
काठमाडौं । कोरोना माहामारीको दोस्रो लहरका कारण बन्द भएको आन्तरिक उडान सञ्चालन गर्न वायु सेवा कम्पनीले ताकेता गररहेका छन् । लामो समयसम्म उडान बन्द हुँदा ठूलो क्षति व्यहोर्नुपरेको र कम्पनी नै धराशायी भएको भन्दै उनीहरुले उडान सञ्चालन गर्न सरकारसँग ताकेता गरेका हुन् ।
‘अहिले दैनिक एक करोड रुपैयाँ घाटा व्यहोरिरहेका छौं’ यति एयरलाइन्सका प्रवक्ता शुदर्शन बर्तौलाले भने, ‘अब यस्तो स्थिति अझै रहे कम्पनी नै चलाउनै मुस्किल पर्छ ।’ उडान नभए पनि प्रशासनिक र कर्मचारीलगायतका लागि हुने खर्च भइरहेको उनले बताए । ‘आम्दानी शून्य छ, बैंकको ऋण तिर्नैपर्यो, अब कसरी कम्पनी टिकाउने भन्ने चिन्ताले सताउन थालेको छ’ उनले बताए।
कम्पनी बन्द गर्नुपर्ने परिस्थिति आए धेरैको रोजगारी जाने भन्दै उनले अब तत्काल उडान सुरु नभए कर्मचारी कटौतीसँगै तलब कटौती गर्नुपर्ने बताए ।
त्यस्तै बुद्ध एयरको भनाइ पनि उस्तै छ । अहिले दैनिक दुई करोड रुपैयाँ घाटा व्यहोरिरहेको बताउँदै बुद्ध एयरका प्रवक्ता गणेश ढकालले भन्छन्– दसैंसम्म त जसोतसो कर्मचारीलाई तलब खुवाउन सकिएला, त्यसपछि गाह्रो छ । त्यसैले सरकारसँग हामीले जसरी भए पनि तत्काल आन्तरिक उडान सञ्चालन गर्न आग्रह गरेका छौं ।
वायुसेवा कम्पनी लिमिटेडले यसअघि नै असार १ आज देखि आन्तरिक उडान खुलाउनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्राललाई पत्र लेखिसकेको छ । सो पत्र पर्यटन मन्त्रालयले (कोभिड–१९) संकट व्यवस्थापन केन्द्र सीसीएमसीमा पठाएको छ । सीसीएमसीले सिफारिस अनुसार निर्णय हुने मन्त्रालयले जनाएको छ ।
नागरिक उड्डयन प्राधिकरणले पनि आन्तरिक उडान खुलाउनका लागि पहल गरिरहेको जनाएको छ । प्राधिकरणले कोरोनाको जोखिम कम भएका क्षेत्रमा आन्तरिक उडान सञ्चालन गर्न मन्त्रालयसँग छलफल भइरहेको जनाएको छ ।
अघिल्लो वर्ष पनि निषेधाज्ञासँगै ६ महिनासम्म आन्तरिक उडान बन्द भएको थियो । जसमा वायुसेवा कम्पनीले अर्बौ रुपैयाँ घाटा व्यहोरेको थियो ।
आन्तरिक वायु सेवा कम्पनीले सीसीएमसीले पालना गर्न भनेको सबै स्वास्थ्य मापदण्ड अपनाएर उडान भर्न तयार रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्