राजकिशोरको इन्ट्रीपछि सरकारमा जसपा झन् बलियो, ठाकुर पक्षका २० सांसदमध्ये ११ मन्त्री !

काठमाडौं । केपी ओली नेतृत्वको चुनावी सरकारमा जनता समाजवादी पार्टीको महन्त ठाकुर समूहले गतिलो हिस्सा पाएको छ । आज हुन लागेको मन्त्रिपरिषद विस्तारमा प्रधानमन्त्री ओलीले जसपाबाट अझै एक मन्त्री थप्ने भएका छन् ।

यसअघि राजेन्द्र महतोको नेतृत्वमा जसपाबाट ८ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरिएका थिए । अध्यक्ष ठाकुरबाहेक उक्त गुटका सबै मुख्य नेताहरू मन्त्री बन्दा राजकिशोर यादव भने छुटेका थिए । मन्त्री बन्न नपाएर यादव पार्टीमा असन्तुष्ट बनेको चर्चा थियो । आज प्रधानमन्त्रीले उनलाई उद्योगमन्त्रीको सपथ खुवाउने भएका छन् ।

यादवको इन्ट्रीपछि सरकारमा जसपाको प्रभूत्व झन् बलियो हुने छ । सो पार्टीका ३४ सांसदमध्ये २० जना ठाकुर पक्षमा लागेकोमा ११ जनालाई प्रधानमन्त्री ओलीले मन्त्री बनाएका छन् । आफ्नो पक्षका सांसद संख्याको आधाभन्दा बढी हिस्सा सरकारमा पठाउने सफलता महन्थ ठाकुरलाई मिलेको छ ।

यसअघि २०७५ सालमा उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी नेपाल ओली नेतृत्वमा सरकारमा सहभागी भएको थियो । त्यसबेला ओलीले १७ सिट रहेको समाजवादी पार्टीबाट २ जनालाई मात्र मन्त्री बनाएका थिए । तर, अहिले जसपाको एउटा गुटले ९ मन्त्री र २ राज्यमन्त्री पाएको छ ।

तत्कालीन राष्ट्रिय जनता पार्टी राजपा को अध्यक्षमण्डलमा रहेका ६ जना मध्ये ४ जना ओली नेतृत्वको सरकारमा सहभागी भएका छन् । महन्थ ठाकुर सरकारमा गएनन् भने महेन्द्र यादव उपेन्द्र समूहमा लागेकाले मन्त्री हुन पाएनन् । राजेन्द्र महतो, अनिल झा, शरदसिंह भण्डारी वर्तमान मन्त्रीपरिषदमा समावेश भएकोमा अब राजकिशोर थपिँदैछन् ।

राजकिशोर यादव २०७४ सालको निर्वाचनमा सिरहाको क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित भएका हुन् । यसअघि डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ता भ्रष्टाचार आरोपमा जेल परेपछि उनले सञ्चार मन्त्रालयको नेतृत्व पाएका थिए । २०७० सालको चुनावमा भने उनी पराजित भएका थिए ।

आजका विस्तारपछि मन्त्रीपरिषदले पूर्णता पाउँदैछ । २५ सदस्यीय मन्त्रिपरिषदमा एमालेका १४ र जसपाका ११ जना रहनेछन् । जसपाले मन्त्रीपरिषदमा झण्डै एमालेको हाराहारीमा हिस्सा पाएको छ ।

२७,जेष्ठ.२०७८,बिहीबार १३:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्