नवलपरासीमा निषेधाज्ञा खुकुलाे बनाएर एक साता लम्ब्याइयो

रूपन्देही । पश्चिम नवलपरासीमा असार ७ गतेसम्म निषोधाज्ञा थप भएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जेठ ३१ गते राती १२ बजेदेखि असार ७ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरिएको छ । तर कोरोना संक्रमण दर घटेसँगै निषेधाज्ञा केही खुकुलो बनाइएको छ ।

पछिल्लो निर्णयअनुसार अब हरियो तरकारी, फलफूल, खाद्यन्न, दुध, माछा,मासु, अण्डा, एग्रोभट, विउविजन, रासायनिक मल, खाना पकाउने ग्यास लगायतका दैनिक उपभोग्य सामान विक्री वितरण गर्ने पसल व्यवसायहरु मात्र विहान ५ देखि दिउँसो २ बजेसम्म खोल्न पाइने भएको छ । तर हाटबजार जस्ता भिडभाड हुने स्थानमा विक्री वितरण भने पाइने छैन ।

यस्तै बैंक तथा वित्तिय संस्था र राजश्वसँग सम्बन्धित संस्थाले भौतिक दुरी कायम गरी जनस्वास्थ्यका मापदण्ड पालना गर्दे निश्चित समयावधि तोकि सेवा सुचारु गरिने भएको छ । कार्यरत कर्मचारीको आधा कर्मचारीबाट दैनिक विहान १० देखि दिउँसो ३ बजेसम्म सेवा प्रवाह गर्न बैठकले निर्णय गरेको छ । यसअघि बैंक तथा वित्तीय संस्था एक दिन विराएर मात्र खुल्दै आएका थिए ।

जिल्लामा नयाँ भेरिएन्टसहितको कोरोना भाइरस संक्रमण तिव्रगतिमा फैलिन थालेपछि बैशाख २१ गतेदेखि निषेज्ञाधा जारी भएको हो ।

३१,जेष्ठ.२०७८,सोमबार ११:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्