
काठमाडौ । काठमाडौ कोरोना संक्रमितको उपचारमा खटिएका टेकु अस्पतालका डाक्टर अनुप बाँस्तोलाले पछिल्लो समय अस्पतालमा संक्रमित चाप निकै कम भएको बताएका छन्।
संक्रमितको चाप घट्न थालेपछि अहिले स्वास्थ्यकर्मीहरूलाई समेत धेरै सहज भएको उनी बताउँछन्।
‘अहिले संक्रमितको चाप निकै कम छ। इमर्जेन्सीका बेडहरू लगभग खाली छ। बाहिर टहरामा बनाइएको बेड पनि हटाइसक्यौं। वार्डहरू पनि विस्तारै खालि हुँदैछ, बाँस्तोलाले भने।
अस्पतालको आइसियू इन्चार्ज समेत रहेको उनले गत वैशाखको अन्तिम साता र जेठको पहिलो तीन साता निकै कठिन परिस्थिति रहे पनि अहिले त्यो अवस्था नरहेको जनाए। त्यो बेला आइसियू, भेन्टिलेटर, वार्ड, इमर्जेन्सी सबै संक्रमितले भरिएको र बाहिरै राखेर पनि संक्रमितको उपचार गरिएको उनले बताए। अहिले भने आइसियू बेडहरू पनि विस्तारै खालि हुँदै गएको उनी बताउँछन्।
अहिले आइसियूमा भर्ना हुने संक्रमितहरू नयाँ भन्दा पनि बढी नीजि अस्पतालबाट रिफर मागेर आउनेहरू रहेको उनले बताए। ‘अहिले धेरै नीजि अस्पतालहरूमा पैसा सकिएर आउनेहरू हुनुहुन्छ। तर आइसियूका बेडहरू पनि विस्तारै खाली हुँदैछन्, उनले भने।
संक्रमणको दोस्रो लहर भयावहका बेला टेकु अस्पतालमा मात्र सय बढी संक्रमितको उपचार हुन्थ्यो, अहिले ६० जना हारहारीमा संक्रमितहरू उपचाररत छन्। अर्थात संक्रमितको चाप झन्डै आधा कम भएको छ। अहिले संक्रमित चाप घटेसँगै स्वास्थ्यकर्मीको धपेडी पनि कम भएको डा. बाँस्तोला बताउँछन्।
‘पहिले त रातिको बाह्र बजे आइसियूबाट निस्किँदा तीन सय मिसकल हुन्थ्यो। कल ब्याक पनि गर्न पाउँदिनथेँ। अहिले त राउण्ड तीन चार घण्टामै सकिहाल्छ। त्यसैले अलि सास फेर्न पाइएको छ, उनले बताए।
यद्यपि संक्रमण घटिरहँदा जोखिम भने हटिनसकेको भन्दै उनले अझै सतर्कता अपनाउनुपर्ने सुझाव दिन्छन्। अहिलेको स्थिति पहिलो लहर उत्कर्षमा पुगेर शिथिल हुँदाको अवस्थाजस्तै रहेको भन्दै उनले फेरि लापरवाही गरे उस्तै अवस्था भोग्नुपर्ने बताउँछन्।
बाँस्तोला भन्छन्, ‘पहिलो लहर मंसिरपछि घट्दै गयो। तर फागुनमा हामीले जुन लापरवाही गर्दा त्यसको परिणाम चैत वैशाखमा भोगियो त्यो स्थिति फेरि नाआउला भन्न सकिन्न। त्यसैले जनस्वास्थ्यको मापदण्ड कडाइका साथ लागू गर्नुपर्छ।’
साथै नेपालमा पूर्ण रुपमा सर्वसाधारणले खोप नलगाएको स्थिति हुँदा जोखिम रहिरहने उनको तर्क छ। जारी निषेधाज्ञालई खुकुलो बनाउँदा निकै व्यवस्थित ढंगले खुकुलो पार्नुपर्ने उनको सुझाव छ। अघिल्लो लहरमा पनि लकडाउन खुकुलो हुँदै जाँदा सर्वसाधारणमा हेलचेक्राइ भएपछि त्यसको परिणाम भोग्नुपरेको बताउँदै उनी यसपटक त्यो गल्ती गर्न नहुने सुझाव दिन्छन्।
‘पहिलो लहरपछि गत फागुनमा सर्वसाधारण जसरी बाहिर निस्केका थिए, यसपालि निस्केका छैनन्, त्यसले पनि संक्रमण दर न्यून गर्न मद्दत गरेको हो, डा. बाँस्तोला भन्छन्, ‘तर दोस्रो लहरमा ठ्याक्कै कति संक्रमित भए भन्ने तथ्यांक छैन। त्यो भएको भए आगामी रणनीति तय गर्न मद्दत पुग्थ्यो। त्यसैले निषेधाज्ञालाई खुलाउँदा जनस्वास्थ्यका मापदण्डलाई पनि कडाइका साथ लागू गर्नुपर्ने हुन्छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पनि नेपालमा संक्रमण दर घट्दै गएको छ। अघिल्लो महिनाको तुलनामा संक्रमण दर आधाभन्दा कम भएको छ। अघिल्लो महिना संक्रमण दर ४० प्रतिशतभन्दा बढी भएकोमा अहिले २० प्रतिशतमा झरेको छ। गएको २४ घण्टाको तथ्यांक हेर्दा पनि संक्रमण दर जम्मा २०.५२ प्रतिशत छ। जबकी दोस्रो लहर उत्कर्षमा पुगेको बेला संक्रमण दर ४८ प्रतिशतसम्म पुगेको थियो।
संक्रमण दर विस्तारै घट्दै गएका कारण सरकारले जारी निषेधाज्ञालाई पनि विस्तारै खुकुलो बनाउँदै लगको छ। यसअघि खाद्यान्न पसलहरूलाई बिहान ९ बजेसम्म मात्र खुल्न दिइएकोमा गत असार १ गतेदेखि भने बिहान ११ बजेसम्म खुल्न दिइएको छ। साथै अब थप गरिने निषेधाज्ञालाई अझ खुकुलो बनाउने सरकारको तयारी छ।
अब थप हुने निषेधाज्ञा कुन मोडालिटीको हुने भन्ने तय गर्न आज उपत्यकाका तीन जना सिडिओहरूबीच छलफल हुँदैछ। जसमा निजी सवारीसाधनलाई समेत चल्न दिने भनिएको छ। तर यसबारे निर्णय हुन बाँकी छ। यद्यपि पछिल्लो समय संक्रमण दर ओरालो लागेको भन्दै निषेधाज्ञालाई खुकुलो बनाउनुपर्नेमा सरकार र विज्ञहरू सहमत छन्।
प्रतिक्रिया दिनुहोस्