इजरायलमा एक युगको अन्त्य भयो नेतन्याहूको १२ वर्षे शासन

एजेन्सी । दुई वर्षमा चार पटक आमनिर्वाचन भएको इजरायलमा विपक्षी गठबन्धनका दलहरूले १२ वर्षदेखि प्रधानमन्त्री रहेका बेन्यामिन नेतन्याहूलाई सत्ताबाट हटाएका छन्।

आइतबार इजरायलको संसद कुनेसटमा भएको मतदानमा नेतन्याहू अल्पमतमा परेपछि उनी सत्ताबाट बाहिरिएका हुन्।

उनलाई हटाउँदै विपक्षी गठबन्धनका नाफ्ताली बेनेट नयाँ प्रधानमन्त्री बनेका छन्। संसदमा भएको मतदानमा बेनेटको पक्षमा ६० र नेतन्याहूको पक्षमा ५९ मत आएको थियो।

विपक्षीहरूबीच आफूलाई हटाउने सहमति भएलगत्तै सत्ता जोगाउन हरसम्भव प्रयास गरेका ७१ वर्षीय नेतन्याहूले आफू अरूले सोचेभन्दा छिटो सत्तामा फर्किने बताएका छन्। नेतन्याहू सत्ताबाट बाहिरिनुलाई कतिपय विश्लेषकले एक युगको अन्त्य भएको बताएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले नयाँ प्रधानमन्त्री बेनेटलाई बधाई दिँदै आफ्नो सरकार इजरायलको नयाँ सरकारसँग काम गर्न इच्छुक रहेको बताएका छन्।

विपक्षीहरूबीच भएको सहमतिअनुसार दुई वर्षपछि बेनेटले सत्ता छोड्नेछन् र याइर लापिड प्रधानमन्त्री बन्ने छन्।

उनीहरूको गठबन्धनमा अन्य साना तथा मझौला दलहरू पनि सहभागी छन्। पहिलो पटक इजरायलका अरब अल्पसंख्यको पार्टी युनाइटेड अरब लिस्ट पनि सरकारमा सहभागी हुनेछ।

मार्च २३ मा भएको पछिल्लो निर्वाचनको परिणामअनुसार १२० सदस्यीय इजरायलको संसद कुनेसटमा नेतन्याहुको लिकुड पार्टीको ३० सिट छ। उनले अरू तीन वटा धार्मिक र राष्ट्रवादी पार्टीहरूसँग गठबन्धन गरेका छन्। अहिले प्रधानमन्त्री बनेका ४९ वर्षीय बेनेटको पार्टीले उक्त चुनावमा ६ सिटमात्र जितेको थियो।

१२ वर्ष सत्तामा रहँदा प्रधानमन्त्री नेतन्याहूमाथि विभिन्न आरोप लागेका छन्। उनी यस्ता प्रधानमन्त्री हुन् जसको भ्रष्टाचार मुद्दामा अनुसन्धान पनि भइरहेको थियो र उनी प्रधानमन्त्रीको कुर्सीमा पनि कायम थिए।

पछिल्लो समय उनलाई बाह्य समस्या पनि थपिएका थियो। अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएपछि नेतन्याहूलाई प्यालेस्टाइन र इरानसँगको सम्बन्ध डोनाल्ड ट्रम्पको पालामा जसरी कायम राख्न असम्भव देखिएको थियो। ट्रम्पले नेतन्याहूलाई धेरै नै सहयोग गरेका थिए भने बाइडेनले त्यसो नगर्ने देखिएको थियो। केही दिनअघि इजरायलले गाजामा गरेको रकेट आक्रमणको विषयमा पनि अन्तर्राष्ट्रिय स्तरमा नेतन्याहूको आलोचना भइरहेको थियो।

विपक्षी गठबन्धनको सरकार बनेपछि नेतन्याहूका आलोचकहरूमा खुसीयाली छाएको छ।

३१,जेष्ठ.२०७८,सोमबार ०८:२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्