बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको छ। बिहीबार बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शुक्रबार र शनिबार भएको छलफलपछि शनिबार बहुमतले स्वीकृत गरेको हो। छलफलमा सत्तापक्ष र प्रतिपक्षका ४५ जना सांसदहरु सहभागी भएका भएका थिए।

शुक्रबार पाँच घण्टा नीति तथा कार्यक्रममाथि सत्तापक्ष र प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले आफ्नो धारणा राखेका थिए ।

छलफलमा सहभागि सांसदहरुले प्रदेश सरकारले तयार पारेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको विभिन्न बुँदामा संशोधनका लागि सुझावसमेत दिएका छन्। ९ जना प्रदेशसभा सदस्यले राखेको संसोधन प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए।

नीति तथा कार्यक्रमको पक्षमा सत्तारुढ नेकपा एमालेको केपी ओली र माधव नेपाल–झलनाथ खनाल पक्ष एक भएका थिए।

​प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रसहित प्रतिपक्ष दलले सरकारले पुरानै कार्यक्रमलाई निरन्तरता दिएको र कुनै ठोस कार्यक्रम ल्याउन नसकेको भन्दै प्रदेश सरकारले हावामा नीति तथा कार्यक्रम ल्याएको आरोप लगाएका थिए।

सांसदहरुले उठाएका प्रश्न र सुझावका बारेमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जवाफ दिएका थिए । उनले प्रदेश सरकारले प्रदेशका नागरिकहरुलाई केन्द्रमा राखेर कोरोना नियन्त्रण, उपचार र खोपको सुनिश्चितता हुने गरी सरकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको बताए ।

सांसदहरुले पेश गरेको नीति तथा कार्यक्रम माथिको संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत गरेपछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले नीति तथा कार्यक्रमलाई स्वीकृतिका लागी संसद्मा पेश गरेको थिए । सभामुख श्रेष्ठले स्वीकृतिका लागि प्रस्तुत गरेको सरकारको उक्त नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको हो।

२९,जेष्ठ.२०७८,शनिबार १५:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्