काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बुमा मंगलबार साँझ आएको बाढी र पहिरोले कम्तीमा चार जना बेपत्ता भएका छन् । हेलम्बु बजार क्षेत्रका ३ पुरुष र १ महिला गरी चार जना बेपत्ता भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।
यद्यपि स्थानीयले भने मंगलबार साँझ मेलम्ची (इन्द्रावती)मा आएको बाढीले प्रहरीले बताएको संख्याभन्दा धेरै हताहती भएको बताउने गरेका छन् ।
प्रहरीका अनुसार बाढी र पहिरो प्रभावित क्षेत्रमा यातायात सम्पर्क विच्छेद भएको छ । मेलम्ची–नवलपुर–चौतारा जोड्ने पुल समेत बगेको छ । ठाउँ–ठाउँमा झोलुङ्गे पुल पनि बगेका छन् । ‘बिभिन्न ठाउँका पुल र सडक बगेपछि अहिले यातायात सम्पर्क विच्छेद छ,’ डिएसपी सापकोटाले भने । खानेपानी र विद्युत सेवा अवरुद्ध भएको छ ।
स्वस्थ्य मन्त्री शेरबहादुर तामाङले जनतामा अपिल गर्दै फेसबुक वालामा लेखेका छन, ‘लम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले ५० औँ जना बेपत्ता भएको, मेलम्ची खानेपानी ड्याम समाप्त गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङ्री क्षतबिक्षत बनाएको छ । यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल सम्पूर्ण उडाएको छ । नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्याएको छ । यो प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहातमा जुटन हार्दिक अपिल गर्दछु । सरकारले आजै टेण्ट र खाध्यान्न जुन जुन बस्तीमा क्षति भएको छ त्यहाँ खसाल्छौं । स्थानीय जनतामा जसको घर बगाएको छ वहाँहरुलाई घर हुनेहरुले आश्रय दिनुहुन अपिल गर्दछु । अन्तरास्ट्रिय समुदायलाई यो बिपत्तिमा साथदिन अपिल गर्दछु । मलाई सम्पर्क गर्न 9851175310 मा गर्नुहोला । मेरो स्वकिय निर्मल बन्जारा 9851040821 हो स्थानीय प्रशासन र जनप्रतिनिधिहरुसंग प्रत्यक्ष सम्पर्कमा रहनुहोला । आजै निरिक्षण हुने जानकारी गराउँदछु । खोलाको बहकाव झनझन बढिरहेकाले सप्तकोसीसम्मका बासिन्दहरुलाई सचेत र सुरक्षित रहन अपिल गर्दछु ।’
तिम्बु, चनौटे र मेलम्ची बजारमा व्यापक क्षति पुगेको छ । दुईवटा पक्की पुल र ट्राउट माछा फार्म पनि बाढीले बगाएको छ ।
प्रहरीका अनुसार अहिले पनि लेदो र ठूला ढुंगासहितको पहिरो झर्ने क्रम जारी रहेकाले उद्धारमा कठिनाइ भइरहेको छ । उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन भएको डिएसपी सापकोटाले जानकारी दिए ।
मेलम्ची खानेपानीको मुहान अम्बाथानतिरबाट बाढी उर्लिएर आएको र नदी किनारका बस्तीमा क्षति पुर्याएको स्थानीयले बताएका छन् । मेलम्ची आयोजनामा कार्यरत चिनियाँहरुको क्याम्प र आयोजनाको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको क्याम्पमा पनि क्षति पुगेको स्थानीयको भनाइ छ । हेलम्बुको तिम्बु बजारका कतिपय घरहरु र किउलमा रहेको ट्राउट माछा फार्म बाढीले बगाएको छ ।
राति ठूलो बाढी र पहिरो झर्न थालेपछि किउल, ग्याल्थुम, तिपेनी, तालामाराङ, मेलम्चीलगायतका स्थानका बासिन्दा घर छाडेर सुरक्षित स्थानमा बसेका छन् ।
अनिश्चितकालसम्म सतर्कता अपनाउन आग्रह
यसैबीच जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोकको जलबिरेस्थित बलेफी खोला जलमापन केन्द्रमा अक्स्मात जलसतह बढेर खतराको तह पार गरेकाले तटीय क्षेत्रहरूमा अर्को सूचना जारी नभएसम्मका लागि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागका अनुसार रसुवाको स्याफ्रुबेसीस्थित भोटेकोशीको बाढीले पनि सतर्कताको तह पार गरेकाले बुधबार बिहानैसम्म सतर्कता अपनाउनुपर्ने छ ।
यस्तै नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा पनि बाढीले खतराको तह पार गरेकोले बुधबार मध्याह्नसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको झारखण्डमा रहेको न्यूनचापीय क्षेत्र र मनसुन न्यून चापीय रेखाको कारण नेपालमा मनसुन थप सक्रिय भएको छ ।
यसको प्रभावले नेपालका धेरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा भारी वर्षा र थोरै स्थान अति भारी वर्षा हुने सम्भावनासमेत रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गरी आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्