
मार्तडी । बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–३ घोटकन्यामा कर्णाली करिडोर सडकको माथिबाट खसेको ढुङ्गा लागेर एक पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नेपाली सेनामा कार्यरत ३८ वर्षीय दिलबहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए ।
हिमाली गाउँपालिकाका ४ रुगिन घर भएका भण्डारीको टाउकोमा ढुंगा लागेपछि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते बालिकाको हेलिकप्टरमार्फत उद्धार
प्रतिकूल मौसमले भीरबाट लडेर घाइते भएकी बुढीनन्दा नगरपालिका १ की १६ वर्षीया ललिता गिरीको पाँच दिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
प्रतिकूल मौसमका कारण चार दिनदेखि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट किशोरीको थप उपचारका लागि काठमाडौं लग्ने तयारी भए पनि उद्धार हुन सकेको थिएन । बालिकाको आइतबार बिहान मनाङ एयरको हेलिकप्टरमार्फत काठमाडौं लगिएको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले बताए ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय सुदूरपश्चिम प्रदेशले किशोरीलाई उद्धारका लागि हेलिकप्टर पठाएको बताइएको छ । गाउँ नजिकै रहेको रुपासैनी भीरमा घाँस काटिरहेको बेला बुधबार साँझ लडेर ललिता गम्भीर घाइते भएकी हुन् । उनलाई तत्काल आफन्तले बोकेर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याएका थिए ।
प्रतिक्रिया दिनुहोस्