गण्डकीका विपक्षी सांसदहरू भन्छन्, मुख्यमन्त्री गुरूङलाई विश्वासको मत दिन्नौं

काठमाडौ । काठमाडौ गण्डकी प्रदेशका विपक्षी गठबन्धनमा रहेका चार दलका नेताहरुले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई विश्वासको मत नदिने बताएका छन्।

मुख्यमन्त्री गुरुङले राखेको विश्वासको मतको प्रस्ताव माथि छलफल गर्दै विपक्षी दलका नेताहरुले उक्त कुरा बताएका हुन्।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रधानमन्त्री केपी ओलीले चालेको कदमलाई समर्थन गर्ने सरकारलाई विश्वासको मत दिन नहुने बताए।

‘संविधानभन्दा बाहिर गएर कदम चाल्ने प्रतिगामी सरकारको समर्थन गर्ने प्रदेश सरकारलाई विश्वासको मत दिनु हुँदैन’, उनले भने, ‘हाम्रो गठबन्धनले विश्वासको मत दिँदैन।’

प्रदेश सरकारले नीति तथा कार्यक्रम राम्रो कुरा ल्याउने गरे पनि कार्यान्वयन गर्न नसकेको नेपालीले आरोप लगाए। सर्वोच्च अदालतले नेकपाको एकता विघटन गरिदिएपछि प्रदेश सरकारले विश्वासको मत लिनुपर्नेमा त्यसो नगरेको उनले बताए।

‘हामीले पटक पटक विश्वासको मत लिन सुझाव दियौं, अविश्वास प्रस्ताव आउँछ भन्ने शंकाले मुख्यमन्त्रीले संसद नै अन्त्य गरिदिनुभयो’, उनले भने, ‘विशेष अधिवेसनमा अविश्वास प्रस्ताव ल्याउँदा सदन छलेर राजीनामा दिनुभयो।’

प्रदेश सरकारलाई आफूहरुले नै सदनको समना गर्न बाध्य पारेको उनले बताए।

माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले अन्य प्रदेशका तुलनामा गण्डकी प्रदेशले उपलब्धि हासिल गरेको बताए। प्रदेश सरकारका पूर्वमन्त्री रहेका चुमानले प्रधानमन्त्री ओलीकै कारण प्रदेश सरकारलाई समर्थन जनाउन नसकेको बताए।

गणतन्त्र संघीयता, धर्मनिरपेक्षता, समावेशी प्रतिनिधित्व लगायतका संविधानमा उल्लेख गरिएको उपलब्धी मास्न प्रधानमन्त्री ओली लागेको भन्दै चुमानले संविधानको रक्षा शब्द भट्याएर मात्र नहुने बताए।

‘कम्युनिष्ट पार्टीको प्रधानमन्त्रीबाट २ पटक प्रतिनिधि सभाको विघटन इतिहासमा लोकतान्त्रिक आन्दोलनको कालो धब्बा हो’, चुमानले भने, ‘आफूलाई कम्युनिष्ट र लोकतन्त्रवादी भन्नेहरुले यो कालो धब्बा पखाल्न सक्छौ ?

प्रधानमन्त्री ओलीले संविधान धमिलाएको भन्दै चुमानले त्यो धमिलो सबैले बेहोर्न परेको बताए। विपक्षी गठबनधन सडकबाट सदन हुँदै सरकारमा जान लागेको भन्दै उनले राजनीतिक मुद्धा जोगाउन गठबन्धन बनाएको बताए। बैकल्पिक सरकार बनाएर संसदको रक्षा गर्ने समेत चुमानको भनाइ छ।

यस्तै, राष्ट्रिय जनमोर्चा संसदीय दलका नेता पियारी थापाले सरकारलाई समर्थन दिँदा संविधान माथि नै आघात भएकाले विपक्षमा लाग्नुपरेको बताइन्। संविधानले दिएको उपलब्धी रक्षा गर्न सरकार असफल भएको भन्दै उनले भनिन्, ‘उपलब्धी खतम बनाउन षडयन्त्र भयो भनेर सदनमा उपस्थिति हुनुपर्ने अवस्था आएको छ, यो स्थिति ल्याउन जिम्मेवार तपाईहरु हो कि होइन?’

प्रधानमन्त्री ओलीले नागरिकता विधेयकमार्फत सत्ताका लागि राष्ट्रियताको सौदाबाजी गरेको थापाले आरोप लगाइन्। ओलीको कदमलाई पक्षपोषण गरेर यो सरकारले ओलीपथलाई पछ्याएको भन्दै उनले श्रमिक जनताका लागि प्रदेश सरकारले केही गर्न नसकेको दाबी गरिन्।

जनता समाजवादी पार्टीका नेता हरिशरण आचार्यले सत्तारुढ दलले संसदीय मुल्य मान्यतालाई तहस नहस बनाएर हुर्मत लिन खोजेको आरोप लगाए। संविधान जारी गर्ने बेला यो संविधान अपुरो छ भनेर जसपा अध्यक्ष बाबुराम भट्टराईले मात्रै भनेको भन्दै उनले अहिले नागरिकता विधेयक ल्याएर प्रधानमन्त्री ओली सत्ता टिकाउन खोजेको बताए।

मुख्यमन्त्री गुरुङले गरेका कामलाई सम्मान गर्ने भन्दै आचार्यले रातारात शिलान्यास गर्ने तर काम केही नहुने परिपाटी प्रदेशमा रहेको बताए। प्रदेश प्रमुखलाई चार दलीय गठबन्धनले मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीलाई प्रस्ताव गर्दा नक्कली र फर्जी नाटक रचेको उनले आरोप लगाए।

‘मुख्यमन्त्रीले विश्वास गुमाएको उहिल्यै हो’, उनले भने, ‘तर विरालो बाँधेर श्राद्ध गर्ने रणनीति बनाइराख्नु भएको छ, हामी विश्वासको मत दिन सक्दैनौं।’

सत्तारुढ एमाले संसदीय दलका मुख्य सचेतक मायानाथ अधिकारीले भने मुख्यमन्त्री गुरुङलाई विश्वासको मत दिन आग्रह गरे।

प्रधानमन्त्री ओलीले गरेको गल्तीको सजाय मुख्यमन्त्रीलाई दिन नहुने भन्दै उनले केन्द्रको राजनीति प्रदेशमा नगर्न आग्रह गरेका छन्।

मुख्यमन्त्री गुरुङ राखेको विश्वासको मत प्रस्ताव माथिको छलफल सकिएर प्रदेश सभा ३० मिनेटका लागि स्थगित भएको छ। केहीबेरमा सुरु हुने प्रदेश सभा बैठकमा मतदान गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

२७,जेष्ठ.२०७८,बिहीबार १५:५९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्