लकडाउन खोल्नेवित्तिकै रेल संचालन गर्न मन्त्री नेम्वाङको निर्देशन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले लकडाउन खोल्नेवित्तिकै जनकपुर जयनगर रेल संचालन गर्ने तयारी थाल्न रेल विभागलाई निर्देशन दिएका छन् ।

पानीजहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरूसँग छलफल गर्ने क्रममा रेल विभागलाई लकडाउन खुल्नासाथ रेल संचालन गर्ने गरी सम्पूर्ण तयारी पूरा गर्न मन्त्रीले निर्देशन दिएका हुन् ।

नीतिगत, व्यवहारिक र प्राविधिक सम्पूर्ण कुराहरूको व्यवस्थापन भइसक्दा पनि रेल सञ्चालनमा ढिला भइरहेकोप्रति ध्यानाकर्षण गराउँदै उनले भने, ‘रेल संचालनका लागि अध्यादेश जारी गरिसकेका छौँ । यति हुँदाहुँदै पनि हामीले रेललाई समयमा संचालन गर्न सकेका छैनौँ ।

कोभिड महामारीले बाधा पुर्‍याएको छ । अध्यादेश ल्याउने, जीएम नियुक्ति गर्ने लगायत कानून व्यवस्थित गरिसकेका छौँ । रेल स्वयम् ल्याइसकेपछि, सुरक्षाका लागि सशस्त्र प्रहरी तैनाथ गरिसकेपछि अब नीतिगत, व्यवहारिक, प्राविधिक सबै कुराको व्यवस्थापन भइसकेको छ । यस्तो अवस्थामा लकडाउन खोल्नवित्तिकै हामीले त्यहाँ रेल चलाउनुपर्छ । त्यहाँका जनताहरुलाई रेलको सेवा प्रदान गर्नुपर्छ । १५ गतेभित्र रेल चलाउने तयारीमा लाग्नुस् ।

मन्त्री नेम्वाङले पानीजहाज सञ्चालनका लागि तयारी गर्न तथा नदीनालाहरूमा सम्भाव्यता अध्ययनको काम अघि बढाउन पानिजहाज कार्यालयलाई पनि निर्देशन दिएका छन् । ‘नदीनालामा साना वोटहरु हाम्रा नदीनालामा सञ्चालन गर्ने, सम्भाव्यता अध्ययन गर्ने र आगामी आर्थिक वर्षमा बजेटमा समावेश भएका कार्यक्रमलाई कार्यान्वयन गर्नेतर्फ तदरुकताका साथ ध्यान दिन अनुरोध गर्न चाहन्छु ’ मन्त्री नेम्वाङले भने ।

मन्त्री नेम्वाङले पानीजहाज संचालनको निम्ति रुट बनाउँदा खुवालुङको ढुंगाको संरक्षण गर्ने कुरा पनि प्रष्ट्याए । खुवालुङको सम्बन्धमा उठेका जनआवाजलाई ध्यान दिने उनको भनाइ छ । ‘खुवालुङको सम्बन्धमा उठेको जनआवाजलाई ध्यान दिएका छौँ । खुवालुङको संरक्षण गर्दै त्यसलाई नचलाइकन गर्दैछौँ । त्यसलाई ध्वस्त पारेर, नष्ट पारेर हामीले गर्न खोजेको होइन’, उनले बताए ।

यातायात व्यवस्था विभागले पनि हालसम्म कुनै प्रगति देखाउन नसकेको भन्दै स्मार्ट कार्ड प्रिन्ट, ठेक्का सम्झौता, भाडा समायोजन लगायतको विषयमा परिणाम देखिनेगरी काम गर्न पनि मन्त्रीले निर्देशन दिएका छन् ।

३१,जेष्ठ.२०७८,सोमबार १३:३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्