दोस्रोपटक बर्खास्त भएपछि कृष्ण थापा भन्छन्, गण्डकीका सभामुख र जनमोर्चा अध्यक्षको मिलेमतो

काठमाडौं । गण्डकी प्रदेशले दोस्रोपटक पदबाट बर्खास्त गरेपछि जनमोर्चा सांसद कृष्ण थापाले आक्रोश व्यक्त गरेका छन् । उनले आफूविरुद्ध गण्डकी प्रदेशका सभामुख र जनमोर्चाका अध्यक्षले षडयन्त्र रचेको दावी गरे ।

थापाले भने, ‘गण्डकीका सभामुख र जनमोर्चाका अध्यक्षले रातभर षडयन्त्र गरे । आज बसेको प्रदेश सभा वैठक पनि असंवैधानिक थियो ।’

प्रदेशसभामा एकजना पनि मन्त्री उपस्थित नभएकाले वैठक असंवैधानिक रहेको उनले बताए ।

‘जुन बैठक नै असंवैधानिक छ, त्यसमा मलाई कारवाही गरेको सूचना कसरी जारी गर्न मिल्छ ?’ थापाले प्रश्न गरे ।

एकजना पनि मन्त्री उपस्थित नभएको भन्दै एमालेले आपत्ति जनाएपछि आजको प्रदेशसभा वैठक स्थगित भएको थियो ।

तर, तपाईंले पार्टीको ह्वीप उल्लंघन गरेपछि कारवाहीको भागिदार हुनु स्वभाविक होइन र ? भन्ने नेपाल प्रेसको प्रश्नमा उनले जवाफ दिए, ‘कहाँ, कसले, कसरी बसेर ह्वीप जारी गरे मलाई थाहा छैन । फेरि मैले मतदानमा भाग लिएकै छैन कसरी ह्वीप उल्लंघन भयो ?’

दोस्रोपटक बर्खास्त भएपछि फेरि अदालत जानुहुन्छ कि भन्ने प्रश्नमा उनले भने, ‘मेरो मुद्दा पहिल्यै अदालतमा चलिरहेकै छ । पर्सी त्यसको पेसी छ । त्यसमा कस्तो कुरा आउँछ त्यो हेरेर अरु कदम पनि चाल्न सक्छु ।’

हिजो प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत मागेपछि भएको मतदानमा थापा तटस्थ बसेका थिए । सरकारको विपक्षमा भोट नदिएर पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै जनमोर्चा संसदीय दलले प्रदेशसभामा पठाएको पत्रका आधारमा उनलाई सांसदबाट पदमुक्त गरिएको छ ।

थापाले कांग्रेस नेतृत्वमा बन्ने भनिएको सरकारमा आफ्नो व्यक्तिगत समर्थन नरहने बताए । ‘मैले भोट हाल्न पाए पनि नपाए पनि यो सरकारलाई मेरो समर्थन छैन, उनले भने ।

२८,जेष्ठ.२०७८,शुक्रबार १६:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्