भारतीय सेनामा नेपाली महिलाको आह्वान, आपत्तिजनक : डा. भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री डा.भीम रावलले भारतीय सेनामा नेपाली महिलाको आह्वान भएकोमा आपत्ति जनाएका छन् । यो आह्वान तत्कालीन व्रिटिश इन्डियासँग गोर्खा भर्तीका विषयमा नेपालले गरेको सम्झौताविपरीत भएको उनले बताए ।

नेपालस्थित भारतीय राजदूतावासको कल्याणकारी शाखाको नाममा हिजो एउटा सूचना जारी भएको थियो । नेपाली भाषामा जारी गरिएको सूचनामा महिलाहरूका लागि भारतीय सेनामा भर्ती आह्वान गरिएको छ । भर्तीका लागि सहभागी हुन पाउने स्थानमा नेपाल पनि उल्लेख छ । जबकि अहिलेसम्म नेपालबाट भारतीय सेनामा महिलालाई भर्ती गर्ने गरिएको थिएन ।

डा. रावलले भने, ‘गोर्खा भर्ती नै बन्द गर्नुपर्ने आवाज उठिरहेका बेला एकाएक महिलालाई पनि भर्ती गर्ने कुरा कहाँबाट आयो ? केपी ओली कहाँ हुनुहुन्छ ? उहाँको परराष्ट्र मन्त्रालय कहाँ छ ?के उहाँले सामन्त गोयलसँग बालुवाटारमा वार्ता गरेर सहमति गर्नुभएको हो ? राष्ट्रियताको यस्तो गम्भीर विषयमा सरकार मौन बस्न मिल्छ ?’

महिलालाई पनि भारतीय सेनामा लैजाँदा नेपाललाई के असर गर्छ ? भन्ने प्रश्नमा रावलले जवाफ दिए, ‘के असर पर्छ भन्दा पनि सम्झौतामा के लेखिएको छ, त्यो अनुसार चल्नुपर्‍यो नि । कुनै पनि सार्वभौम देशको कुरा त्यहाँ आउँछ । सम्झौतामा नेपाली महिलालाई भारतले आफ्नो सेनामा लिनसक्ने कुनै प्रावधान छैन ।’

गोरखा भर्ती नै नेपालको सार्वभौमिकताविरुद्ध भएकाले त्यसलाई खारेज नै गर्नुपर्ने रावलले बताए । सन्धी खारेज गर्न पहल गर्नुको साटो महिलाका लागि सूचना आह्वान गर्दासमेत सरकार मौन बस्नु खेदजनक रहेको उनको भनाइ छ ।

१,असार.२०७८,मंगलवार १२:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्