बीपी प्रतिष्ठानमा अनियमितता बारे अख्तियारको ध्यानाकर्षण गराउँदा डाक्टरलाई कारबाहीको धम्कीसहित पत्र

सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजका अध्यक्ष डा. विष्णु पोखरेललाई कारबाहीको भागीदार हुन तयार रहन चेतावनी दिइएको छ ।

डा. पोखरेलले व्यापक भ्रष्टाचार, बेथिति भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराएको आरोपमा प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले कारबाहीका लागि पत्र लेखेर चेतावनी दिएका हुन् । डा. पोखरेल प्रतिष्ठानका हाडजोर्नी विभागका एसोसिएट प्रोफेसर हुन् ।

साताअघि डा. पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईलाई उल्लेख गदै एक पोस्टर पोस्ट गरेका थिए । पोस्टमा लेखिएको छ, ‘बीपी स्वास्थ्य प्रतिष्ठानलाई ध्वस्त पार्ने, निजी मेडिकल कलेजलाई काखी च्याप्ने माफियालाई कारबाही गर्न अदुअआका प्रमुखलाई एसएमएस तथा फोन गरी दबाब दिऔं । बीपीकेआईएचएसमा भ्रष्टाचारले ज्यान लिने, अख्तियारले तामासा हेर्ने कहिलेसम्म ?’

प्रतिष्ठानले भने सोही विषयलाई लिएर जेठ ३० गते डा. पोखरेललाई पत्र लेख्दै प्रतिष्ठानको नियमावलीविपरीत कार्य गरेको जनाएको छ । पत्रमा भनिएको छ, ‘बीपी प्रतिष्ठान नियमावली २०५५ को नियमावली १०.२६ बमोजिम आचारसंहिता विपरीत कार्य गरेको किन नभन्ने ? तपाईंलाई प्रतिष्ठानको सोही नियमावलीको नियम १०.७ बमोजिम कारबाही किन नगर्ने ?’ पत्रमा उपकुलपति गिरीको हस्ताक्षर रहेको छ ।

डा. पोखरेलले भने, ‘मैले पत्र पाएको छैन । तर पत्र पाउनुभन्दा अगाडि नै उपकुलपतिले मलाई कारबाही किन नगर्ने भनेर लेखेको पत्र सामाजिक सञ्जालबाट सार्वजनिक भएको थाहा पाएँ । आधिकारिक रूपमा पत्र पाइसकेपछि मेरो कुरा मिडियामा राख्छु ।’ उनले बीपी प्रतिष्ठान बिरामीको उपचार गर्ने, चिकित्साशास्त्र अध्ययन गर्ने र रोगव्याधिसम्बन्धी वैज्ञानिक खोज अनुसन्धान गर्ने विशुद्ध प्राज्ञिक स्थल भएकाले यस्ता स्वास्थ्य शैक्षिक क्षेत्रमा भ्रष्टाचार हुनु हुँदैन भन्ने मान्यताको आधारमा अख्तियारको ध्यानाकर्षण गराएको बताए ।

यसैबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिष्ठानमा छापा मारेर लेखा शाखा, खरिद शाखा तथा मूल्यांकन शाखाबाट महत्त्वपूर्ण केही कागजपत्र नियन्त्रणमा लिएको छ । उक्त कागजपत्रबारे अख्तियारले सार्वजनिक गरेको छैन । प्रतिष्ठानमा बढ्दो भ्रष्टाचार र बेथिति अन्त्यका लागि गठन भएको धरान नागरिक दबाब सञ्जालले प्रतिष्ठानलाई एक साताको अल्टिमेटम दिएसँगै प्रतिष्ठानमा अख्तियारले छापा मारेको हो ।

आयोगको इटहरीस्थित कार्यालयबाट निमित्त कार्यवाहक प्रमुख पुरुषोत्तम ढकालको नेतृत्वमा आएका टोलीले प्रतिष्ठानका विभिन्न विभागका पदाधिकारीहरूसँग सोधपुछसमेत गरेको बताइएको छ । प्रतिष्ठानसँग सम्बन्धित धेरै वटा विषयमा छानबिन भइरहेकाले अनुसन्धानका क्रममा अख्तियारका पदाधिकारी प्रतिष्ठान गएको बताइएको छ । अख्तियारले प्रतिष्ठानमा छापा मार्दा उपकुलपति गिरी भने काठमाडौंमा छन् ।

३१,जेष्ठ.२०७८,सोमबार २०:४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्