
जाजारकोट । मौसममा देखिएको परिवर्तनसँगै जाजरकोट लगायत तीन जिल्लाको सञ्चार सेवा अवरुद्ध भएको छ । विगत एक सातादेखि लगातारको वर्षाका कारण मछाइनास्थित रिपिटर टावरको सोलार चार्ज नहुँदा जिल्लाको फोन सञ्चार सेवा अवरुद्ध भएको हो ।
जिल्लाभरि दर्जन बढी नेपाल टेलिकमका टावर सञ्चालनमा छन् । तर सबै टावरले दिनभर काम गरेको छैन । जिल्लाको मुख्य रिपीटर टावरमै विद्युत् नहुँदा जिल्लाभरि सञ्चार सेवा अवरुद्ध भएको छ । जिल्लाको मछाइनास्थित रिपीटर टावर भएर नै जिल्लाको छ स्थानीय तह, रुकुम पश्चिम आठबीसकोट नगरपालिकाको रातामाटा र डोल्पाको कालिकास्थित टावरहरुमा सञ्चार हुने गर्छ । तर मुख्य टावर नै घामको भरमा सञ्चालन हुने भएपछि ती स्थानका सञ्चार अवरुद्ध भएको नेपाल टेलिकम जाजरकोटका प्रमुख गोपीन्द्र अधिकारीले बताए। टावर भएको ठाउँमा घाम लागेमा मात्र टावर सञ्चालनमा आउने उहाँले जानकारी दिए ।
“मछाइनास्थित टावरमा यस क्षेत्रको मुख्य रिपीटरटावर हो । टावर सोलार सिस्टममार्फत चल्दै आएको छ । तर विगत एक सातादेखि घाम लाग्न छाडेपछि सोलारले काम गरेको छैन्”, उनले भने । टावर सञ्चालनका लागि स्थलमार्गबाट जेनेरेटर लग्ने प्रयास गरेपनि भेरी नगरपालिकाको पाखेदहमा बाटो भत्किएका कारण समस्या भएको उनको भनाइ छ । भत्किएको सडक मर्मतका लागि सम्बन्धित निकायको ध्यान नजाँदा जाजरकोटलगायत तीन जिल्ला सञ्चारविहीन भएको बताइएको छ ।
घामको विकल्प केही नभएपछि सञ्चार सेवा अवरुद्ध रहेको छ । टेलिफोन लाइन अवरुद्ध भएपछि सरकारी कामकाजसमेत प्रभावित भएको बताइएको छ । इमेल, इन्टरनेट र फोन गर्न पाइएको छैन । जिल्लाको अवस्था के छ भनेर भन्न सकिने अवस्था नरहेको स्थानीयवासी बताउँछन् । अहिलेको समयमा सञ्चार सेवा नै घामको भरमा चलेपछि कसरी कामकाज हुन्छ स्थानीय व्यवसायीको भनाइ छ । ।
सडक डिभिजन चौरजहारीको डोजरलाई सडक मर्मत गर्न आग्रह गरेपनि डिभिजन प्रमुख धु्रव झाले त्यहाँको बाटो मर्मत गर्ने काम आफ्नो नभएको बताउनुभयो । मछाइनास्थित टावरमा विद्युतीकरण नपुग्दा आकाशमा बादल देखिने वित्तिकै सञ्चार सेवामा समस्या हुँदै आएको छ ।
कुशेका टावर सञ्चालनमा ढिलाइ
कुशे गाउँपालिकामा निर्माण भएका टावरहरु सञ्चालनमा आउन नसक्दा त्यहाँका बासिन्दा सञ्चार सेवाबाट वञ्चित हुँदै आएको छ । करिव ६ महिनादेखि यहाँका बासिन्दा फोन सेवाबाट वञ्चित रहेको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । टावर सञ्चालन नहुँदा यहाँका बासिन्दा अग्लो डाडामा गएर फोन सम्पर्क गर्न बाध्य भएका छन् ।
प्रतिक्रिया दिनुहोस्