कोरोना संक्रमित बढे पनि व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग, स्वास्थ्य मापदण्ड अपनाएर

काठमाडौं । राष्ट्रिय व्यापार संघले विश्व स्वास्थ्य सङ्गठनले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग गरेको छ ।

संघको टोलीले बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई भेटेर (कोभिड१९) को बढ्दो संक्रमणसँगै निषेधाज्ञा लम्बिँदै जाँदा व्यापार व्यवसायमा समस्या परेको जनाउँदै स्वास्थ्य मापदण्ड अपनाएर व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग गरेको हो ।

संघका महासचिव वैकुण्ठ दाहालले विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना संक्रमणका कारण भएको निषेधाज्ञाले हजारौं व्यवसायी आफ्नो व्यापार व्यवसाय छाड्न बाध्य भएको भन्दै यस क्षेत्रमा भएको पलायन रोक्न निषेधाज्ञाको विकल्प खोज्नुपर्ने बताएका हुन् ।

‘निषेधाज्ञाका कारण व्यापार व्यवसाय सञ्चालन गर्न नपाउँदा घरभाडा, वित्तीय संस्थाको ऋण, ब्याज, कर, तलबलगायत कुराले व्यवसायी तनावमा परेका छन्, उक्त तनावलाई कम गर्न व्यापार व्यवसाय सञ्चालनको वातावरण निर्माण गर्नुपर्छ’ उनले भने ।

महासचिव दाहालले नागरिक रोगले भन्दा भोकले मर्न लागेको भन्दै काम गरेर जीवन निर्वाह गर्ने वातावरण निर्माण गर्न माग गरेका हुन् । संघले संक्रमितको संख्या क्रमशः कम हुँदै गएको भन्दै अब विस्तारै व्यापार व्यवसायलाई चलाउन दिनुपर्ने बताएको छ ।

४,असार.२०७८,शुक्रबार ११:५९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्