाई जतिसक्दो चाँडो (कोभिड १९) विरुद्धको खोप लगाउने प्रतिबद्धता जनाएका छन् ।

बुधबार विहान निवासमा चलचित्र विकास बोर्डका पदाधिकारीको मागपत्र बुझ्दै मन्त्री तामाङले केही सातामै फिल्मकर्मीको लागि खोपको व्यवस्था गर्ने वचन दिएका हुन् ।

बोर्ड अध्यक्ष दयाराम दाहाल र सदस्य राज कट्वाल ३ हजार जना फिल्मकर्मीलाई कोभिड खोप लगाउनुपर्ने माग गर्दै पत्र बुझाउन मन्त्री निवास पुगेका थिए ।

कम्तीमा तीनहजार जना फिल्मकर्मीलाई खोप लगाउन सकिए फिल्म गतिविधि सुचारु गर्न सकिने बोर्डको भनाई छ । जवाफमा मन्त्री तामाङले देश विकासमा कलाकर्मीको योगदानको प्रशंसा गर्दै खोपका लागि प्रतिबद्धता व्यक्त गरेका हुन् ।

चिनियाँ खोप भेरोसेलबाटै फिल्मकर्मीलाई खोप लगाउन सकिने संकेत मन्त्रीले उक्त अवसरमा गरेको सदस्य कट्वालले जानकारी दिए ।

२६,जेष्ठ.२०७८,बुधबार १२:४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्