कोरोनाको खोप ल्याउन निजी क्षेत्र भयो तयार, प्रयाप्त नाफाको लागि सरकारसँग लविङ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ १४ गते कोरोनाविरुद्धको खोप लगाउने अभियान सुरु गर्दै भनेका थिए, ‘तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क कोरोनाविरुद्धको खोप लगाइन्छ ।’

तर, उनले भनेको ६ महिना बित्नै लाग्दा पनि धेरै नेपालीले खोप लगाउन पाएका छैनन् । निःशुल्क त के, पैसा तिरेर पनि खोप लगाउन नपाएपछि आमनागरिक पीडामा छन् । र, खोपको प्रतीक्षा गरिरहेका छन् ।

कोरोनाविरुद्ध खोपको अभाव भइरहेका बेला निजी क्षेत्रले अनुमति पाए सहजै खोप ल्याएर बिक्री गर्ने बताइरहेको छ । तर, सरकारबाट अनुमति नपाएका कारण खोप ल्याउन नपाएको निजी क्षेत्रको भनाइ छ ।

‘सरकारले प्रष्ट नीति बनाएर निजी क्षेत्रलाई अनुमति दिने हो भने सामान्य मेडिकलमा समेत खोप पाउने स्थिति बनाउन सकिन्छ’, कोरोनाको दोस्रो लहर सुरु भएपछि चीनबाट अक्सिजन सिलिण्डर र ब्याग ल्याएर बिक्री गरेका व्यवसायी शिवप्रसाद घिमिरे भन्छन्’, ‘सरकारले पहिले नै अनुमति दिएको भए ३ देखि ६ महिना अगाडि नै खोप ल्याइसकेका हुन्थ्यौं ।’

सरकारले कति प्रतिशत नाफा राखेर खोप बेच्न पाउने प्रष्ट पारिदिए आयातको बाटो खुल्ने उनको भनाइ छ ।

उत्पादक कम्पनीले पनि व्यापारका लागि नै खोप उत्पादन गरेको भएकाले खोप किन्नैपर्ने भन्दै उनले भने, ‘नाफा प्रतिशत प्रष्ट भए उत्पादक कम्पनी र हाम्रो व्यापार राम्रो हुन्थ्यो, सर्वसाधारणले पनि सहजै खोप पाउँथे ।’

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई सरकारले कोरोनाविरुद्धको खोप ल्याउन अनुमति दिने हो भने नेपालको आवश्यताअनुसार खोप ल्याउन कुनै समस्या नभएको बताए ।

‘देशमा अक्सिजनको चरम अभाव भएका बेला पनि निजी क्षेत्रले सरकारलाई सहयोग गरेकै हो’, उनले भने, ‘अहिले पनि अनुमति पाए खोप ल्याउन तयारै छौं ।’

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कम्लेश्वार अग्रवालले भारतमा जसरी नै नेपालमा पनि निजी क्षेत्रलाई खोप खरिद र बिक्रीका लागि खुला गरिदिनुपर्ने बताए । अग्रवालले भने, ‘भारतमा ७५ प्रतिशत खोप सरकारले भनेको मूल्यमा उपलब्ध गराउने र बाँकी २५ प्रतिशत उत्पादकले निजी क्षेत्रलाई बिक्री गर्ने व्यवस्था छ, अब नेपालमा पनि त्यसै गर्नुपर्छ ।’

निजी क्षेत्रले खोप ल्याउने हो भने आफ्ना उद्योग र व्यवसायमा काम गर्ने कर्मचारीलाई उद्योगी व्यवसायीले नै खोप लगाइदिने उनले बताए ।

सरकारले भने वैशाख २२ गतेदेखि नै विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त कोरोनाविरुद्धको खोप ल्याउन निजी क्षेत्रलाई अनुमति दिइसकेको बताएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले ढुवानी खर्च कटाएर १० प्रतिशत नाफामा खोप ल्याएर बिक्री गर्न कुनै समस्या नरहेको बताए ।

औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले पनि निजी क्षेत्रलाई खोप ल्याएर बिक्री गर्न कुनै कानुनी समस्या नभएको बताए ।

निजी क्षेत्रले चाहेको नाफामा कुरा नमिल्दा खोप आयात तथा बिक्री प्रभावित भएको हो ।

५,असार.२०७८,शनिबार ०९:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्